केले बनायो कमजोर ?

- यज्ञश

‘फ्रेममा के देखिन्छ भन्ने मात्र फिल्म होइन, के देखिँदैन भन्ने पनि हो,' मार्टिन स्कोरसेजीको यो भनाइ जसरी पनि व्याख्या गर्न सकिन्छ । जसरी इतिहासका कुनै खास कुरा लेखिनु र बाँकी छाडिनुमा कथा वाचनको राजनीति लुकेको हुन्छ, त्यसरी नै फिल्ममा पनि भनिने र नभिनने कथाको आफ्नै 'कथा' हुन्छ ।

फिल्ममेकरले इतिहासका कुनै पात्रलाई टिपेर 'हिरो' बनाइदिन सक्छन्, कसैलाई अँध्यारोको गर्तमै विलीन हुन छाडिदिन सक्छन् । इतिहास मात्रै किन ? कुनै पनि समयको कथा फिल्ममा सबै आउँदैन, आउन सक्दैन । कुनलाई टिपेर रंगीन पर्दामा सजाउने भन्ने निर्णय कसले गर्छ ? कुनचाहिँ कथा वा विषयको फिल्म चल्छ, कुन चल्दैन भनेर फैसला सुनाउने न्यायाधिकारी को हो ? कुनै कथालाई कसरी भन्ने भनेर जुक्ति लगाउने जुक्तिबहादुर को हो ?

रावण र हिरण्यकश्यपु दुवैलाई राक्षसका रुपमा वर्णन गरिएको छ । दुवैको वध विष्णु अवतारले गर्छन् । तर यी दुवैको मृत्युको तरिका फरक छ, यिनलाई मार्न विष्णुले लिने अवतारको स्वरुप फरक छ । कथामा यो फरकपन ल्याउँछ कसले ?

अहिले पुराणतिर नलागौँ । फिल्मका लागि त्यो निर्णायक व्यक्ति निर्देशक हो । फिल्मको कथा के हो, के होइन भन्ने निर्णय गर्ने मुख्यतः निर्देशकले नै हो । चलनचल्तीको हिसाबमा पैसा लगाउनेले ल्याएको कथामै फिल्म बनाइनु अलग कुरा, होइन भने संसारका सबैजसो प्रभावशाली निर्देशक कि त आफैँ पटकथा लेख्छन् कि लेखनमा संलग्न हुने गरेका पाइन्छन् ।

राम्रो स्क्रिप्टले राम्रो फिल्मको ग्यारेन्टी भने गर्दैन । स्क्रिप्टबाट पर्दासम्म पुग्दा फिल्मले लामो यात्रा तय गर्छ । राम्ररी लेखिएको, संरचनामा बसेर लेखिएको स्क्रिप्ट छ भने फिल्म पनि राम्रो बन्न सम्भावना हुन्छ । विख्यात निर्देशक अल्फ्रेड हिचककको भनाइ छ, 'गज्जब फिल्म बनाउनलाई तीन वटा कुरा चाहिन्छ- 'स्क्रिप्ट, स्क्रिप्ट र स्क्रिप्ट' । तिनै हिचककको अर्को भनाइ पनि छ, 'स्क्रिप्ट लेखिसक्दा फिल्म गजब बन्छ तर जब सुटिङमा गइन्छ स्क्रिप्टको लगभग ४० प्रतिशत मौलिक कुरा छुट्छन् ।'

हालैको चिनियाँ 'अनडग' जस्ता धेरै फिल्म छन्, जो बिनास्क्रिप्ट बनेका छन् । निर्देशकले कुनै थिम, आइडिया वा विचारमा कलाकारलाई 'इम्प्रोभाइज' गराएर अभिनय गर्न र संवाद बोल्न लगाउन सक्छ । इतिहास, कला र साहित्यको ज्ञान भएका निर्देशक र कलाकार छन् भने निकै गहिरो अर्थ बोक्ने, काव्यिक फिल्म बिनास्क्रिप्ट बन्न सक्छ । नाटकमा त यस्तो प्रयोग धेरै हुने गरेको पाइन्छ । यसैले स्क्रिप्ट फिल्मको एउटा खम्बा हो, सिंगै फिल्म होइन ।

नेपाल र बलिउडमा संवादलाई पनि एउटा मुख्य विधाका रुपमा लिइन्छ । सायद श्रुतिपरम्परा र महाकाव्यको ठूलो प्रभाव रहेकाले होला, हामी शब्दाशक्त छौँ । हरेक कथा र मोड मात्र होइन, भावलाई पनि हामी शब्दमा व्यक्त गर्न रुचाउँछौँ । त्यसैले त अरु कुनै भाषामा नभएका अनुकरणात्मक शब्द नेपाली भाषामा छन् । फिल्म शब्द होइन, दृश्यको भाषा हो । यही कुरा आत्मसात नगर्दा हामी कथा, पटकथा र संवादलाई भिन्न विधाका रुपमा लिन्छौँ । तीनै विधामा छुट्टाछुट्टै अवार्डसमेत दिन्छौँ ! फिल्मलाई राम्रो बनाउन भूमिका निर्वाह गर्ने साउन्ड डिजाइन, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर र प्रोडक्सन डिजाइनलाई बेवास्ता गर्छौं । यस्तै 'झिनामसिना' कुराले फिल्मलाई कमजोर बनाउँछन् ।

