सौन्दर्य, सहारा र सुवासको खेती

- केदार शर्मा

इलाम– चैत-वैशाख, पालुवाको याम ⁄ इलामेहरूको सदावहार फुर्तिमा शीतनिद्राबाट जागेका चिया बुटाले पाइन थप्ने मौसम । चियाको भाषामा वसन्ती टिपाइ, पहिलो छिमल वा 'फर्स्ट फ्लस' को 'सिजन' ।

चैत ८-१० पछि मलाई इलामका गाउँघरको बाटो हिँड्न अलि बढी समय लाग्छ ।

न जाडो, न गर्मी, पानी नपर्ने मौसममा बाटो काट्न अझ छिटो हुनुपर्ने हो । तर मलाई हिउँदको कठोर कटाइपछि हाँगाबाट मौलाउने प्रयत्नमा मग्न चियाका बुटाले अल्झाउँछन् र फोटो खिचिमाग्छन् । हरियो चौरजसरी मिलेका चियाका गाछ माथिमाथि पोटाउँदै गरेका मुनाले पनि उसरी नै अल्मल्याउँछन् ।

म मनभरि तिनको जीवन्त सौन्दर्य बोक्छु र बिस्तारै हिँड्छु । अनि कतै चिया फ्याक्ट्रीबाट निस्केका सुगन्धका मुस्लाले हिँड्दाहिँड्दै टक्क उभ्याउँछन् । अनि म छातीभरि त्यो सुवास हुल्छु र हिँड्छु ।

आफ्नो ठाउँ मन नपराउने मान्छे कमै होलान् । आफ्नो ठाउँमा गर्व गर्ने पनि धेरै हुन्छन् । तर आफ्नो ठाउँबारे घमन्डकै हदमा पुग्ने गरी दंगदास पर्नेहरू इलामे हुन् । त्यो घमन्ड चुलिने समय पनि, चैत-वैशाखमै हो ।

एउटै कारण, हामीसित चिया छ ।

चिया हामीसित मात्र छैन । हाम्रैजस्तो चिया अरूतिर पनि छ । हामी धाकै दिएर भन्छौँ, 'हामीसित सर्वश्रेष्ठ चिया छ ।'

पोहोर साल नेपाली साना किसानलाई तालिम दिन चीनबाट आएका विशेषज्ञ लु योङ्हाउले यस पंक्तिकारसित भनेका थिए, "हाम्रामा १२ सय मिटरको उचाइसम्म चिया हुन्छ, तिमीहरूकहाँ २३ सय मिटरसम्म मजाले चिया उत्पादन हुन्छ । त्यसमाथि घाम, बादल र पानीको लुकामारीका कारण इलामे चियाका पत्तीमा रासायनिक पदार्थको सर्वश्रेष्ठ गुण आउँछ । बालीका हिसाबले तिमीहरूको चिया संसारकै सर्वश्रेष्ठ हो ।"

अनि त के चाहियो !

आफ्नै चियाबारी होस् कि नहोस्, धेरैजसो इलामेको फुर्ति चिया र चियाबारीबाटै आउँछ । आफ्ना खल्तीमा चियाबाट आउने सुको परोस्-नपरोस्, चिया हाम्रो साझा सम्पत्ति हो । इलामका 'पाँच अ' (अकबरे खुर्सानी, आलु, अदुवा, अलैँची, ओलन) भन्दा धेरै आर्थिक, सामाजिक र वातावरणीय महत्त्व चियाकै छ ।

हामी चिया हेरेर, हेरेरभन्दा खाएर र खाएरभन्दा बेचेर दंग पर्छौं ।

तस्बिर : अर्जुन राजवंशी


सबैलाई मन पर्ने

होटल तथा रेस्टुराँ सञ्चालक र पर्यटनका अन्य क्षेत्रमा काम गर्नेलाई हाम्रो चियाबारे राम्रो जानकारी दिन सके उनीहरूलाई नै चियाका ब्रान्ड एम्बेसेडर बनाउन सकिन्छ

