तपस्वीका तिकडम : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

रामबहादुर बम्जन | तपस्वी

तपस्वी भनिएका रामबहादुर बम्जनमाथि कालान्तरमा आफ्नै अनुयायीसँग यौन वासनापूर्ति गरेको आरोप लाग्यो । यस्ता अनैतिक हर्कत छोप्न अनुयायी सञ्चलाल वाइबा, सुरेश आलेमगर, रीता बोट, कर्मा तामाङ र फूलमाया रुम्बालाई बेपत्ता बनाएको आरोपसमेत छ उनीमाथि । नुवाकोट, सिन्धुली, बारा, सर्लाही, सिन्धुपाल्चोक, मकवानपुर र रौतहटका आश्रमबाट अनुयायी बेखबर बनेका उजुरी सरकारी निकायसम्म पुगेको छ । आरोपबारे प्रहरीले छानबिन गरिरहेको बताए पनि बम्जन कारबाहीको दायरामा तानिएका छैनन् ।

सिन्धुलीको बम्जन आश्रम र सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा प्रहरीले छापा मारे पनि अनुसन्धान अगाडि बढ्न नसक्नुमा उनको राजनीतिक सम्बन्धलाई कारण मानिएको छ । आफूलाई 'लिटिल बुद्ध' भन्न रुचाउने बम्जनको उदय नै विवादास्पद थियो । शंकास्पद गतिविधिमाथि राज्यले बेलैमा निगरानी नराख्दा तपस्वी बम्जनका अपराध फैलँदै गए ।

०६२ मा पाँच वर्ष निराहार तपस्या गर्ने भन्दै बाराको हलखोरिया जंगल छिरेका थिए । ०६९ मा स्लोभाकियाली नागरिक र एक नेपाली आनीलाई तीन महिना बन्धक बनाएर पैसा असुलेपछि मात्रै छाडिएको थियो । त्यसैको निरन्तरता हो, बेपत्ताविरुद्ध प्रहरीमा पुगेका उजुरी ।

प्रकाशित: चैत्र २८, २०७५