पत्रिका खुलाउन जनता सडकमा

- हरिराम जोशी

विराटनगर रघुपति जुटमिलको एउटा कोठामा वायरलेस सेट राखेर प्रजातन्त्र रेडियो नेपाल  स्थापना भयो, २८ मंसिर २००७ मा । त्यसले सुरुमा राणा शासनको अन्त्यका लागि सशस्क्र युद्धमा होमिएको मुत्ति सेनाको हौसला बढाउन विभिन्न कार्यक्रम प्रसारण गर्थ्यो । त्यो रेडियोका संस्थापक थिए, तारिणीप्रसाद कोइराला । प्रजातन्त्र आगमनसँगै त्यो रेडियो २० चैत ००७ मा विराटनगरबाट काठमाडौँ सारियो । राणाका छोराछोरी पढ्ने सिंहदबारस्थित स्कुल भवनबाट यसको प्रसारण सुरु भयो । त्यसको नाम फेरेर १५ असार ००८ मा अहिलेको रेडियो नेपाल  बनेको हो । नाम फेरिएपछि रेडियो नेपालको डाइरेक्टर तारिणीप्रसाद कोइराला भए भने सूचना विभागका डाइरेक्टर बालकृष्ण सम, नातिकाजीलगायत उनका सहयोगी थिए । रेडियो नेपाल अहिले पनि त्यही भवनमा छ ।

सूचना प्रवाहमा सानो घेराभित्र कैद हुनुपरेको र प्रजातन्त्र उन्नत भइनसकेको अवस्थामा त्यसलाई बलियो बनाउन प्रजातन्त्र रेडियो नेपालले विराटनगरको आवाज काठमाडौँ लिएर आएथ्यो । प्रजातन्त्र बहालीसँगै निजी छापाको रुपमा ७ फागुन ००७ देखि नेपाली आवाज  प्रकाशन सुरु भयो ।

००८ तिर विराटनगरबाटै तारिणीको सम्पादकत्वमा आँधी, दियालो  पत्रिका प्रकाशन हुन्थे । प्रजातन्त्र रेडियो नेपालसँगै दियालो पत्रिका पनि काठमाडौँ सारियो । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाविरुद्ध लेखेपछि विराटनगरको आँधी पत्रिका बन्द गराइयो ।

हुन त त्यतिबेला काठमाडौँबाट मणिराज उपाध्यायको समाज दैनिक, चन्द्रलाल झाको नेपाल टाइम्स, गोपालदास सम्पादकत्वको अंग्रेजी साप्ताहिक कमनर, मनिन्द्रराज श्रेष्ठको मदरल्यान्ड आदि पत्रपत्रिका निस्कन्थे । काठमाडौँबाट प्रकाशित हुने पत्रपत्रिका धेरैजसो संविधानसभा पक्षधर थिए । तर सत्तापक्ष वा सरकारको बर्खिलाप जाँदैनथे । तारिणीको दियालोले भने संविधानसभाका पक्षमा लेखिरह्यो । दियालोमा सरकारबाट भएका कमी–कमजोरीको उछितो काडिन्थ्यो । ०१२ मा काठमाडौँ, कमलपोखरीबाट प्रकाशन हुन थालेको दियालो करिब एक–डेढ वर्ष चल्यो, जतिबेला प्रधानमन्त्री थिए, टंकप्रसाद आचार्य । आचार्य सरकारले संविधानसभाको पहल नगरेको भन्दै पत्रिकामा सम्पादकीय लेखेकै भरमा दियालो सरकारी कोपभाजनमा परी बन्द हुन पुग्यो ।

अचम्म के भने सरकारले दियालो  बन्द गराएपछि काठमाडौँका जनता स्वतःस्फूर्त सडकमा उर्लिए । उनीहरुले पत्रिका बन्द गराउन पाइँदैन, प्रतिबन्ध फुकुवा हुनुपर्छ आदि माग राखेका थिए । बन्द पत्रिका खुलाउनुपर्ने आन्दोलनमा कुनै पार्टीको साथ/सहभागिता थिएन । त्यो जुलुसमा मैले पनि सहभागिता जनाएँ । नेपालको इतिहासमै पत्रिका बन्द भएपछि जुलुस निस्किएको त्यो नै पहिलो घटना हो । तर राजा महेन्द्रको निर्देशनमा प्रतिबन्ध लगाइदिएको त्यो पत्रिका पुनः प्रकाशन भएन । त्यतिबेला भारतबाट प्रकाशित पत्रपत्रिकाले पनि नेपालमा संविधानसभाबारे बहस चलाएका थिए । तर तिनीहरु सेन्सरसिपमा पर्दैनथे ।

२० वैशाख ०१३ मा राज्याभिषेकपछि राजा महेन्द्रमा शक्तिको उन्माद बढ्यो । महेन्द्रले अब संविधानसभाका लागि चुनाव नभई संसद्का लागि हुने शाही घोषणा गरे । त्यसको व्यापक विरोध भयो । दियालो बन्दपछि तारिणीले अर्को पत्रिका निकाले उज्यालो, ०१३–१४ तिर । त्यो पत्रिकामा पनि संविधानसभाबारे लेख, सम्पादकीय र सरकारको आलोचना गरिन्थ्यो । त्यस्तै ६–७ अंक निस्कियो । सरकारी आलोचनापछि उज्यालोको पनि अवसान हुन पुग्यो । त्यससँगै तारिणीले कल्पना पत्रिका प्रकाशन थाले । त्यो पत्रिकामा राखिएको ‘जनमत स्तम्भ’ ‘संसद्का लागि चुनाव गर्ने कि संविधानसभाका’ लागि भनेर जनताको अभिमत बुझ्ने चौतारो थियो । तारिणीसँग मेरो उठबस नभए पनि जनमत स्तम्भका लागि ‘संविधानसभाको चुनाव हुनुपर्छ, त्रिभुवनले घोषणा गरेको संविधानसभा निर्णयलाई छोरा महेन्द्रले कुल्चिनुहुन्न’ भन्ने धारणासहितका चिट्ठी लिएर दुईपल्ट पत्रिकाको मुख्यालय कमलपोखरी पुगेँ । मेरा दुवै चिट्ठी छापिए । ०१३/१४ तिर छापा माध्यममा संविधानसभा बहस एक किसिमले निषेधजस्तै थियो । संविधासभाबारे लेख्ने/छाप्नेलाई बिनापुर्जी पक्राउ गरिन्थ्यो । महेन्द्रतन्त्र प्रत्येक मोर्चाबाट दैनन्दिन शक्ति सञ्चयले बलवान हुँदो थियो । कम्युनिस्ट पार्टी प्रतिबन्धित नभए पनि त्यसका नेताहरु अर्धभूमिगत थिए । सत्तापक्षको विरोधमा लेख, सम्पादकीय र संविधानसभा बहस प्रकाशित गरेकै कारण कल्पना पत्रिका पनि ६–७ महिना चलेर बन्द गराइयो । मैले राजा महेन्द्रका विरुद्धमा कल्पना पत्रिकामा छपाउन ठिक्क पारेको संविधानसभासम्बन्धी कविता भने प्रशासनको अवरोधका कारण छाप्न सकिनँ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: चैत्र २२, २०७५

ट्याग: स्मरण