लिखित रुपमा स्क्रिप्ट नभए पनि पटकथाको खाका वा विस्तारित विचार शृंखला भने आवश्यक हुन्छ । किनभने फिल्म भनेको दृश्यहरुको माला हो । एउटा एउटा फूल गाँसेर माला बनेजस्तै, दृश्यको सही संयोजनले सुन्दर सिनेमा बन्छ । मालामा जस्तो सबै फूल एउटै रंग, जात र आकारका हुनुपर्छ भन्नेचाहिँ हुँदैन ।

फिल्म ठूलो घटना वा भव्य सेटिङले मात्र राम्रो हुने होइन । निकै सानो विषयमा, सानो धागोको त्यान्द्रोजस्तो विषयमा पनि मिहीन ढंगले बुनिएको फिल्म बन्न सक्छ । प्रायः त्यस्तै फिल्मले धेरै दर्शकको मन जितेका पनि छन् । सानो वस्तु जहाँ पनि अटाउन सक्छ ।

सम्पादनलाई केही निर्देशक र सम्पादकले मूर्तिकलासँग तुलना गरेका छन् । जसरी एउटा ढुंगालाई अनेक औजारले अनेक कोणबाट छेडेर एउटा सिद्धहस्त कलाकारले सुन्दर मूर्तिको स्वरुप दिन्छ, सम्पादकले पनि फिल्मलाई त्यसरी नै सुन्दर बनाउँछ । निर्देशक यदि राजकुमार हिरानीजस्तो गतिलो सम्पादक छ भने उसले सुटिङ स्क्रिप्ट नै सम्पादकको आँखाबाट बनाउन सक्छ । निर्देशन र सिनेम्याटोग्राफी दुवै विधामा एउटै फिल्म (रोमा) बाट ओस्कर जित्ने अल्फान्सो कुरोंजस्तो निर्देशक छन् भने तिनले स्क्रिप्ट नै सिनेमाटोग्राफरको आँखाबाट बनाउन सक्छन् । ड्यानियल डे लुइस, रोबर्ट डि नेरो, मार्लन ब्रान्डो वा ज्याक निकोल्सनजस्ता अभिनेता छन् भने फिल्मलाई तिनले आफ्नो काँधमा बोकेर हिँड्न पनि सक्छन् । लामो समयसम्म बलिउडमा अमिताभ बच्चन र नेपालमा राजेश हमाललाई हेरेर नै स्क्रिप्ट लेख्ने/फिल्म बनाउने चलन थियो । यी सबै चलन चलाउने वा नचलाउने पनि आखिरमा निर्देशकले नै हो ।

पहिले पनि धेरै पटक भनिएको छ, फिल्म ठूलो घटना वा भव्य सेटिङले मात्र राम्रो हुने होइन । निकै सानो विषयमा, सानो धागोको त्यान्द्रोजस्तो विषयमा पनि मिहीन ढंगले बुनिएको फिल्म बन्न सक्छ । प्रायः त्यस्तै फिल्मले धेरै दर्शकको मन जितेका पनि छन् । सानो वस्तु जहाँ पनि अटाउन सक्छ ।

कुनै कथाको 'आइडिया' देखि त्यसको पोस्टप्रोडक्सन र प्रदर्शनसम्म संलग्न हुने व्यक्ति निर्देशक हो । यी सबै काम उसको निर्देशन र सुपरिवेक्षणमा हुन्छ । यसैले पनि फिल्मलाई निर्देशकको उपज मानिन्छ । कविको कविता, लेखकको उपन्यास भएजस्तै निर्देशकको फिल्म । फिल्म राम्रो भए जश निर्देशकको, नराम्रो भए अपजश पनि । फिल्मका बाँकी प्राविधिक-कलाकार त्यो सिर्जना रचनाका सहयोगी हुन् । पटकथा लेखक, सिनेम्याटोग्राफर, सम्पादक र ध्वनि सम्पादकको भूमिका फिल्म राम्रो वा नराम्रो हुनमा निकै धेरै हुन्छ । तर निर्देशकको भन्दा बढी होइन । फिल्म निर्माण यदि युद्ध हो भने निर्देशक त्यो युद्धको सेनापति ।

