चिया उद्यम

- विजयराज खनाल

केही नसके चिया बेचेर पनि जीवन पाल्न सक्छु

समस्यामा पर्दा ग्रामीण वा सहर का गरिबदेखि निम्न मध्यम व्यक्तिले गुजाराका लागि सोच्ने पहिलो व्यवसाय हो, चिया पसल । सामान्य लगानीमा सुरु गर्न सकिने भएकाले पनि धेरैले चिया पसल व्यवसायलाई

सहजै दैनिक गुजारा चलाउने माध्यम बनाउँदै आएका छन् ।

चियापान नेपालमा मात्र नभई विश्वकै आम संस्कृति भएकाले चियाको व्यवसाय फस्टाएको छ । टी एसोसिएसन अफ युएसए इन्कका अनुसार चिया विश्वमै पानीपछि पिइने दोस्रो तरल पदार्थ हो । व्यक्तिगत, संस्थागतदेखि राजनीतिक जमघटको मेसो मिलाउन 'चियापान' एसियाली संस्कृतिकै रूपमा विकसित भएको छ ।

नेपालमा चिया र कफी संस्कृति दुवै आयातीत नै हुन् । विशेषतः एसिया (चीन) मै चियापान संस्कृतिको प्रादुर्भाव भएकाले पनि नेपालमा आम संस्कृतिका रूपमा यसले चाँडो स्थान पाएको हुन सक्छ । नेपालमा चिया भित्रिएको लगभग ७० वर्षपछि कफी चलनचल्तीमा आएकाले पनि हुनुपर्छ, चियापान आम संस्कृतिका रूपमा विकास हुन पुग्यो । तर १ सय ५० वर्षको नेपाली चियाको इतिहासले अझै गर्विलो छाप भने छाड्न सकेको छैन ।

सबैजसो नेपालीका घरमा चिया उमालिन्छ । अन्य धेरै खाद्य तथा पेयपदार्थ आयात हुने नेपालमा चियापत्ती न्यून आयात हुन्छ । अर्थात्, नेपालमै उत्पादित चियापत्तीले यहाँको माग धानिरहेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा हाल वाषिर्क २४ हजार ८ सय मेटि्रक टन चिया उत्पादन भइरहेको छ । यसमध्ये ३७ प्रतिशत चिया मुलुकमै खपत हुन्छ भने बाँकी निर्यात । मुलुकमा चिया उत्पादन एक दशकमा दोब्बरले वृद्धि भए पनि निर्यातका आधारमा विश्व मानचित्रमा निकै तल छ । करिब ७ खर्ब ७६ अर्ब (७ अर्ब ७६ करोड अमेरिकी डलर) को चिया निर्यात बजारमा नेपालीको निर्यात हिस्सा ० दशमलव ४ प्रतिशतमा मात्र सीमित छ । अर्थात्, ३ अर्ब २५ करोडको चिया नेपालबाट निर्यात हुन्छ ।

यति हुँदाहुँदै पनि नेपाल चियामा आत्मनिर्भरकै अवस्थामा छ । नेपालमा वाषिर्क १२ करोड रुपैयाँको चिया मात्रै आयात हुन्छ । चिया आयातमा भन्सार शुल्क २५ प्रतिशत लाग्ने भएकाले यस्तो आयात दर न्यून छ ।

"अहिले नेपालमा श्रीलंका र भारतमा उत्पादन हुने केही चियापत्ती आइरहे पनि त्यो दर न्यून छ," राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सूचना अधिकृत गौरव लुइँटेल भन्छन्, "नेपालबाट चियापत्ती निर्यात हुने मुख्य देश भारत हो ।"

नेपालबाट निर्यात हुने चियापत्तीमध्ये ९० प्रतिशत भारतीय बजारमा जान्छ भने १० प्रतिशत जर्मनी, टर्कीलगायतका तेस्रो मुलुकमा । केही समयअघिसम्म गुणस्तरीय चिया निर्यात हुने र रसायन प्रयोग भएको चिया नेपालमा बिक्री गरिने परिपाटी रहेको चर्चा चल्ने गथ्र्यो । अहिले त्यस्ता समस्या हटेर गए पनि अझै यो क्षेत्र समस्याविहीन हुन सकेको छैन ।

