वर्षव्यक्ति टिप्पणी : अभियानले बनायो व्यक्तित्व

- भास्कर गौतम

नेपाल वर्षव्यक्ति ०७५ : दुर्गादेवी पन्त


निर्मला पन्त कुनै अमूक कुनामा बलात्कारपछि हत्या गरिएकी पीडित बालिकाको नाममा सीमित छैन । निर्मला प्रतीक हो । समाजमा विद्यमान लैंगिक असमानताको प्रतीक । सन्त्रासमय वर्तमान र असुरक्षित भविष्यको बोझमा बाँच्न अभिशप्त बालिकाहरुको कठोर सामाजिक यथार्थको प्रतीक । नेपालका नारीले जुगौँदेखि भोगेको अपहेलना, तिरस्कार र हत्या-हिंसाको प्रतीक । न्यायको खोजीमा उठेको समवेत आवाजको प्रतीक । राज्य ठालूतन्त्रलाई प्रश्रय दिने विभेदकारी संयन्त्र रहेको दृष्टान्तको प्रतीक ।

निर्मला वरिपरि बनेका प्रतीकले आम मान्छेको जनभावना बोक्यो । त्यहीँ जनभावना निर्मलाका लागि न्याय खोज्ने सामूहिक अभियानमा परिणत भयो । निर्मलाकी आमा दुर्गादेवी यही अभियानको केन्द्रमा रहिन् ।

नेपालले दुर्गादेवीलाई वर्षव्यक्ति घोषित गरिरहँदा लैंगिक समानता र न्यायको अभियान नै ०७५ को मूल सन्देश रहेको ठम्याएको छ । दुर्गादेवीको छनोटमार्फत यस्तो सन्देश दिइरहँदा निर्मला काण्ड वरिपरि निर्मित तमाम प्रतीक थप अर्थपूर्ण बनेका छन् । दुर्गादेवीको छनोटसँगै आम मान्छेको आवाज दबाउन त्यति सजिलो नरहेको सन्देश प्रवाह भएको छ । दुर्गादेवीको छनोटले आम मान्छे वरिपरि गुञ्जिरहेको लैंगिक समानता र न्यायको अभियान छरिएको छ, कमजोर छैन भन्ने देखाउँछ ।

निर्मलाका लागि न्याय अभियानले पछिल्लो ९ महिनामा धेरै महत्त्वपूर्ण संकेत दिएका छन् । ती संकेतले समवेदनाको शक्तिमा अन्तर्निहित ताकतबारे केही भनिरहेछ । कानुनी शासन निर्माण गर्न राज्य च्यूत भएको अवस्थामाथि प्रश्न उठाइरहेछ । यौनजन्य अपराध न्यायको अभियानमा रुपान्तरित हुँदा समाजमा जेलिएको जटिलताबारे भनिरहेछ ।

समवेदनाको शक्ति

हिजो दुर्गादेवी पानीपुरी बेच्ने सामान्य महिलाको नाम थियो । आज दुर्गादेवी न्यायको खोजीमा निस्केको आवाज हो । हिजो दुर्गादेवीले मातापिताको वियोग सानैमा खेप्दा परिवारभित्रकै ठूलाबाले हुर्काए । धेरथोर पढाए । आज दुर्गादेवीकी छोरी निर्मलाको बलात्कारपछि हत्या हुँदा दुनियाँले हातेमालो गरे । उनको मलीन स्वरमा आफ्ना स्वर थपेर आवाज बुलन्द बनाए । उनको वेदनामा समभाव राख्ने कोसिस गरे, न्यायका लागि । भोलि आफ्ना छोरीचेलीले निर्मलाले भोगेको कालगति खेप्नु नपरोस् भनेर । तथापि दुर्गादेवीको दुःख सिलसिला जारी छ ।

हिजो दुर्गादेवीका ठूलाबाले उनी सोझी भएकाले देउरानी/जेठानी नभएको घर खोजेर यज्ञराज पन्तसँग बिहे गरिदिए । देउरानी/जेठानी त थिएनन्, तर उनी पुरुषप्रधान सोचको सिकार भइन् । छोरा खोज्ने परिवारले उनले छोरी जन्माएको रुचाएन । लोग्नेले दुःख दिन थाले । जेठी छोरी मनीषापछि अर्की बच्ची निर्मला जन्मँदा दुःख थप बढ्यो । मनीषा र निर्मलापछि तेस्रो बच्ची सरस्वती आउनुपूर्व नै यज्ञराजले अर्को बिहे गरे । हिजो उनका छोरीहरु जन्मँदै पितृसत्ताको सिकार भए । छोरा नजन्मेको बोझले उनी थिचिएकै थिइन् । आज अरु कसैको छोराले उनको छोरी शरीरमाथि ताण्डव मच्यायो । त्यसपछि छोरीलाई निष्प्राण बनायो । निर्मलाको वीभत्स हत्या गरिरहँदा छोरीले अन्तःस्करणदेखि गुहार मागेको आवाजले आज दुर्गादेवीलाई झस्काएको छ । पुरुषमा हाबी पिशाच मानसिकता र त्यस्तो मानसिकतालाई मलजल गर्ने राज्य व्यवस्थाविरुद्ध बोल्ने आवाज उनले भेट्टाएकी छिन् ।

