नेपाल वर्षव्यक्ति ०७५ : दुर्गादेवी पन्त

अविचलित आमा | न्यायको अथक खोजी


घरसामुन्ने स्कुल छ । स्कुल खुलेको दिन पानीपुरी बेच्थिन्, बिदाको दिन भारतको बनवासा बजार जान्थिन्, साइकलमा व्यापारीका सामान ओसार्थिन् । त्यही कमाइले बाँच्नुपथ्र्यो आफू र तीन छोरी । उनीहरुलाई पढाउनु पनि पर्‍यो । न पतिको साथ थियो, न त अन्य आफन्तको ।

कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई दुःख थियो तर मानसिक तनाव र यातना थिएन । त्यही बीच आयो, १० साउनको अँध्यारो दिन । १३ वर्षकी माइली छोरी निर्मला पन्त साथीको घर गएकी थिइन्, तर फर्किनन् । भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटियो, सामूहिक बलात्कारपछि हत्या भएको अवस्थामा ।

आवरणसहित तस्बिर : भवानी भट्ट


राज्यसँगको पहुँच शून्य थियो, आर्थिक अवस्था त्यत्तिकै नाजुक । पढाइ-लेखाइ नाइँ । छोरीको हत्यारा खोज्न प्रहरी गुहार्दा साथ होइन, अपमान र दुव्र्यवहार सामना गर्नुपर्‍यो । प्रहरी संयन्त्र नै अपराधी जोगाउन लागेजस्तो देखियो । जता पनि ठक्करै, ठक्कर । घटना सामसुम पार्न धम्की आयो, पैसाको प्रलोभन देखाइयो ।

समाजका तल्लो वर्गमाथि हुने हिंसा शक्ति र सम्पत्तिको आडमा यसरी नै दबाउन खोजिन्छ/दबाइन्छ । तर दुर्गादेवी न्यायका निम्ति चट्टानझैँ अडिग भइन्/भइरहेकी छन् । न्याय प्राप्तिका खातिर भुइँमान्छेको यस्तो अनवरत संघर्ष यसअघि हामीकहाँ सायदै देखिएको थियो । दुर्गादेवीको साहस राज्य प्रणालीमाथि कठोर खबरदारी मात्र होइन, सामाजिक न्यायको आन्दोलनका हकमा आदर्श पनि हो ।

निश्चय नै दुर्गादेवी एक्लै थिइनन् । उनको लडाइँमा देशभरबाट हजारौँ नागरिकले साथ दिए । सामाजिक सन्जालमा 'निर्मलाका लागि न्याय' अभियान चल्यो । सडकमा नाराजुलुस लागे । मैनबत्ती बालिए । अन्य उपायमार्फत पनि दबाब सिर्जना गरियो । राज्य पक्षबाहेक सबै एक भए ।

यी सबै आन्दोलनको केन्द्रमा चाहिँ उनै दुर्गादेवी थिइन्/छिन् । उल्टाखामबाट सुरु न्यायको लडाइँ बालुवाटार प्रधानमन्त्री कार्यालयसम्म आइपुग्यो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घरमै पुगेर अपराधी पत्ता लगाइछाड्ने आश्वासन दिए । दबाब कत्तिसम्म चुलियो भने प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले संसद्मै बोल्नुपर्‍यो । दुई तिहाइको सरकार र अन्य शक्ति-केन्द्र संकटमा परे । अर्थात्, सत्य र न्यायको सामथ्र्य सतहमा आयो, दुर्गादेवीका माध्यमबाट ।

उनलाई उदाहरणीय मान्नुपर्ने कारण अरु पनि छन् । छोरी पाएपछि पति यज्ञराजबाट बहिष्कृत हुनुपर्‍यो । तेस्रो सन्तान गर्भमै हुँदा यज्ञराजले अर्कै बिहे गरे । पुत्रविहीन भएकाले समाजमा घोचपेच र खिसिट्युरी भोग्नुपर्‍यो ।

तीन छोरीमध्ये निर्मला पढाइमा तेज थिइन्, मायालु पनि । बुढेसकालको सहारा बन्छिन् भन्ने आश थियो उनलाई । तर आज तिनै दिवंगत छोरीको न्यायका निम्ति भोक, तिर्खा, प्यास नभनी दौडनुपरेको छ । हत्यारा पत्ता लाग्दा पनि हुने भनेको मनको सन्तोष मात्र हो । तर उनको यात्रा अविराम छ । उल्टाखामस्थित घरको आँगनमा उनले नेपालसँग बह पोखेकी थिइन्, "त्यत्तिकै हारेँ भने मलाई त्यति धेरै माया गर्ने छोरीको आत्माले सराप्नेछ ।"

सात अध्ययन टोली गठन भए । अपराधी हत्यारा पत्ता लाग्ने छाँटकाँट छैन । प्रहरी नै दोषी पहिचानको सवालमा अलमल र शंकाको घेरामा छ । कति अधिकारकर्मी आए, गए ।

केही समययता आफूअनुकूल नबोलेको भन्दै कतिपय अधिकारकर्मीले तर्साइरहेको र पैसा खाएर मिल्न खोजेको आरोपसमेत लगाएको उनको गुनासो छ । "निर्मलाको पीडा म आमाजत्ति अरु कसलाई होला ? आफ्नै ज्यानपरान छाडेर हिँडेकी छु । तैपनि मलाई यस्तो यातना," उनले करुण स्वरमा भनिन्, "घरमा छोरा मान्छे छैनन् । फेरि चटपटे पसल चलाउने आँट छैन । मैमाथि हमला हुने डर छ । गाउँमा कसरी बस्नु ?" पति यज्ञराज कान्छी पत्नीसँग भाँसीमा बस्छन् ।

ज्यान सुक्दै गए पनि दुर्गाले सरकारबाट अहिलेसम्म क्षतिपूर्ति लिएकी छैनन् । भोलि जीविका कसरी चलाउने, टुंगो छैन । तर यो पिरलोभन्दा निर्मलाले न्याय नपाउलिन् भन्ने चिन्ताले सताउँछ उनलाई । "मैले मरेकी निर्मला निकाल भनेकी छैन । मार्नेलाई समातेर सजाय देऊ भनेकी हुँ," उनी भन्छिन्, "अरु छोरीहरुले निर्मला जसरी बलात्कृत भएर मर्न नपरोस् । मेरै आफ्ना दुई छोरी छन् । उनीहरुका लागि पनि लडिरहेकी हुँ ।"

यस वर्ष दैनिक सरदर तीन महिला बलात्कृत भए । अपराधीलाई कठघरामा उभ्याएर बलात्कार निमिट्यान्न पार्न पनि अरु धेरै दुर्गादेवीहरु चाहिएको छ, जसले लोभ र डरलाई ललकार्दै निसाफका लागि संघर्ष गर्छन् । निर्मला न्यायका निम्ति भएको आन्दोलन महिलामाथि हुने तमाम हिंसाको एकीकृत रुप हो भने दुर्गादेवीचाहिँ त्यही आन्दोलनकी अगुवा ।

यी पनि पढ्नुहोस् :

[सम्पादकीय] केन्द्रमा आम मानिस

→ वर्षव्यक्ति टिप्पणी : अभियानले बनायो व्यक्तित्व

 

प्रकाशित: चैत्र २४, २०७५