वर्ष ०७५ का ५ आख्यान

रणहार

भक्तपुरका अन्तिम राजा रणजित मल्ललाई नायक बनाएर लेखिएको ऐतिहासिक आख्यान हो, रणहार । आधा शताब्दी राजपाठ सम्हालेका ती राजाले विसं १८२६ मा गोरखाली सेनासमक्ष आत्मसमर्पण गरेको पृष्ठभूमिमा उपन्यास उभिएको छ । जम्मा १ सय ५१ पृष्ठको योगेश राजकृत यो उपन्यास अठारौँ शताब्दीको काठमाडौँ उपत्यकालाई चिहाउने आँखीझ्यालसमेत बनेको छ । रणजितको जीवनकथासँगै भव्य राजप्रासाद, पाँचतले मन्दिर, कलाकौशल, सम्पदा र सांस्कृतिक वैभवले पुरानो भक्तपुरको उज्यालो तस्बिर आएको छ । भक्तपुरको बनारस र तिब्बतसम्मको सांस्कृतिक र आर्थिक सम्बन्धको झलकसमेत छ । साहित्यिक लालित्यका हिसाबमा श्रेष्ठ यो उपन्यास इतिहासबोधमा पनि अग्लो छ ।

पाई

सोचेभन्दा देखेको, देखेभन्दा भोगेको अमेरिका छ, पाईमा । कथाशिल्पी राजवले अर्को अमेरिकाको दर्शन गराउने २० थान डायस्पोरिक कथा जोरजाम गरेका छन् यसमा । सुखको संसार ठानिएको अमेरिकामा कथापिच्छे दुःखका भवसागर भेटिन्छन् । अमेरिकाको नेपाली समाजका विचलन, विघटन र विरोधाभासको कथा भन्नुमा लेखकको दिलचस्पी देखिन्छ । सामाजिक यथार्थलाई प्रचलितभन्दा भिन्न कोणबाट हेरिएका 'रिटर्न टिकट', 'अनि माक्र्स', 'थ्रेडिङ' आदि कथाले गजबको सन्तुष्टि दिन्छन् । यसभित्र सौन्दर्यको मूल्यलाई समकालीन सन्दर्भ र परिवेशअनुसार ग्रहण गरेका समाजशास्त्रीय कथा छन् ।

विचारको लास

मान्छेभित्र लुकीछिपी बसेका छल, कपट र क्रूरता, मानसिक छद्म, दोहोरो-तेहेरो नैतिकतालाई कथाको 'इपिसेन्टर' बनाएको छ, विचारको लासले । असामान्य चरित्र चित्रण, मानव जीवनको अकर्मण्यता, मूल्यहीनता र नैतिक पतनका साथै क्रूर यथार्थको पटाक्षेप, विसंगतिको नाटकीय चित्रणमा उस्ताद छन्, कथाकार ध्रुव सापकोटा । सरल भाषामा मधुर र ग्राह्य व्यंग्य गर्न सक्नु लेखकको खुबी हो । स्वीकार, समर्थन र स्वीकृतिभन्दा पर कवि चेतनाले कोरिएका उनका कथाहरु वक्रोक्तिमय छन् । संग्रहका २१ कथामध्ये 'फ्रिडम हाउस', 'विचारको लास', 'गणतान्त्रिक माछा', 'मरेको मान्छेका नाममा खानेहरु', 'गरिबलाई भोक लाग्दैन' आदि अब्बल कथा नेपाली साहित्यकै उपलब्धि हुन् ।

मालिकहरुको मधेस

कथ्य, भाव र दृष्टिकोणका हिसाबले कलात्मक राजनीतिक आख्यान हो, मालिकहरुको मधेस । तराई-मधेसका भुइँमान्छेमाथि दशकौँदेखि हुँदै आएको अन्याय, अत्याचार, विभेद र शोषणको मार्मिक कथाव्यथा लेखेका छन्, गणेश अधिकारीले । उर्बर भूमिको स्वामित्वमा पहाडेका साथै मधेसकै ठूलाठालूको एकाधिकारका कारण बहुसंख्यक भूमिपुत्र भूमिहीन सुकुम्बासीको हैसियतमा छन् । पुलकितलाल चौधरी नामक पात्रको जीवनदृष्टिबाट उपन्यासले पददलित भएर बाँच्न अभिशप्त नागरिकमाथि गहिरो सहानुभूति दर्शाएको छ । घुर ताप्दै बस्ने गाउँको भेला, अगहन, साप्ताहिक हाटबजार आदि आञ्चलिकताको प्रस्तुति आधिकारिक छ ।

अघोरी

नेपाली समाजको बनिबनाउ मान्यतामा लेखकीय हस्तक्षेप हो, अघोरी राजेन्द्र पराजुलीका छोटाछरिता १७ कथा समेटिएको सँगालोका अधिकांश रचना समसामयिक राजनीतिका कुरुपता र जडताको केन्द्रबाट टिपिएका छन् । राजनीतिक विडम्बनालाई खुइल्याउने सचेत आलोचकीय दृष्टि छ कथामा । सामाजिक कुरीति, मानवीय मनोविज्ञान, जीवनका पीडा र समय-सन्दर्भलाई मूलकथ्य बनाइएको छ । सार्वभौम र वैयक्तिक प्रतीकको प्रयोग उनको कथाकारिताको 'सिग्नेचर' हो । 'रातो छाता', 'माकुरो', 'अघोरी', 'हुरी', 'न्यानो' आदि कथा सफल छन् । कथालाई 'ट्रिकी इन्ड' मा होइन, 'ओपन इन्ड' छाडिदिने कथाकारको शैली मौलिक लाग्छ ।

प्रकाशित: चैत्र २५, २०७५

ट्याग: किताब