झापाबाट उकालो लाग्दा कोलबुङतिरदेखि सुरु 'आहा ! आहा !' को ध्वनि हर्कटेबाट कन्यामतिर लागेपछि 'वाउ...!' हुन थाल्छ । गाडी रोकिन थाल्छन् । फोटा खिचिन थाल्छन् । मानौँ, चिया बगानमा फोटो नखिची न कोही इलाम आएको प्रमाणित हुन्छ, न त कसैले इलामबाट फर्किने अनुमति पाउँछ । बसेर, उठेर, चियाका पोथ्रामा सुतेर, हाँसेर, नाचेर- चियासित फोटो नखिची कोही फर्किंदैन । अन्तु जाओस् कि सुन्दरपानी । इलाम बजार जाओस् कि जसबीरे । आन्तरिक पर्यटक फोटो खिचेको खिच्यै हुन्छ ।

अलि लामो बस्ने, गाउँघरतिर पनि पस्ने आन्तरिक वा बाह्य पर्यटक चियासित निकै रमाउँछन् । आफैँ चिया टिप्ने, विभिन्न प्रक्रिया पूरा गरेर हातेपत्ती (मेसिन प्रयोग नगरी बनाइएको चिया) बनाउने, चिया फ्याक्ट्री घुम्न जाने, थरीथरीका चिया चाख्ने, विधिवत 'टी टेस्टिङ' सिक्ने, यहाँ आइपुग्ने पर्यटकलाई मन पर्ने गतिविधि हुन् । इलाम घुम्नु चियाका बोट, खेतीका तौरतरिका र चिया बनाउने प्रक्रिया जान्नु/बुझ्नु पनि हो । इलामका गाउँघरमा गएर चिया खानु पनि हो । भन्नेहरू यसैलाई 'टी टुरिजम्' पनि भन्छन् ।

पाहुनाको उत्सुकता र रैथानेको ज्ञान बढ्दै जाने हो भने हाम्रो चियाको मानभाउ बढ्छ । आफूले हाम्रा उत्पादनको महत्त्व बुझे पो अर्कालाई बुझाउन पनि सजिलो हुन्छ । अनि माग र बिक्री बढ्छ । चिया खेती बढ्छ, नांगा डाँडामा सदावहार हरियाली र आम्दानी बढ्छ ।

चिया विशेषज्ञ सोनाम पाल्जोर लामाका अनुसार नेपालमा झन्डै दुई करोड किलो सीटीसी (मैदानी क्षेत्रमा उत्पादित दानेदार चिया) उत्पादन हुन्छ भने बेलायतीले 'अर्थोडक्स टी' नाम राखेको 'पहाडी चियापत्ती' करिब ५० लाख किलो मात्र उत्पादन हुन्छ । तर हाम्रो पहिचान भने यही पहाडी चिया नै हो । यहाँ ग्रीन टी, ह्वाइट टी, वुलङ टीजस्ता विशिष्ट प्रकारका चिया पनि बन्छन् । उपलब्ध तथ्यांक केलाउँदा उत्पादनको १० प्रतिशतभन्दा अलि बढी हामी आफैँ खपत गर्छौं । अर्को १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुन्छ र बाँकी ८० प्रतिशत भारत निकासी हुने गरेको देखिन्छ । यो तथ्यांकलाई जति बढी सन्तुलित बनाउन सक्यो, हाम्रो आम्दानी त्यति नै बढ्छ र आयात प्रतिस्थापन भई विदेशी मुद्रा पनि जोगिन्छ । सरकारले चियालाई नेपालको राष्ट्रिय पेय घोषणा मात्र गरिदियो भने यो सन्तुलन मिलाउने काममा ठूलो मद्दत पुग्छ ।

"वर्षभरिमा नेपालभरबाट हजारौँ व्यक्ति इलाम घुम्न आउँछन् । तर हामीले पाहुनालाई राम्रोसित इलाम देखाउन र चिनाउनै सकेका छैनौँ । यहाँका होटल तथा रेस्टुराँ सञ्चालक र पर्यटनका अन्य क्षेत्रमा काम गर्नेलाई हाम्रो चियाबारे राम्रो जानकारी दिन सके उनीहरूलाई नै चियाका ब्रान्ड एम्बेसेडर बनाउन सकिन्छ," चिया प्रशिक्षक ज्योति अधिकारी भन्छन्, "हामी इलामेले चिया खेती, चिया उद्योग, चियाको गुणस्तरजस्ता कुराबारे आफैँले बुझ्नुपर्ने र अरूलाई बुझाउनुपर्ने कुरा धेरै छन् ।"

