अख्तियारका धमिरा : समाचार निर्माता २०७५

समाचार निर्माता २०७५

राजनारायण पाठक | पूर्वआयुक्त

भनिरहनै परेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीमाथि निगरानी गर्ने संस्था हो । तर त्यही संस्थाका आयुक्त राजनारायण पाठकले आफूले २ किस्ता गरेर ७८ लाख र भाइमार्फत १५ लाख गरी ९३ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भयो र राजीनामा दिएर पन्छिए ।

भ्रष्टाचार कुन तह र हदसम्म झांगिएको रहेछ भन्ने पाठक प्रकरणले उजागर गर्‍यो । युवावयदेखि भ्रष्टाचार सार्वजनिक हुनुअघिसम्म कानुनको पैरवीमा जीवन बिताएका पाठकमाथि गरिएको अनुसन्धान भने 'हात्ती आयो हात्ती आयो फुस्सा' सावित भयो । सुरुमा उनीमाथि छानबिन गर्न मिल्ने/नमिल्ने भन्ने संवैधानिक धारामै बखेडा झिकियो । जबकि संविधानको धारा २४९ को उपधारामा प्रस्ट रुपमा अनुसन्धान गर्न सकिने उल्लेख छ । महान्यायाधिवक्ताको कार्यालयको रायपछि जेनतेन पाठकमाथि अनुसन्धान त भयो । तर उनलाई ज्वाइँ-सम्मान गरियो । २/४ हजार घुससहित प्रमाणसहित पक्राउ परेकालाई हतकडी लगाएर, फोटो खिचाएर उपलब्धि हासिल गरियो भनेझैँ प्रचार गरिन्थ्यो । अख्तियारमै रहेर घुस खाएका पाठकमाथि मुद्दा गुपचुप शैलीमा दर्ता गरियो ।

प्रकाशित: चैत्र २७, २०७५