[सम्पादकीय] केन्द्रमा आम मानिस

- बसन्त बस्नेत

वर्ष ०७५ को केन्द्रमा को रह्यो भनी खोज्दै जाँदा हामी आम मानिसलाई पाउँछौँ ।

त्यो आम मानिस शक्तिकेन्द्रदेखि टाढा छ । अन्य कुरा यथावत् रहे पाँच वर्षमा चुनाव आउने गर्छ, जुन बेला ऊ आफ्ना प्रतिनिधि चुन्न मतदान केन्द्रको पंक्तिमा खडा हुन्छ । कर्मचारीदेखि सेना-पुलिसका तालुकदारलाई नमस्कार टक्रयाउँछ । तर राज्यबाट पाउने सुखसुविधा त के, न्यूनतम न्यायबाट अक्सर वञ्चित छ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याले हाम्रो राज्य संरचनाको पोल फेरि एकपल्ट खोलिदियो । साउनको त्यो हत्याकाण्डले देखायो- वर्चस्वशाली, तिनको नाता या संगतमा नरहेका आम मानिसका लागि हाम्रो लोकतन्त्र अझै दुर्गम छ ।

तर प्रसंग यत्तिमा सकिँदैन, सकिएन । निर्मला काण्डको अनुसन्धानमा सुरक्षा निकायको गम्भीर गल्ती देखिए पनि समयमा कारबाही नहुँदा पूर्वदेखि पश्चिमसम्मका, राजधानीदेखि मधेससम्मका नागरिकले आक्रोश व्यक्त गरे । सुरुमा फेसबुक/ट्वीटरमा पोखिएको त्यो आक्रोश बिस्तारै सडकतर्फ अवतरित भयो । यो अभियानमा सबैभन्दा मुखर रूपमा उदाइन्, उनै निर्मलाकी आमा । शोक र सन्तापका बीच दुर्गादेवी पन्तले आफ्नी छोरीका लागि लडेको न्यायको  लडाइँ आजको प्रतिनिधि नागरिक संघर्ष हो ।

त्यसैले वर्षव्यक्ति- उनै दुर्गादेवी । शिक्षादीक्षा, चेतना र न्यूनतम अवसरबाट वञ्चित सुदूरपश्चिमकी एक गृहिणी । हामी यो बेला भुइँका ती असंख्य वञ्चित मानिसलाई सम्झिरहेका छौँ, जो लोकतन्त्र, मानव अधिकार र न्यायको शाब्दिक अर्थ नबुझे पनि तिनको प्राप्तिका लागि आफ्नो हिस्साको संघर्ष गर्दैछन् ।

नेपाल वर्षव्यक्ति-०७५ का लागि हामीले कान्तिपुर पब्लिकेसन्सका विभिन्न प्रकाशनबाट पाठकलाई आह्वान गरेका थियौँ । म्यागजिनको अनलाइनमार्फत अभिमत संकलन चल्यो, जसमा इच्छुक आवेदकदेखि सर्वसाधारणको ओइरो लाग्यो । यो अनलाइन सर्वेक्षणको रोचक पक्ष- शक्तिकवचबाट घेरिएर बसेका 'खास मानिस' ले कम मत पाएका छन्, बरु आफ्नै बलबुतामा राष्ट्रका लागि सत्कर्म गर्नेहरू अगाडि देखिएका छन् ।

यसको सन्देश स्पष्ट छ- जसको आवधिक जनादेश पाएर शक्ति अभ्यास गर्ने ठाउँमा हाम्रा प्रतिनिधि पुगेका छन्, अब तिनलाई उपेक्षा गर्न मिल्दैन । निर्मलालाई न्याय माग्दै चलाइएका ह्यासट्याग अभियान हिजोआज केही मत्थर देखिन्छन्, तर ती कुनै पनि बेला जाग्ने सम्भावना जीवित देखिन्छ ।

राजनीतिक क्रान्तिको याम सकियो भनेर समृद्धिको मार्गचित्रमा नीतिनिर्माताहरू व्यस्त होलान् । तिनले बुझे हुन्छ- तीन दशकसम्म मेलम्चीको पानी आउला भनेर धूलो-हिलो सहेका सर्वसाधारण मन्त्रालय र इटालेली कम्पनीको नयाँ कथा सुनिरहन बाध्य नहुन सक्छन् । अस्पतालकै अगाडि ट्याक्सीबाट खसालेर मारिएका बिरामीका आफन्तलाई संविधानमा लेखिएको स्वास्थ्यको मौलिक हक पढ्ने धैर्य नहुन सक्छ । हुरीले उडाएका छाना र नाना खोज्दै भौतारिएको मधेसलाई तत्कालीन उद्धारसँगै नागरिकताको न्याय चाहिएको छ । त्यो न्याय, त्यो अवसर र त्यो अपनत्वबोध कर्णालीलाई चाहिएको छ । विकट बस्तीदेखि स्वयं राजधानीका वञ्चितलाई पनि चाहिएको छ ।

आम नागरिकमा बढ्दै गएको आक्रोशलाई आर्थिक वृद्धिका आँकडा देखाएर थुम्थुम्याउन सकिने सम्भावना  कम छ ।

वर्ष ०७५ को सन्देश यही हो । निर्मलाले न्याय नपाएको वर्षले राज्यका उपल्ला निकायहरूमा बढ्दै गएको अख्तियार दुरुपयोग एकसाथ खुलासा गर्छ । समय छँदै सुझबुझपूर्ण निर्णय लिन माथिकाहरूलाई कसले रोकेको छ ?

यो पनि पढ्नुहोस्

→  नेपाल वर्षव्यक्ति २०७५ : दुर्गादेवी पन्त

वर्षव्यक्ति टिप्पणी : अभियानले बनायो व्यक्तित्व

प्रकाशित: चैत्र २४, २०७५