यो कुरा एउटा तहमा भने समयमै स्थानीय सरकारले बुझेजस्तो छ । त्यसैले इलामको सूर्योदय नगरपालिकाका विद्यालयमा यस वर्षदेखि चिया पढाइने भएको छ । "चियाबारे जान्नुपर्ने, बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा धेरै भएकाले नै हामीले ६ कक्षादेखिको सामाजिक शिक्षामा स्थानीय विषयका रूपमा चिया पढाउन लागेका छौँ । चियाबारेमा रोचक र उपयोगी कुरा यहाँका बालबालिकाले समेत जानून् र आफ्नो प्रमुख उत्पादन सम्बन्धमा आधिकारिक जानकारी राख्ने पुस्ता तयार होस् भनेर पाठ्यक्रम विकासका लागि विशेषज्ञ कार्यरत हुनुहुन्छ," सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई भन्छन् ।

चिया हामीले गर्व गर्ने र निर्यात पनि गर्ने कृषिउपज हो । हामीमध्ये धेरैको सूर्य चियाकै कपबाट उदाउँछ । हामी दिनमा धेरै पटक चिया खान्छौँ । त्योभन्दा ठूलो कुरा चिया कुनै वर्ग-विशेषको पेय होइन । यसमा कफीको जस्तो आधुनिक र माथिल्लो वर्गको छाप लागेको छैन । र, यो संसारमा कतै पनि 'गरिबको पेय' पनि ठानिएको छैन । यो राष्ट्रिय महत्त्वको उत्पादन र साझा पेयबारेमा चाख बढाउनैपर्छ । चाख बढेसँगै गुणस्तर बढ्छ र खपत पनि बढ्छ ।

प्रतिकिलो मूल्य जति परे पनि चिया सस्तो पेय पदार्थ हो । हाम्रो बजारमा सरदर प्रतिकिलो ३ सय ५० (४ सयको सीटीसी, ८ सय ५० देखि ३ हजारसम्मको ग्रीनटी, ८ सयदेखि १ हजार २ सयसम्मको उच्च पहाडी पत्ती चिया (अर्थोडक्स टी) तथा ३ हजार ५ सयदेखि १०-१२ हजारसम्मका 'स्पेसलिटी चिया' पाइन्छन् । सामान्यतया एक किलो चियाबाट कम्तीमा पनि २ सय ५० कप चिया बन्छ । बजारमा उपलब्ध सबभन्दा महँगो चिया किने पनि एक कप चियाको मूल्य ४०-५० रुपैयाँ मात्र पर्छ । यो गुणस्तरको अरू कुनै पनि पेय यति मूल्यमा तयार हुन सक्दैन ।

अझ महत्त्वपूर्ण कुरा, स्वदेशी चियाका लागि खर्चिएको हाम्रो सबै पैसा देशभित्रै बस्छ, त्यो पनि अधिकांश गाउँघरमै पुग्छ । कुनै पनि विदेशी कच्चापदार्थ वा सहायक कच्चापदार्थ (प्याकेजिङ सामग्रीबाहेक) बिनै, स्वदेशी श्रम र सीपका भरमा तयार हुने चिया नेपालमा हुने विदेशी पेय पदार्थ आयातलाई प्रतिस्थापन गर्न र विदेशी मुद्रा कमाउन सक्ने हाम्रा थोरै उत्पादनमध्येको एउटा हो ।

तस्बिर : चियापान


सौन्दर्य मात्र होइन

बहुवर्षे बाली भएकाले चिया खनजोत र बर्सेनिको बीउबिजन, रोपाइँ आदिबाट मुक्त खेती हो । त्यसभन्दा महत्त्वपूर्ण कुरा हो, चिया खेतीमा काम गर्ने किसान वा मजदुरले कम निहुरिए पुग्छ ।

अहिले देशभरि सुनिने मुख्य दुइटा गुनासा हुन्- गाउँहरू युवाविहीन भए र जमिन बाँझियो । इलाम यी दुवै गुनासाबाट धेरै हदसम्म मुक्त छ । यसको मुख्य कारण हो- चिया ।