निर्मलाको नृशंस हत्याको शूलले दुर्गादेवीको मन बोझिलो छ । जुन पुरुषप्रधान चरित्रले उनको मनमा शूल रोप्यो, त्यस्तो चरित्रलाई मलजल गर्ने व्यवस्था किन छ ? निर्मलाका लागि न्याय मागिरहँदा दुर्गादेवीले उठाएको मूल प्रश्न यहीँ हो । पुरुष-स्वार्थको संरक्षण र सम्वर्द्धन गर्ने सत्ता उत्तरदायी भएर प्रस्तुत होस् । आफूले गरेको गल्तीको माफी मागोस् । आज दुर्गादेवीले खोजेको यहीँ हो । निर्मलालाई के भएको थियो, त्यो थाहा होस् । ताकि निर्मलालाई जे भयो, अरु कसैलाई त्यस्तो नहोस् । न्यायको खोजीमा भौँतारिने, पटक-पटक आफ्नो व्यथा सुनाउने अवस्थाबाट अरु गुजि्रनु नपरोस् । लामो समय निर्मला हत्याको छायाँमा बस्न उनलाई कहाँ मन छ र ! दुर्गादेवीलाई थाहा छ, यदि निर्मलाको घटनालाई लिएर न्याय पाइनन् भने उनले भोगिरहेको अपमानले नयाँ कथ्य रच्न सक्दैन । उनको आत्मसम्मान पुनः स्थापित हुन गाह्रो हुन्छ । नेपालका छोरीचेलीले स्वतन्त्र र सुरक्षित महसुस गर्न सक्दैनन् । त्यसैले दुर्गादेवीमा सिञ्चित समवेदनाको शक्ति अर्थपूर्ण छ । त्यसैले निर्मलाहरुको सुनिश्चित भविष्यका लागि यस अभियानको सार्थक रुपान्तरण सबै स्वतन्त्रताप्रेमीको कार्यभार हो ।

विशिष्ट न्याय प्रक्रिया

जबसम्म पीडितको विशिष्ट अवस्थालाई सम्बोधन गर्ने प्राथमिकताअनुसार एकीकृत कानुनी प्रक्रिया निर्माण गर्नेतर्फ पहल गरिँदैन, तबसम्म यौनहिंसाबाट प्रताडितले न्याय पाउन गाह्रो छ ।

कानुनी परिकल्पनामा यौनजन्य अपराधको अपेक्षित नतिजा 'न्यायिक सफाइ' हो । तर वैश्विक स्तरमै यौनजन्य अपराधको न्याय दिन कानुन असफल भएका दृष्टान्त छताछुल्ल छन् । संसारभर फैलिएको मिटु अभियान कानुनी असफलताको पछिल्लो अभिव्यक्ति हो । पीडितलाई सशक्त बनाउने,  सम्मान र सुरक्षा दिलाउने, यौनजन्य अपराधमा निहित विशिष्टता र जटिलताको सम्बोधन गर्ने क्षमता न्यायिक सफाइले राख्दैन । बलात्कारको सन्दर्भमा 'जबर्जस्ती करणी' के हो, के होइन, सहमति के हो र यौनजन्य अपराधका पीडित को हुन् जस्ता आधारभूत प्रश्न राजनीतिक, सांस्कृतिक र सामाजिक प्रभाव वरिपरि बन्ने कथ्यको सिकार भएको छ । सामान्य कानुनी प्रक्रियाले यस्तो अवस्थालाई चिरेर 'न्यायिक सफाइ' दिन सकिरहेको छैन । जबसम्म पीडितको विशिष्ट अवस्थालाई सम्बोधन गर्ने प्राथमिकताअनुसार एकीकृत कानुनी प्रक्रिया निर्माण गर्नेतर्फ पहल गरिँदैन, तबसम्म यौनहिंसाबाट प्रताडितले न्याय पाउन गाह्रो छ ।

