सत्तालाई प्रश्न

- चन्द्रकिशोर

हालै हामी केही पत्रकार दिल्ली भ्रमणमा थियौँ । त्यहाँ हामीले द वायर  अनलाइनका पत्रकारसँग कार्यालयमै भेट्यौँ । सुरुमा हामीलाई लागेको थियो, उनीहरुको कार्यालय भव्य होला तर पुग्दा सानो र सौम्य पाइयो । अनलाइन पत्रिकाको भीडमा वायरले आफ्नो अस्तित्व कसरी जोगायो र फरक पहिचान कायमै राख्यो भन्ने जिज्ञासा थियो हामीसँग । सम्पादकीय कक्षका सबैजसो पत्रकार आफ्नो उद्देश्यमा प्रस्ट र एकमत देखिए । यो नै वायरको तागतजस्तो लाग्यो ।

"सत्ता र शक्तिलाई प्रश्न गर्न सजिलो छैन, यसमा ठूलो चुनौती भोग्नुपरेको छ । कर्पोरेट र राजनीतिक प्रभावमुक्त पत्रकारिता गरिरहँदा कहिलेकाहीँ आफ्नै विरादरीबाट तगारो आइपुग्छ," वायरका संस्थापक सम्पादक सिद्धार्थ बर्द्धराजन भन्दै थिए, "एकातर्फ हामी प्रश्न गरिरहेका हुन्छौँ, अर्कोतर्फ अरु मिडियाले प्रश्न गर्नुको साटो जवाफ दिइरहेका हुन्छन् ।" सत्ताले जवाफ दिने ठाउँ मिडियाले ओगटिदिएपछि उसलाई हाइसन्चो भएको छ । त्यसैले मोदीराजमा 'गोदी मिडिया' को बहस बाहिरियो । हो पनि, पत्रकारिताको लामो इतिहास भएको भारतमा यसअघि मिडियाको भूमिकालाई लिएर यति साह्रो प्रश्न उठेको थिएन ।

वायरले विचार र समाचारलाई समान महत्त्व दिएको छ । यो भनेको पत्रकारितामा धारा परिवर्तन हुनु हो । समाजलाई सूचना दिएर मात्र पुगेन, त्यो सूचनाले के गर्छ ? बताउन विचार (ओपेड) पनि चाहिन्छ । पहिले सूचना देऊ, पाठक र श्रोताले आफैँ सोच्छ भन्ने थियो । अब तथ्य सूचनाले के भन्छ ? त्यो पनि बताइदिनुपर्‍यो ।

वाट्सप युनिभर्सिटी

हामी दिल्ली पहाडगन्जको एउटा होटलमा बसेका थियौँ । बिहानको चिया खान छेउको ढावामा गयौँ । त्यहाँ बिहारका सामाजिक कार्यकर्ता प्रभात तिवारी भेटिए । कुराकानीका क्रममा तिनले आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक बताए । तर उनी भन्दै थिए, "यसपटक मोदी लहर पहिलेजस्तो छैन ।" भारतीय राजनीतिमा कंग्रेसको भूमिकाबारे उनको टिप्पणी सन्तुलित थियो । हाम्रा गफगाफ चिया पसलेले पनि सुनिरहेका थिए । उनका हाउभाउले बुझिन्थ्यो, ती गफगाफ तिनलाई पचिरहेको छैन । हद त त्यतिखेर भयो, जब उनी चिया पकाउन छाडेर हाम्रो गफमा मिसिए । बिनाबोलावट आएका तिनले नेहरु-गान्धी सबैलाई सस्ता गाली गर्न थाले ।

सामाजिक सन्जालमार्फत हिन्दुवादी संगठनले एकोहोरो बनावटी सूचना पस्किनुको परिणाम हो, चिया पसलेको उत्तेजना । त्यसलाई भारतीय संस्थापनका मुखर आलोचक पत्रकार रविशकुमारले वाट्सप विश्वविद्यालयबाट प्रशिक्षित जमात भन्छन् । अर्थात्, त्यहाँको सामाजिक-राजनीतिक विमर्श तथ्य र तर्कभन्दा कृत्रिम तथ्यमा फसेको छ । त्यसैले कतिपय मिडियाले यस्ता बतासे सूचनाको दिनहुँ परीक्षण गरेर सही के हो, बताउने गरेका छन् ।

मुद्दाको खेल

मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) भुइँतहको समस्याभन्दा राष्ट्रिय सुरक्षाको सवाल उठाउँदै छ । उसको चुनावलक्षित रणनीति त्यस्तै देखिन्छ । उता कंग्रेसलगायत विपक्षी आम जनताका सवालतिर जनतालाई तान्दै छन् । आफ्नो कार्यकालमा मोदीले किसानभन्दा ठूला साहूलाई सघाउ पुर्‍याएको कतिपय आलोचकले बताउने गरेका छन् ।

यहीँनेर गोदी मिडिया मुद्दाको राजनीतिक लुकामारीमा औजार बन्ने गरेका छन् । चुनावलाई लोकतन्त्रको महापर्व मानिन्छ । यस्तोमा जनताका बृहत्तर हितमा असल पत्रकारिताको भूमिका औँल्याइएको छ । कतिपय यसलाई वैकल्पिक प्रयत्न भन्दै यसको आयतन बढाउन हाँक र हौसला दिँदैछन् ।

प्रकाशित: चैत्र २६, २०७५

ट्याग: नोटबुक