यति कुरा किन भनिएको हो भने नेपाली फिल्म राम्रा बनिरहेका छैनन् भने त्यसको पहिलो अपजश निर्देशकलाई जान्छ । हरेक निर्देशकसँग आफूले चाहेजस्तो/सोचेजस्तो काम गर्न नसक्नुका पछाडिका सयौँ कारण हुन सक्छन् । कसैलाई निर्माताले दबाब दिएको हुन सक्छ, कसैलाई कलाकारले तनाव दिएको हुन सक्छ, कसैको बजेट कम हुन सक्छ, कसैको सुटिङ समय । दर्शकलाई यी सबै कुरासँग के मतलब ? दर्शकको सरोकार राम्रा फिल्मसँग छ । चाहे त्यो निश्चल बस्नेतले बनाऊन् कि रामबाबु गुरुङले । त्यसमा दयाहाङ राईले अभिनय गरुन् कि मेनुका प्रधानले । अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहजस्ता कलाकारलाई राम्रो अभिनय गरेकै कारण दर्शकले स्टार मानेका होलान् । उनीहरुका फिल्म राम्रा बनिरहेका छैनन् भने त्यसको पनि पहिलो दोष निर्देशकलाई नै जान्छ । नेपालजस्तो 'कास्टिङ डाइरेक्टर' को अभ्यास नभएको उद्योगमा कलाकार छनोटका लागि पनि मुख्यतः निर्देशक नै जिम्मेवार छन् ।

सबभन्दा राम्रा फिल्म भनेका ती हुन्, जसले पर्दामा देखिने दृश्यभन्दा परका अर्थ दर्शकलाई बुझाउँछन् । एउटा दृश्यको वर्णन वा एउटा पात्रको उपस्थितिले धेरै कुरा भन्न सक्छन् ।

बक्स अफिस कलेक्सन र फिल्मले पाएका प्रशंसाको हिसाबले हेर्दा २-४ वटालाई छाडेर धेरै औसत र झुर फिल्म बनिरहेका छन् । न हाम्रा फिल्मले विदेशका ठूला फिल्म फेस्टिभलमा कमाल गरेका छन्, न त स्वदेशी बक्स अफिसमै विदेशी फिल्मलाई उछिनेका छन् ।

राम्रा फिल्ममा समीक्षकले खोज्ने मुख्यतः दुइटा तत्त्व हुन्छन्- पहिलो कथा, दोस्रो, कथा भन्ने तरिका । जब कुनै निर्देशकलाई मैले किन यो कथा भन्ने र कसरी भन्ने ज्ञान हुँदैन, त्यो फिल्म राम्रो बन्दैन । सबभन्दा राम्रा फिल्म भनेका ती हुन्, जसले पर्दामा देखिने दृश्यभन्दा परका अर्थ दर्शकलाई बुझाउँछन् । एउटा दृश्यको वर्णन वा एउटा पात्रको उपस्थितिले धेरै कुरा भन्न सक्छन् । शब्दले लेखिएकै मात्र अर्थ दियो भने कविता सुन्दर र व्यापक बन्दैन, फिल्म पनि त्यस्तै हो । प्रसिद्ध अमेरिकी फिल्ममेकर स्टेन्ली कुब्रिक भन्छन्, 'फिल्म आख्यानजस्तो होइन, संगीतजस्तो हुनुपर्छ । मुड र भावनालाई यसले बिस्तारै विकसित र विशिष्ट अवस्थामा पुर्‍याउनुपर्छ । फिल्मको विषय के हो, सन्देश वा भावना के हो, त्यसको अर्थ के हो भन्ने कुरा त्यसपछिका हुन् ।'

सिर्जनाको अर्को सर्त हो, वैयक्तिकता र मौलिकता । आफ्नो निजात्मक अभिव्यक्ति नभएका कथालाई इमानदार नमान्ने महान् निर्देशक एकातिर छन् भने अर्कातिर क्वान्टेन टोरन्टिनोजस्ता उत्तिकै कहलिएका निर्देशक छन्, जो भन्छन्- म आजसम्म बनेका सबै फिल्मबाट चोर्छु ।

राम्रो फिल्मलाई एउटै वाक्य वा सूत्रमा व्यक्त गर्न सकिने भए सायद यसले कलाको दर्जा पाउने थिएन । तैपनि राम्रो फिल्मका तत्त्व वा अंग भने पत्ता लगाउन सकिन्छ । यसरी पत्ता लगाउने सबभन्दा पहिलो व्यक्ति फिल्मको निर्देशक नै हुन्छ । भनिन्छ, फिल्म राम्रो बन्दैछ/छैन भनेर सबभन्दा पहिले 'सेन्स' निर्देशकले गर्छ ।

अन्त्यमा, यो समयका एक महत्त्वपूर्ण फिल्ममेकर अलेहान्द्रो गोन्जालेज इनारितुको भनाइ सान्दर्भिक छ । उनी भन्छन्, ' फिल्म बनाउनु सजिलो काम हो । राम्रो फिल्म बनाउनु युद्ध गरेजस्तै हो । साह्रै राम्रो फिल्म बनाउनुचाहिँ चमत्कार हो ।'

हामी अहिलेसम्म कथा छनोटको बहसमै छौँ । जबसम्म कथा भन्ने आफ्नो तरिकाबारे व्यापक बहस र अभ्यास हुँदैन, हाम्रा लागि त्यो चमत्कार टाढै हुनेछ ।

अघिल्लो बहस → कोही किन निर्माता बनोस् !

प्रकाशित: चैत्र २८, २०७५