ढाड कुप्य्राएर निहुरिनुपर्ने समय र जमिनमा बगाउनुपर्ने पसिनाको मात्रा घटाउन सक्ने हो भने खेतीपातीबाट अहिले जति धेरै मान्छे विमुख हुँदैनन् । चियाले यी दुवै कुरा उल्लेखनीय रूपमा घटाइदिएको छ । बहुवर्षे बाली भएकाले चिया खनजोत र बर्सेनिको बीउबिजन, रोपाइँ आदिबाट मुक्त खेती हो । त्यसभन्दा महत्त्वपूर्ण कुरा हो, चिया खेतीमा काम गर्ने किसान वा मजदुरले कम निहुरिए पुग्छ । खोस्रीखास्री पारेर मल हाल्न वर्षमा एकपटकबाहेक चिया खेतीकै लागि भुइँसम्म निहुरिनुपर्दैन । 'फाँड्ने' (चियाका हाँगा काट्ने) काममा अलि धेरै श्रम लाग्छ, तर त्यो सीपको काम पनि भएकाले राम्रो पारिश्रमिक पाइने काम हो । खेतीपातीका अन्य कामको तुलनामा चिया टिपाइ निकै सजिलो र राम्रै ज्याला बस्ने काम हो । विभिन्न अवस्थामा प्रतिकिलो १५ देखि ५० रुपैयाँसम्म ज्याला पाउँछन् । हातले चिया टिप्ने एक जनाले मासिक सरदर १० देखि २२ हजार रुपैयाँसम्म पारिश्रमिक बसाउँछन् ।

हिजोआज चिया टिप्ने र सामान्य छटाइको काममा मेसिन प्रवेश भएको छ । करिब ४०-४५ हजार मूल्यको मेसिन चलाउने व्यक्तिले इन्धन खर्च कटाएर दिनको १ देखि २ हजार रुपैयाँसम्म कमाउँछन् । मेसिनले गर्दा चियाबगान मालिकलाई पनि सजिलो र फाइदा भएको छ ।

"मेसिनले गर्दा धेरैलाई सजिलो भएको छ । तर यो मेसिनका भरमा मात्र काम नहुने क्षेत्र हो । मूल्यवान विशेष प्रकारका चिया बनाउन हातैले टिप्नुपर्ने हुन्छ," गोर्खा चिया फ्याक्ट्रीका म्यानेजिङ डाइरेक्टर उदय चापागाईं भन्छन् । यसको राम्रो पक्ष के भने, टिप्ने कामदार पाइएन भनेर चियाबगान मालिक पनि अप्ठेरोमा पर्दैनन् र मेसिन आएपछि काम पाइएन भनेर कामदार पनि खाली बस्दैनन् । गोर्खा चिया फ्याक्ट्रीले राम्रोसित चिया टिप्ने कामदारलाई करिब १० किलोमिटरसम्म आफैँ यातायातको साधन पठाएर काममा ल्याउँछ र अन्त चलेभन्दा दोब्बर ज्याला दिन्छ ।

तीन दशक अघिसम्मका चरन चियाले ढाकिएका कारण अन्त पनि घाँस खेती बढेको छ । इलामका खोलानाला हिजोआज बर्खामा पनि सङ्ला बग्छन् ।

तस्बिर : विप्लव भट्टराई


अरू खेतीमा भन्दा निकै कम 'निहुरेर,' परिश्रमभन्दा धेरै सीप र मिहिनेत खर्चेर, हिलो र माटोबाट सामान्यतया मुक्त नै रहेर किसानले पहाडमा सरदर ७ सय ८० देखि १ हजार किलोसम्म चिया उत्पादन गर्छन् । अर्गानिक चिया खेती गरिएको छ भने उत्पादकत्व कम भए पनि मूल्य बढी पाइन्छ । मलजल, काँटछाँट तथा टिपाइ र ढुवानी खर्च कटाएर प्रतिरोपनी न्यूनतम ३० हजार लाभ हुन्छ । इलाममा १० रोपनीभन्दा बढी जमिनमा चिया खेती गर्ने किसानको जीवनस्तर निकै माथि देखिन्छ ।

