वर्ष ०७५ का ५ नाटक

बाथटब

नेपालमा नाटक असाध्यै कम लेखिन्छ, लेखिएका एकाध स्तरीय हुँदैनन् । यही अभाव पूर्ति गर्‍यो, बाथटबले । कुमार नगरकोटी लिखित नाटकमा जीवनका अनेक द्विविधाप्रति सवाल खडा गरिएको छ । विषयवस्तु, लेखनशैलीसँगै डिजाइन र कलाकारको अभिनयमा पनि बाथटबले एउटा मानक खडा गरेको छ, नेपाली रंगमञ्चमा । विधा नै थ्रिलर र रहस्यमयी ।

खबर हराएको चिट्ठी

१० वर्षे सशस्त्र द्वन्द्वका दुष्परिणामको प्रतिविम्ब हो, खबर हराएको चिट्ठी । युद्ध गर्ने पार्टीले सरकार चलाइसक्यो तर त्यही युद्धका दौरान हराएकाहरु घर फर्किएका छैनन्, आफन्त उनीहरुकै प्रतीक्षामा छन् । न लास आयो, न त आश मरेको छ । नाटकले हाम्रो राजनीतिक प्रणालीलाई निर्मम कटाक्ष गरेको छ । १२ युवा निर्देशकले पोखरा आसपासका पीडित परिवारसँग प्रत्यक्ष वार्ता गरेर तयार पारेकाले पनि नाटक जीवन्त बन्यो ।

गर्भ छिटा

काठमाडौँमै नाटक गर्न धौ-धौ छ । कर्णालीमा कति मुस्किल होला ? तैपनि गर्भ छिटा  कर्णालीमा बन्यो र राजधानीसम्म आइपुग्यो । मुगुका स्थानीय हिरा बिजुली नेपालीको लेखन/निर्देशन रहेको नाटक कर्णालीको कुप्रथाका कारण एउटी युवतीको जीवनमा आइपरेको फसादको बेलिविस्तार हो । वर्गीय/जातीय विभेद र महिला सशक्तीकरणलाई पनि नजरअन्दाज गरिएको छैन । कथावाचनमा कर्णालीकै संस्कृतिलाई आत्मसात् गरिएको छ ।

शकुन्तलाको औँठी

अस्तित्ववादी नाटक हो, शकुन्तलाको औँठी । भारतीय लेखक सुरेन्द्र बर्माको 'शकुन्तलाकी अंगुठी' लाई सुरज मल्लले हाम्रो परिवेशअनुरुप ढालेर नेपाली रंगमञ्चमा प्रस्तुत गरेका हुन् । महिला सशक्तीकरणको पक्षमा छ । कलाकारको अभिनय र डिजाइन बुलन्द मानियो । अभिनय प्रशिक्षार्थीका लागि त शिक्षण साम्रगीजस्तै ।

पाँच

नेपाली रंगमञ्चका लागि सार्थक प्रयोग हो, सुदाम सिके निर्देशित पाँच । आम नाटकझैँ यसमा संवाद थिएन । केवल शरीरको हाउभाउ, ध्वनि र श्वासप्रश्वास मात्र थियो । यसको शब्द, भाषा र कथा पस्कने माध्यम पनि शरीर नै । शरीरमाथि हुने राजनीति र मानवीय संवेदनालाई प्रभावकारी शैलीमा उठाउन खोजिएको छ । हामीकहाँ यसअघि यस्तो 'फिजिकल थिएटर' अभ्यास गरेको पाइन्न । 

प्रकाशित: चैत्र २५, २०७५

ट्याग: नाटक