विवादास्पद गृहमन्त्री : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

रामबहादुर थापा 'बादल’ | मन्त्री

"मच्चियो, मच्चियो थच्चियो' यो लोकोक्ति गृहमन्त्री रामबहादुरका हकमा लागू भयो । ३३ किलो सुन प्रकरणमा छानबिन समिति बनाए पनि त्यत्तिकै अलपत्र पर्‍यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको, त्यसपछि लुटिएको भनिएको सुन कहाँ छ भन्ने भेउ पाउन सकेन, छानबिन समितिले । सिन्डिकेट अन्त्य गर्न निकै तम्से पनि त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेनन् ।

एनजीओ/आईएनजीओका खाता नियमित गर्ने, मदिरा नियन्त्रणको प्रचारसमेत गरे, गृहमन्त्री थापाले । तर उनका यी कुनै पनि कदम गन्तव्यमा पुग्न सकेनन् । बरु सबै निर्णयबाट पछि हटे । स्वकीय सचिव नियुक्त छोरा प्रतीकको विवादास्पद सम्बन्ध सार्वजनिक हुँदासमेत सुनेको नसुन्यै गरे । निर्मला पन्त बलात्कारपछिको हत्याबारे संसद्मा उभिएर होस् वा संसदीय समिति बैठकमा भन्न भ्याए, 'पुँजीवादले गर्दा बलात्कार बढेको हो ।' चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा गोविन्द केसीलाई थापाले अधिनायकवादीसमेत भन्न लजाएनन् ।

प्रकाशित: चैत्र २८, २०७५