चिया खेतीले किसानलाई आर्थिक सहारा त दिएको छ नै, खनजोत गर्नु नपर्ने र सदाबहार बाली बारीमा भएका कारण माटोको पनि रक्षा भएको छ । तीन दशक अघिसम्मका चरन चियाले ढाकिएका कारण अन्त पनि घाँस खेती बढेको छ । इलामका खोलानाला हिजोआज बर्खामा पनि सङ्ला बग्छन् । बगर साँघुरिइरहेका छन् ।

युवाले पाएको रोजगारीका कारण सबभन्दा ठूलो सहारा त समाजलाई भएको छ । मराउपराउमा मात्र होइन, गाउँसमाजका बिहेबटुला र पुराण-पूजामा पनि युवाहरूको भरपर्दो सहभागिता हुन्छ यहाँ । टोलटोलमा सामाजिक कामका लागि समूह बनेका छन् र तिनमा प्रायः युवाकै सहभागिता र नेतृत्व पाइन्छ । काठमाडौँमा बसेर एमएसम्मको पढाइ सकेर पूर्णकालीन कृषिमा लागेका दोर्जी शेर्पा भन्छन्, "मैले जागिर खाएको भए जति कमाउन सक्ने थिएँ, त्यसभन्दा धेरै खेतीपातीबाट कमाइरहेको छु । आमालाई साथ भएको छ । गाउँटोलका सामाजिक काममा पनि संलग्न हुन पाएको छु ।" उनी आफूजस्तै युवाबाट गठित सामाजिक क्लबका अध्यक्ष पनि हुन् ।

पछ्यौरी र काँडा

नेपालको चिया 'चखिलो' लाग्छ । किनभने हाम्रो अधिकांश चिया आफ्नै बारीमा आफैँ रोपेर र आफ्नै गाउँका ससाना फ्याक्ट्रीमा तयार पारिएको हुन्छ ।

भूपीले 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा' गीत लेख्दा हाम्रातिर चिया अहिले जति व्यापक थिएन । इलाम र सोक्तिममा पुराना सरकारी चिया कमान थिए, कन्याममा चिया रोपिएकै थिएन । कन्याम चिया कमान स्थापनापछि पनि हाम्रो चिया कोलकातामा भारतीय चियासित मिसिएरै मात्र विदेश पुग्थ्यो । यता सरकारी कमान, झापामा केही जमिनदारका बगान र सीमापारि बडेबडे साहेबका ठूल्ठूला कमान देखेका नेपालीले आफ्ना डाँडाकाँडा यसरी चियाले ढाकिएलान् भन्ने आशै गरेका थिएनन्, रहरै गरेका थिएनन् ।

तस्बिर : विप्लव भट्टराई


"०३० को दशकमा कन्याम कमानमा फ्याक्ट्रीमै प्रशोधन गर्ने उद्देश्यले वरपरका किसानलाई चिया रोप्न प्रोत्साहित गर्न थालिएको थियो । त्यसैबेला हामीले केन्याबाट साना किसानले ससाना बारीमा पनि चिया खेती गर्न सक्छन् भन्ने कुरा सिक्यौँ र चिया खेती फैलाउन थाल्यौँ", चिया विस्तार कार्यक्रमलाई अघि बढाउन मुख्य भूमिका रहेका तारानाथ शर्मा अधिकारी भन्छन्, "०३९ मा राजा वीरेन्द्रले चिया क्षेत्र घोषणा गरेपछि चिया रोप्ने मेसो पाँचथर, धनकुटा, तेह्रथुमतिर पनि फैलियो । तर त्यसबेला पनि हाम्रा डाँडापाखा यसरी चियामय होलान् भन्ने कल्पना गरेका थिएनौँ ।"

तर कन्यामले किसानको चिया किन्न सकेन । त्यसबेलासम्म चिया खेती निकै फैलिइसकेकाले एक समय त किसान पत्करका मोलमा सीमापारि हरियो चिया बेच्न बाध्य भए । तर निराश भएनन् । बिस्तारै सानाठूला चिया फ्याक्ट्री खुल्न थाले । कालक्रममा 'इलाम टी' को सीमा विस्तार भएर 'नेपाल टी' भयो । करिब २५ वर्षको प्रयत्नपछि नेपाल चियाको विश्व मानचित्रमा देखिन थाल्यो । अब 'नेपाल टी' 'दार्जिलिङ टी' सित दाँजिन थालेको छ ।