व्यावसायिक चिया खेती सर्वेक्षण- ०७५ अनुसार अहिले मुलुकका १४ जिल्लामा व्यावसायिक चिया खेती हुँदै आएको छ । ९ हजार २ सय ३६ कृषक परिवारले चियाको व्यावसायिक खेती गरिरहेका छन् । यसमध्ये १ सय ८ ठूला संस्थागत किसान हुन् । हालै सरकारले पारिश्रमिक निर्धारणमा नयाँ दर तोके पनि श्रम विवाद कायमै छ ।

हाल श्रमिकको दैनिक आधारभूत पारिश्रमिक ३ सय १५ रुपैयाँ छ । अन्य भत्तालगायत गरेर कुल ५ सय १७ रुपैयाँ पाइरहेका छन् । यही दरको कारण एकाध उद्योग सञ्चालन गर्न नसकिने भन्दै बन्दसमेत भए । तर सस्तो लागतमा मेसिन उपलब्ध हुन थालेपछि अहिले उद्योगको संख्या वृद्धि भएको छ । हाल १ सय १३ वटा चिया उद्योग सञ्चालनमा छन् ।

श्रम विवाद केही समाधान भए पनि चिया उद्योगमा सामूहिक भावना विकास नहुँदा अगाडि बढ्न समस्या छ । १५/१६ लाखमा चिया प्रशोधन तथा उत्पादन उद्योग स्थापना गर्न सकिने भएसँगै धेरै किसान उद्योगीमा समेत परिणत भएका छन् । यसले मुख्यतः ठूला उद्योगले कच्चा पदार्थ नपाउने र सानाले बजार नपाउने अवस्था सिर्जना भइरहेको छ ।

यी समस्या समाधानका लागि उद्योगीले केही पहल भने गरिरहेका छन् । "हामीले अहिले स्ट्यान टी हब बनाएका छौँ, जसमा साना किसानबाट सञ्चालित ४६ उद्योग आबद्ध छन्," स्पेसालिटी टी एसोसिएसन अफ नेपालका अध्यक्ष राजु शेर्मा भन्छन्, "हामीले किसानबाट उत्पादित चियालाई पुनर्प्रशोधन र प्याकेजिङ गर्ने गरी काम अगाडि बढाएका छौँ ।"

संघले अहिले ठमेलमा आउटलेट खोलेर बिक्री गरिरहेको छ । अर्को महिना झापा चारआलीबाट सामूहिक रूपमा अर्थोडक्स चियापत्ती संकलन गरेर पुनर्प्रशोधन र प्याकेजिङ गर्ने सोच बनाएको छ । यो उद्योग सञ्चालनमा आए वाषिर्क ५ लाख केजी अर्थोडक्स चियापत्ती उत्पादन हुने प्रक्षेपण संघको छ ।

नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा सहज बजारीकरण गर्न र किसानलाई उचित मूल्य उपलब्ध गराउने एउटा माध्यम बोलकबोल (अक्सन) बजार हो । विश्वमा चिया उत्पादन हुने हरेक देशमा यस्तो बजार हुने गर्छ । नेपालमा भने हालसम्म यस्तो बजार सुरु नै भएको छैन । केही वर्षअघिसम्म केन्द्र सरकारबाट अक्सन बजार सञ्चालन गर्न भइरहेको पहलसमेत निष्प्रभावी देखियो र अन्ततः किसानको यस्तो सपना पूरा हुन सकेन ।

अक्सन बजारमा सबै किसान उत्पादकबाट उत्पादित चिया संकलन र त्यही प्रणालीमार्फत बिक्री गरिन्छ । मुलुकभित्र वा बाहिरका खरिदकर्ता सहभागी हुन सक्ने यो प्रणालीको विकास नै हुन सकेन । विशेषतः नेपाल चिया विकास निगमजस्ता ठूला उत्पादकले यो प्रणालीमा आउन इच्छा नदेखाउनु, गोदामघरको समस्या हुनु, उद्योगीबाट भण्डारण अवधिका लागि माग भएको सफ्ट लोनको व्यवस्था सरकारले गर्न नसक्नुजस्ता कारणले पनि यो बजार सञ्चालनमा आउन सकेन । मुलुक संघीयतामा गइसकेको र प्रदेश १ मै चिया खेती धेरै हुने भएकाले उक्त प्रदेशले यसमा चासो देखाएको छ ।

यो पनि पढ्नुहोस् → सौन्दर्य, सहारा र सुवासको खेती

प्रकाशित: चैत्र २६, २०७५