वर्ष ०७५ का ५ फिल्म

बुलबुल

स्थानीय कथा, पात्र र कथ्य संरचनाले बुलबुललाई सशक्त बनायो । वैदेशिक रोजगारमा गएका पतिलाई पर्खिरहेकी युवतीमार्फत लेखक/निर्देशक विनोद पौडेलले नेपाली समाजको नियति उदांगो पारेका छन् । लयात्मक खिचाइ, चुस्त सम्पादन र दृश्यभावअनुरुपको पाश्र्व संगीत अनि स्वस्तिमा खड्का र मुकुन भुसालको जीवन्त अभिनय उत्तिकै तारिफयोग्य छ । नेपाली सिनेमाको मौलिक पहिचान निर्माण अभियानमा बुलबुल कोशेढुंगा बन्न सक्छ ।

हरि

आफ्नो पहिचानको संकटमा दमित पात्रको छटपटीमा केन्दि्रत छ, हरि । यथार्थवाद र विसंगत कथावाचनले यसलाई सम्झनालायक बनाएको हो । त्यसमाथि निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले पात्रहरुको मनोवैज्ञानिक उल्झनलाई प्रधानता दिएका छन् । हरिलाई अब्बल कोटिमा दर्ज गराउन अभिनेता विपिन कार्कीको भूमिका विशेष छ । उनलाई चार फरक चरित्रमा देख्न पाइन्छ । नेपाली दृश्यभाषा समृद्ध बनाउन हरिको उल्लेखनीय योगदान रहनेमा सन्देह छैन ।

साइँली

चोरचार र जोडजाड गरिएका सिनेमाको लस्कर लागेको विडम्बनाबीच साइँलीले राहत दिन्छ । कथा, पात्र, उनीहरुको बोलीचाली, भावभंगिमा, परिवेशसमेत रैथाने छ । अप्रत्यक्ष रुपमा सिनेमाले गाउँले महिलामा बढ्दो आत्मविश्वास र सशक्तीकरणलाई प्रतिविम्बित गरेको छ । कथावाचन हास्यरसको भएकाले सिनेमा हेरिरहँदा झर्को लाग्दैन । रामबाबु गुरुङ निर्देशित साइँलीमा मेनुका प्रधान, दयाहाङ राई, गौरव पहारीको अभिनय छ । 

प्रसाद

निःसन्तान  दम्पतीको आन्तरिक र बाह्य द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण भएको हो, प्रसाद । पात्र र उनीहरुको आम दर्शकको भोगाइसँग अपनत्व हुनु यसको मुख्य विशेषता हो । दिनेश राउत निर्देशित सिनेमामा जातीय छुवाछूत, वर्गीय असमानता र महिला हिंसालाई पनि उनिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठको जोडी झर्रो लाग्छ ।

रोमियो एन्ड मुना

हामीकहाँ प्रेमप्रधान सिनेमा टन्नै बन्छन्, तर पर्दामा देखाइने प्रेम दर्शकसम्म प्रवाह हुन हम्मेहम्मे पर्छ । रोमियो एन्ड मुनाले यही रित्तोपना धेरै हदसम्म पूर्ति गर्‍यो । निर्देशक/लेखक नरेशकुमार केसीले पात्र र उनीहरुको आनीबानी आफ्नै परिवेशबाट टिपेका छन् । पात्रको आन्तरिक भोगाइलाई महत्त्व दिइएको छ । नेपाली सिनेमामा सम्भवतः पहिलो पटक कम्प्युटर जेनेरेटेड इम्याजिनरी (सीजीआई) यही फिल्ममा देख्न पाइन्छ । सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ मुख्य भूमिकामा छन् ।

प्रकाशित: चैत्र २५, २०७५