"दार्जिलिङ चिया जगत्‌की साम्राज्ञी हो भने इलाम अन्तर्राष्ट्रिय चियाको राजनीति र व्यापार सिक्दै गरेकी एउटी संघर्षशील सुन्दर युवती हो । तर अबको समय यही ऊर्जाशील र संघर्षशील युवतीको हो," गोर्खा चियाका म्यानेजिङ डाइरेक्टर उदय चापागाईं भन्छन् । जर्मन बजारका ठूला व्यापारीलाई चिया बेच्ने चापागाईंका अनुसार पश्चिमा बजार हाम्रो चियाको गुणस्तरसित मात्र होइन, उत्पादनको सामाजिक र वातावरणीय पक्षसित पनि प्रभावित छ ।

भारतमा उन्नाइसौँ शताब्दीको मध्यमा आसाममा सुरु चिया खेती चीनमा जस्तै पहाड खोज्दै दक्षिणको नीलगिरि, पूर्वको दार्जिलिङ र पश्चिमको कुमाउँ पहाडमा रोपियो । त्यहाँ गाउँगाउँ नै 'कमान्ड एरिया' मा लिएर, अर्थात् अधिग्रहण गरेर टी इस्टेट स्थापना गरियो, जो कमान्ड एरियाका कारण नेपालीमा 'कमान' भयो । कृषक मजदुर भए । उनीहरूका खेतबारीमा अन्न होइन, हातमा पैसा पर्न थाल्यो ।

चीनबाट कल, छलबल हासिल गरेको बीउ र प्रविधि हस्तान्तरणमा बेलायती लोभी थिए । तर जंगबहादुर राणाका पालामा चिनियाँ बादशाहबाट उपहारका रूपमा चियाको बीउ प्राप्त भएपछि तत्कालीन बडाहाकिम गजराजजंग थापामार्फत इलाममा चिया रोपियो । धन्न ! त्यसबेलाको नेपाल सरकारका प्राथमिकतामा चिया खेती परेन र हजारौँ नेपाली किसान भूमिहीन मजदुर हुनबाट जोगिए ।

अहिले 'साम्राज्ञी' दार्जिलिङको शान-मान पहिलेकै छ । तर चापागाईंको कथनानुसार सामाजिक न्याय र वातावरणीय पक्षमा ध्यान दिने पश्चिमा ग्राहकका लागि किसानलाई जमिनबाट बेदखल गराएर गरिएको एक बाली चियाभन्दा नेपालको चिया 'चखिलो' लाग्छ । किनभने हाम्रो अधिकांश चिया आफ्नै बारीमा आफैँ रोपेर र आफ्नै गाउँका ससाना फ्याक्ट्रीमा तयार पारिएको हुन्छ । आफ्ना बारीमा चिया खेती गर्नु स्वामित्वको विषय मात्र होइन, चियाबारीभित्र र छेउछाउको घाँस गाईवस्तुलाई खुवाउने कृषि प्रणाली पनि हो । चियाको अर्गानिक सर्टिफिकेसनका क्षेत्रमा काम गर्ने गोविन्द शर्माको कथन छ, "चियाबारीको घाँस गाईलाई हालेको देखियो भने हाम्रो काम सजिलो हुन्छ । पहिलो कुरा त त्यहाँ हानिकारक झारमारा (हर्बिसाइड) हानिएको हुँदैन । अरू विषादी पनि हानिने सम्भावना कमै हुन्छ । किसानले विषादी हानेको ठाउँको घाँस सितिमिति गाईवस्तुलाई खुवाउँदैनन् ।"

अर्गानिक चियाको सुवासै बेग्लै हुन्छ । यो सुवास चियाको कपबाट आउने सुगन्ध मात्र होइन, नाम सुवास, अर्थात् सबै हिसाबले उत्कृष्ट चिया उत्पादकको सुनाम पनि हो, जो क्रमशः विश्वभर फैलिँदैछ ।

यो पनि पढ्नुहोस् → चिया उद्यम

प्रकाशित: चैत्र २६, २०७५

ट्याग: जीवनशैली