वर्ष ०७५  : कला न व्यापार

- गोकर्ण गौतम

सिनेमा : ०७५


वर्ष ०७५ मा ९४ फिल्म रिलिज भइसके, दुई बाँकी छन् । नेपालको जनसंख्या तीन करोड हाराहारी छ । अनौपचारिक अध्ययन भन्छन्, यसमध्ये तीन प्रतिशत पनि फिल्म हेर्न नियमित हल पुग्दैनन् । बजार साँघुरो छ । तर हप्तैपिच्छे सरदर दुई फिल्म हलमा लाग्छन् । अनि लगानी उठोस् कसरी ? प्रदर्शितमध्ये छक्का-पञ्जा ३ सुपरहिट भयो । जय भोले  र नाईं नभन्नु ल ५  ले धेरथोर नाफा कमाए । अरु एकाध फिल्मले जेनतेन लगानी उठाए । बाँकी सबै घाटामा ।

गत साउनबाट सरकारले चलचित्र विकास बोर्डमार्फत काठमाडौँ उपत्यकामा बक्स अफिस प्रणाली जडान गर्‍यो । फिल्मको व्यापार पारदर्शी हुने अपेक्षा थियो । तर निर्माता बक्स अफिसको यकिन तथ्यांक सार्वजनिक गर्न अनुदार देखिए । रिलिजका दौरान लाखौँ-करोडौँ कमाएको ढोल पिटाउने, केही सातापछि पुर्पुरोमा हात राख्ने प्रवृत्ति अझ मौलायो । बक्स अफिसका 'कन्सल्ट्यान्ट' मनीष पण्डितकै शब्दमा, नेपाली फिल्मको व्यापार अत्यन्त निराशाजनक छ । भन्छन्, "बाहिर प्रचार हुने आँकडा र वास्तविक व्यापारबीच आकाशपातालको फरक छ ।" तर बजार धूलीसात भएको चिन्ता कसैलाई देखिन्न । 'मुर्गा' फसाउने संस्कार फस्टाउँदो छ । शनिबार गोपीकृष्ण हलमा जम्मा भीडको तस्बिर फेसबुकमा हालेर निर्माताहरु आत्मरतिमा रमाउँदा छन् । आइतबारदेखि हल सुनसान ।

नेपाली फिल्मको औसत लगानी एक करोड २० लाख रुपैयाँ पुगेको छ । नेपालभित्रबाटै यति लगानी उठाउन ३ करोड ६० लाख कलेक्सन गर्नैपर्छ । एकातिर हल कम छन्, अर्कोतिर देशी/विदेशी फिल्मसँग जुध्नुपर्छ, हल बाँडिन्छन् । व्यापार घट्ने भइहाल्यो । तर बजारको वस्तुगत अध्ययन र कमाइको नयाँ स्रोत नपहिल्याई लगानी खन्याउनेहरु यस वर्ष पनि आए, गोजी रित्याए, गए । जस्तो, तीन करोड रुपैयाँ खर्चेर गोमा विष्टले रणवीर  बनाइन् । प्रमोसनको पैसा पनि उठेन । 'निर्देशकले डुबाए' भन्दै रोइलो मच्चाइन् । तीन करोड लगानीकै अर्को फिल्म ब्रेकअप  पनि सुपरफ्लप भयो । अनमोल केसीको क्याप्टेनले समेत लगानी उठाएन । अर्का स्टार प्रदीप खड्का अभिनीत रोजका निर्माता रिलिजपछि गुमनाम भए । पारिश्रमिक नपाएपछि कलाकारले उजुरी गरे । पाँच करोड खर्चिएको द म्यान फ्रम काठमाडौँले रिलिजको दिनबाटै दर्शक खडेरी सामना गर्नुपर्‍यो ।

हालत यस्तो छ । तर कलाकार र निर्देशकको पारिश्रमिक अस्वाभाविक ढंगले बढेको बढ्यै छ । रामबाबु गुरुङले साइँलीको लेखन/निर्देशनका लागि ४० लाख रुपैयाँ लिए । कृ  फ्लप हुँदा पनि अनमोलको पारिश्रमिक ५० लाख पुगेको चर्चा चल्यो । प्रदीप ४० लाख, दयाहाङ राई र विपिन कार्कीले २० लाख लिन थाले । हिरोइनमा चाहिँ साम्राज्ञीराज्यलक्ष्मी शाह अगाडि छन्, उनले मारुनीमा १६ लाख लिइन् । यो वर्ष नेपाली फिल्ममा कलाकारको पारिश्रमिक बढ्नुबाहेक अर्को उल्लेख्य प्रगति भएन । सुन्दा तीतो लागे पनि सत्य यही हो ।

