सम्पदाका बैरी : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

विद्यासुन्दर शाक्य | मेयर

महानगर त अरु पनि छन्, तर स्रोत-साधनसम्पन्न र उच्च जनघनत्व रहेको काठमाडौँको साख मेयर विद्यासुन्दर शाक्यले जोगाउन सकेनन् । चुनावअगाडि घोषणा गरेका मेट्रोरेल, मोनोरेलजस्ता घना प्रोजेक्टमा उल्लेख्य प्रगति भएन नै, धूलो, बाटो, नालीजस्ता आधारभूत पाटो अझ अस्तव्यस्त भए । वर्षको अन्तिमतिर धूलो उठाउने 'ब्रुमर' ल्याइयो तर यसको निरन्तरता र प्रभावकारिताको परीक्षा हुनै बाँकी छ ।

सम्पदाप्रतिको असंवेदनशीलताले शाक्यलाई अलोकप्रिय बनाउन थप भूमिका खेल्यो । भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण गर्नुपर्ने चुनौतीलाई अवसरमा बदल्न सकेनन् । बरु महानगरपालिकाले जहाँ छोयो, त्यही विवाद निम्तियो । रानीपोखरी लफडाको केन्द्रमा भइहाल्यो । काष्ठमण्डप स्थानीय अमानतमा पुनर्निर्माण गर्ने पूर्ववत निर्णय बदर गरियो । बागदरबारको पुरातात्विक महत्त्वलाई कुल्चँदै भत्काउनैपर्ने एकोहोरो अडानमा शाक्य लागे । हनुमानढोका क्षेत्रभित्र महर्जन बिजनेस कम्प्लेक्सलाई मापदण्डविपरीत नक्सा पास गरिदियो । गहनापोखरीको प्राचीनता नामेट पारिसक्दा पनि मेयरले पत्तै पाएनन् ।

प्रकाशित: चैत्र २८, २०७५