भन्न बाँकी हजार कथाहरु

- गोकर्ण गौतम

पाँचथरको कुरुम्बाबाट झापा झर्दा किरण चाम्लिङ राई, २९, को महत्त्वाकांक्षा एउटै थियो, प्लस टु पढ्ने । सहर प्रवेशसँगै रहर थपिँदै गए । सुरुआत भयो, संगीतबाट । त्यसपछि रंगकर्म । समय बित्दै गयो । झापाबाट काठमाडौँ आए तर रंगमञ्चप्रतिको प्रेम पातलिएन, बरु घनीभूत हुँदै गयो ।

यतिबेला अनामनगरस्थित मण्डला नाटकघरमा उनको निर्देशनमा जोखना  मञ्चन भइरहेको छ । बेपत्ता नागरिक र उसको परिवारले भोग्नुपर्ने पीडा अनि त्यसमाथि परम्पराको आडमा समाजका गन्यमान्यले थपिदिने नुनचुकलाई नाटकको केन्द्रमा राखिएको छ । भन्छन्, “किराँती मुन्धुम संस्कृतिसँगै हाम्रो सामाजिक–राजनीतिक मुद्दा उठाउन खोजेको छु । नाटकले व्यवस्थाप्रति प्रश्न सोध्नुपर्छ जस्तो लाग्छ ।”

किरण यस्तो परिवारमा हुर्किए, जहाँ एउटै आशीष पाइन्थ्यो, लाहुरे हुनू । उनका जेठा दाइ सिंगापुरे लाहुरे छन् । उनी भने परिवार र समाजले उस्तो नरुचाएको क्षेत्रमा स्थापित हुने संघर्षमा छन् ।

जोखनामा अभिनय गर्दै संगीता थापा | तस्बिर प्रयास वान्तवा


दुई वर्षअघि किरण निर्देशक वर्कसपमा सहभागी भए । उनीसँगै १२ नयाँ सिर्जनशील निर्देशक मिलेर केही महिनाअगाडि नाटक तयार पारे, खबर हराएको चिठी । पोखरा आसपासका बेपत्ता नागरिक परिवार र आफन्तसँग भलाकुसारी गरेपछि नाटक बनाइएको थियो । किरणले चाहिँ २० मिनेटको छोटो नाटक तयार पारे । यत्तिले उनको प्यास मेटिएन । यही छेकोमा वियस राईको कथासंग्रह हिउँमाझी हात पर्‍यो । यसैभित्रको ‘जोखना’ कथाले किरणलाई तान्यो । वियससँग स्वीकृति लिएपछि राजन मुकारुङ नाट्य रुपान्तरका लागि तयार भए । किरण भन्छन्, “जोखना कथाको सारलाई लिएँ । त्यसमा मेरो आइडिया मिसाएर नाटक तयार पारिएको छ ।” ८ वैशाखसम्म चल्ने यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव–०७५ मा पनि छानिएको थियो ।

झापा ओर्लिएपछि अनायासै संगीतमा मोहित भएका थिए, किरण । तीन वर्षसम्म लगातार गायन सिके । जब गाउन थाल्थे, स्वर्णिम संसारमा पुगेको अनुभूत हुन्थ्यो । स्थानीय गन्तव्य थिएटरसँग जोडिएपछि उनको कला–ऊर्जा अझ फस्टायो । तर गाएर र अभिनय गरेर मात्र टिक्न सम्भव थिएन । त्यसैले खर्च धान्नकै लागि भिडियो सम्पादन सिके र स्थानीय हिमशिखर टीभीमा जागिर खान थाले । किरण सम्झन्छन्, “यहाँ बसेर मेरो प्रगति हुन्न भन्ने आभास हुन थाल्यो, बिस्तारै । त्यसैले झापा छाडेँ र काठमाडौँ हानिएँ ।” बिरानो सहरमा पाइला राख्दा जति नर्भस थिए, उति जिज्ञासु पनि ।

सम्पादन सीपले कामको अभाव भएन, न्युज २४ टिभीमा जोडिए । सँगै नेपाल म्युजिक सेन्टरमा संगीत सिक्न थाले । जागिर र पढाइको सन्तुलन मिल्दै थियो । त्यही बेला देशभर सांगीतिक यात्रा गर्ने अवसर जुर्‍यो । लामो यात्रा भएकाले जागिर छाड्ने बाध्यता आइलाग्यो । त्यही यात्राको दौरान भेटिए, रंगकर्मी घिमिरे युवराज । राजधानी छिरेपछि छायामा परेको किरणको नाट्यप्रेम घिमिरेको संगतले पुनः जागृत भयो । तिनताका घिमिरे नयाँ नाटकघर खोल्ने गृहकार्य गर्दै थिए ।