व्यापार त डाँवाडोल भइहाल्यो नै, सिर्जनात्मक पाटोमा पनि नेपाली फिल्म शिथिल रहे यो वर्ष । हरिले कथावाचनमा नवीन प्रयोग गर्‍यो । मौलिक कथा र कलाकारको जीवन्त अभिनयले बुलबुललाई चौतर्फी प्रशंसा दिलायो । 'इन्डी- फिल्म' चक्कर  हलमा प्रदर्शन हुन पायो । बाँकी दीर्घकालसम्म प्रभाव पार्ने ल्याकत भएका फिल्म बनेनन् । पटकथालाई चरम बेवास्ता गर्ने, कथित स्टारडममा भर पर्ने नियतिले यसपटक पनि निरन्तरता पायो । गीत खिच्न कि हिमाल धाउने, कि युरोप उड्ने क्रम रोकिएन ।

छक्का-पञ्जाको धङधङीबाट पूरापूर ग्रस्त भयो फिल्म उद्योग । त्यो भनेको, जसरी-तसरी हँसाउने, त्यो पनि दृश्य होइन, संवादबाट । पूर्णेन्दु झा, दीपेन्द्र के खनालजस्ता फिल्मको औपचारिक अध्ययन गरेका र खगेन्द्र लामिछानेजस्ता सिर्जनशील भनिएकाले पनि यही बाटो रोजे । थ्रिलर जनराको सुनकेशरीमा पनि जबर्जस्ती कमेडी हाबी हुँदा दर्शक निराश भए । हिट हुने बिकाउ सूत्रको पछि दौडेर फिल्मको कलात्मक पाटो कहिले उँभो लाग्छ ? नेपाली फिल्ममेकरले कहिल्यै आफैँसँग प्रश्न गरेनन् ।

चार गीत, एकाध एक्सन, रोमान्स, रोनाधोना घोलघाल पारिएका बासी स्वादका फिल्मको पनि लर्को लाग्यो । आर्यन सिग्देलले यही शैलीलाई आदर्श मानेर कायरा बनाए तर साख बचाउन सकेनन् । साम्राज्ञीको इन्टु मिन्टु लन्डनमाले पनि नेपालबाटै लगानी उठाउन सकेन । यस वर्ष अर्को लाजमर्दो संयोगको साक्षी हुनुपर्‍यो । केही महिनाको अन्तरमा कोहलपुर एक्सप्रेस  र झमकबहादुर  रिलिज भए । दुवैको कथा उही । किनभने स्रोत एउटै थियो, हिन्दी फिल्म मुम्बई एक्सप्रेस । थाई फिल्म पी मकबाट उडाएर रामकहानी  बनाइयो । गोपी, खाग, कथा ७२, कागजपत्रजस्ता स्थानीय कथामाथि बनेका फिल्म पनि कमजोर सावित भए । अनि, यस वर्ष एउटै नेपाली फिल्मले प्रतिष्ठित विदेशी फेस्टिभलमा सानदार उपस्थिति जनाउन सकेनन् ।

यो वर्ष त यस्तै भइहाल्यो । बनिरहेका र बन्ने क्रममा रहेका फिल्मलाई नियाल्ने हो भने ०७६ मा पनि यही निम्छरो नियतिले निरन्तरता पाउने सम्भावना बलियो छ । बजारको वस्तुगत विश्लेषण र कलाप्रतिको इमानदारी फिल्ममेकरमा अझै देखिँदैन । प्रायः क्षणिक लाभ र प्रायोजित प्रशंसाको मार्गमा अग्रसर छन्, जुन विडम्बना हो । यस्ता प्रवृत्ति अन्त्यबिना नेपाली फिल्म क्षेत्र समृद्ध होला र ?

प्रकाशित: चैत्र २५, २०७५