डीएनए परीक्षण गर्ने, छानबिनलाई बलियो बनाउने तथा कारबाहीका लागि उचित प्रमाण बटुल्ने सोचबाट मात्र न्याय दिलाउन सकिन्न । यौनजन्य अपराधलाई फरक तरिकाले हेरिनुपर्छ । उदाहरणका लागि, प्रहरी अनुसन्धानमा हुने त्रुटि प्राविधिक क्षमता अभावमा मात्र हुँदैन । प्रहरीले पाउने तालिममै समस्या छ । न्युयोर्क प्रहरी विभागका डेपुटी कमिसनर ज्याक मेपल्स अपराध अनुसन्धानलाई तालिममा निहित ज्ञानको चक्रले प्रभावित पार्छ भन्छन् । उनको बुझाइमा पीडितलाई न्याय दिन अपराधमाथि अनुसन्धान हुन छाडिसक्यो । मेपल्सको अनुभवमा, 'पुलिस एकेडेमीबाट निस्किएका भर्खरका जवानलाई त्यस्ता तालिम अधिकृतले छानबिन गर्न र रिपोर्ट बनाउन प्रशिक्षण दिन्छन्, जोसँग त्यस्तो काम गर्ने क्षमता र अनुभव सीमित छ । नयाँ जवानले अनुभवहीन वा कम प्रशिक्षित निरीक्षकबाट सिक्छन् । परिणाम, खासै क्षमता नभएका जवानको संख्या ठूलो छ, जो कम जानेकाहरुबाट प्रशिक्षित छन् ।' यस्तो जनशक्तिले पीडितको अपेक्षाअनुसार छानबिन गर्न सक्दैन । मेपल्सले भनेजस्तै प्रहरीले प्राप्त गरिरहेको तालिममै रचनात्मक हस्तक्षेप गर्न सकिएन भने पीडितको पक्षमा अनुसन्धान सम्भव छैन ।

अर्को उदाहरण । घटनालगत्तै पीडितको विशिष्ट आवश्यकता सम्बोधन गर्ने किसिमको न्यायिक प्रक्रिया हामीसँग छैन । न्याय प्रणालीभित्र त्यस्तो विशिष्ट व्यवस्था नगरेसम्म यौनजन्य अपराध निस्तेज गर्न सकिँदैन । अहिलेसम्म विशेष प्राथमिकताको नाममा सरकारले केवल छानबिन समिति गठन गर्छ । निर्मला काण्ड छानबिन गर्न पनि सरकारले सात-सात वटा समिति गठन गर्‍यो । प्रत्येक समितिका प्रतिवेदनले घटनाको सतह मात्र कोट्याए । कमजोर तरिकाले घटनाबारे प्रतिवेदन लेखे । बस्, काम सकियो ।

कानुन कार्यान्वयन गर्ने वृत्तबाहिर सबैलाई लाग्दो हो, छानबिन समितिका प्रत्येक सदस्यले सबै प्रमाण जुटाउनेछन् । कुनै सुराक छाड्ने छैनन् । त्यस्ता समितिका प्रत्येक सदस्यलाई थाहा छ, उनीहरुको मिसन प्रायशः अव्यवस्थित र भद्रगोल हुन्छ । राजनीतिक स्वार्थबाट उत्तिकै प्रभावित हुन्छ । समितिका सदस्यहरु प्रशासकीय वा निरीक्षकीय अक्षमताबाट तत्कालै विरक्तिन्छन् । त्यसैले छानबिन समिति गठन गर्नु घटनालाई विशेष प्राथमिकता दिनु होइन । प्राथमिकता दिन पीडितको आवश्यकता सम्बोधन गर्ने विशिष्ट न्याय प्रणाली चाहिन्छ, जसले पीडितको सुरक्षालाई न्याय प्रक्रियाको केन्द्रमा राख्छ ।

पैरवीको सीमा

दुर्गादेवी चाहन्छिन्, निर्मलाले न्याय पाउने अभियानले भविष्यमा अरु निर्मलाहरु नजन्मने अवस्थातर्फ ध्यान दिओस् । यसका लागि शक्तिको जालझेल, सत्ताको डरत्रास र महिलालाई नपत्याउने पुरुषवादी सांस्कृतिक विचारग्रन्थिसँग लड्ने वातावरण बनाउनु छ ।

दुर्गादेवी अधिकारकर्मीसँग उत्तिकै आजित छिन् । उनले त्यस्तो साझा मञ्च खोजेकी थिइन्, जहाँ आफ्नो कथाव्यथा ढुक्कसँग भन्न सकियोस् । त्यस्तो मञ्च जहाँ उनी र अरुबीच समान व्यवहार होस्, सही र गलत खुट्याउने हेक्का अरुले पनि राखून् । त्यस्तो मञ्च जहाँ सबैले आफ्नो उत्तरदायित्व महसुस गरुन् ताकि पीडकलाई समेत जिम्मेवार बनाउन सकियोस् । समाजका ठालूहरु, बाहिरिया वा रमितेहरुले थप पीडित बनाउने वातावरणसँग जुध्न व्यावहारिक ऐक्यबद्धता होस् ।