तस्बिरहरु : महेश प्रधान


सिफलबाट दुई घन्टा हिँडेर थापाथलीस्थित शिल्पी अफिस आइपुग्थे, रोजै । किरण सम्झन्छन्, “त्यतिविघ्न ऊर्जाको स्रोत के थियो, ठ्याक्कै भन्न सक्दिनँ । आफ्नै नाटकघर भएपछि गुरुकुलका कलाकारले झैँ नियमित नाटक गर्न पाइन्छ भन्ने लोभले तानेको थियो सायद ।” त्यतिबेला सडक नाटक गर्दै देशभर दौडिए तर पारिश्रमिक आउँदैनथ्यो । शिल्पीको भवन बनाउन जम्मा गरियो । पसिना बनाउँदा–बगाउँदै तीन वर्ष बित्यो । र, तयार भयो, बत्तीसपुतलीमा शिल्पीको गोठाले नाटकघर । यहाँको पहिलो नाटक कोमा : पोलिटिकल सेक्समा अभिनय गरे । यसपछि आफ्नै लेखन, निर्देशन र अभिनयमा यल्लो कमेडी तयार पारे । जम्माजम्मी २० मिनेटको यही नाटक हेरेर हो, अनुप बरालले दोख फिल्ममा उनलाई खेलाएको । यल्लो कमेडीपछि उपेन्द्र सुब्बाका दुई कथा ‘प्रभु माइला’ र ‘मनमाया’ जोडेर लाटो पहाड  नाटक निर्देशन गरे । त्यसले व्यापक चर्चा पायो ।

निरन्तर साधनाले रंगकर्मीसँग संगत र सम्पर्क पनि बढ्यो । बाहिरबाट नाटकका प्रस्ताव आउन थाले । जीवन धान्न पनि अरुसँग सहकार्य गर्नुपर्ने बाध्यता थियो । तर शिल्पीको एउटा नियम बाधक बन्यो, बाहिर काम गर्न नपाउने । “म स्वतन्त्र भएर उड्न चाहन्थेँ । त्यो माहोल त्यहाँ मिलेन,” किरणको आवाज दरिलो सुनियो, “पाँच वर्षपछि शिल्पी छाड्नुपर्दा डर थिएन, बरु त्यसको माया थियो ।” त्यहाँबाट बाहिरिएपछि रंगकर्मबाट केही समय ओझेल परे । फिल्ममा स्टिल फोटोग्राफी, भिडियो निर्देशन र सम्पादनको काम गरे । तर ध्यान त नाटकमै थियो । अनुप बराल निर्देशित थाङ्लाबाट ‘कमब्याक’ गरे । प्रदर्शनरत फिल्म साइँलीमा पनि उनको अभिनय छ ।

नाटकमा संगीत र कोरियोग्राफीलाई महत्त्व दिन्छन् किरण । हमेसा आफ्नै क्षेत्र र संस्कृतिका कथा रोज्छन् । “विदेशी नाटक गर्ने आँट आउँदैन । देखे/भोगेका कथाचाहिँ जीवन्त शैलीमा भन्न सक्छु जस्तो लाग्छ,” किरण भन्छन्, “हाम्रा आफ्नै हजारौँ कथा भन्न बाँकी छन् । यस्तै नाटकबाट मात्र संसारमा हाम्रो पहिचान निर्माण हुन सक्छ ।” संगीतसँगै मार्सल आर्टस् र डान्स सिकेका छन् । ‘भिजुअल मेकिङ’ को ज्ञान छ । यी कुराले नाटकमा कहीँ न कहीँ मद्दत गर्ने विश्वास छ उनको । प्रायः रंगकर्मी कुनै न कुनै नाटकघर र संस्थामा जोडिएका हुन्छन् । किरण भने कतै आबद्ध देखिन्नन् । यसको फाइदा– मर्जीअनुरुप काम । बेफाइदा– दुःखजिलो गरेर नाटक बनायो, मञ्चको अभाव । तैपनि किरण मुस्काइरहेकै छन् । पुछारमा भन्छन्, “यही स्वतन्त्रता र संघर्षमा रमाइरहेको छु ।”

प्रकाशित: चैत्र २१, २०७५

ट्याग: रङ