तर दुर्गादेवीले खोजेजस्तो भइरहेको छैन । निर्मला काण्डपछि जाहेरी दिने अधिकारकर्मीले उनलाई थाहै नदिई जाहेरी दिए । पछि उनले जाहेरी सच्याइएको निवेदन हालिन् । केहीले 'दुर्गादेवीले मुद्दा फिर्ता लिइन्' भनेर हल्ला चलाए । हुन त निर्मलाका बाले अर्को बिहे गरेपछि दुर्गादेवी र छोरीहरुसँगै बसेनन् । तर लैंगिक समानताको वकालत गर्ने धेरै अधिकारकर्मी र सञ्चारकर्मीले पुरुषको आवाजलाई आधिकारिक तरिकाले प्रस्तुत गरे । जानीनजानी पुरुषप्र्रधान व्यवस्थालाई नै बलियो बनाउने समाचार सम्प्रेषण गरे । जब दुर्गादेवीले खुलेर बोल्ने मौका पाइन्, उनलाई कुरा फेरेको, बयान परिवर्तन गरेको बात लगाइयो । उनलाई लगाइएको आरोपको बोझ र उनको गाउँठाउँमा यो काण्डलाई लिएर भइरहेको चलखेलले दुर्गादेवी र उनका छोरीहरुलाई गाउँ निकाला गर्न खोजिँदै छ । वातावरण सन्त्रासमय छ ।

दुर्गादेवी चाहन्छिन्, निर्मलाले न्याय पाउने अभियानले भविष्यमा अरु निर्मलाहरु नजन्मने अवस्थातर्फ ध्यान दिओस् । यसका लागि शक्तिको जालझेल, सत्ताको डरत्रास र महिलालाई नपत्याउने पुरुषवादी सांस्कृतिक विचारग्रन्थिसँग लड्ने वातावरण बनाउनु छ । दुर्गादेवीको बुझाइमा, यौनजन्य अपराधविरुद्धको पैरवी ससाना खिचातानीमा अल्झियो भने त्यस्तो वातावरण निर्माण गर्न सकिन्न । अधिकारकर्मीले बेलैमा आफ्ना सीमा बुझे, कमजोरी देखे भने पीडितका आवश्यकताले प्राथमिकता पाउने प्रक्रियामा ध्यान पुग्छ । निर्मलाका लागि न्याय अभियानले नयाँ उचाइ लिन्छ । अनि दुर्गादेवीको मुखरित आवाजसँगै आम व्यक्तिको लडाइँ यसै खेर जादैन भन्ने सन्देश जानेछ ।

के तत्कालीन सत्ता यति निम्छरो छ, यसले बलात्कारीलाई सुरक्षित राख्न हजारौँ निर्मला र तिनका आमाहरुलाई असुरक्षित वातावरणमा बाँच्न अभिशप्त बनाउँछ ? दुर्गादेवीलाई आफ्नै जीवनकालमा यो प्रश्नको उत्तर बोलीमा होइन, व्यवहारमा पाउने आशा छ ।

अन्त्यमा, यौनजन्य अपराध रोक्ने उपायको खोजीतर्फ न्याय प्रक्रिया उन्मुख हुन 'न्यायिक सफाइ' को काल्पनिकीले मात्रै पुग्दैन । पीडितको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने प्रक्रियासँग न्यायिक प्रणाली गाँसिनुपर्छ । न्यायाधीशले यहाँ महफ्वपूर्ण भूमिका खेल्न सक्छन् । न्याय क्षेत्र सुधारको देखावटी गफभन्दा न्याय प्रक्रिया सुधार्ने साहसिक कामतर्फ न्यायाधीश लागे निर्मलाहरुले न्याय पाउने प्रक्रियाले नयाँ गति समात्छ ।

दुर्गादेवीले खोजेको निर्मलालाई न्याय हो । न्यायिक प्रक्रियामा निहित सुरक्षा हो । पुरुषप्रधान सांस्कृतिक भाष्यमा परिवर्तन हो । सन्त्रासमुक्त जीवन बाँच्ने नयाँ अध्यायको खोजी हो । के तत्कालीन सत्ता यति निम्छरो छ, यसले बलात्कारीलाई सुरक्षित राख्न हजारौँ निर्मला र तिनका आमाहरुलाई असुरक्षित वातावरणमा बाँच्न अभिशप्त बनाउँछ ? दुर्गादेवीलाई आफ्नै जीवनकालमा यो प्रश्नको उत्तर बोलीमा होइन, व्यवहारमा पाउने आशा छ । अन्यथा, उनको आवाजले हजारौँ स्वरलाई जोड्नेछ । त्यसले अरु धेरै पर्खालहरु भत्काउनेछ । 

यी पनि पढ्नुहोस् :

→ [सम्पादकीय] केन्द्रमा आम मानिस

→ नेपाल वर्षव्यक्ति ०७५ : दुर्गादेवी पन्त

प्रकाशित: चैत्र २४, २०७५