ग्रासमार्केट

- रोशन शेरचन

एकैखाले पृष्ठले भरिएको मेरो जीवनमा केही भिन्न पृष्ठ पनि छन् । त्यस्ता केही भिन्न पृष्ठ २००३/२००४ तिर भेटेँ । मैले उच्च अध्ययनको सिलसिलामा वर्ष दिन इडिनबरामा बिताएको थिएँ । एक स्मृति छ, ग्रासमार्केटको । कोलाहलपूर्ण र प्रदूषणयुक्त काठमाडौँको वातावरणमा छटपटी हुँदा ग्रासमार्केटका क्षण सम्झन्छु । इडिनबरा, स्कटल्यान्डको राजधानी । डुब्न लागेको घामले प्रत्येक साँझ आकाशको क्यानभासमा हल्का स्ट्रोक गर्छ । ऐतिहासिक इडिनबरा क्यासल ल्यान्डस्केपको अभिन्न स्थापत्य बनेको छ । ग्रासमार्केट, क्यासलमुन्तिरको पुरानो टाउन । इतिहास, कला, संगीत, बार, पब र किनमेलका निम्ति चर्चित क्षेत्र । ढुंगाले छापेका पेटी, कलात्मक ढुंगे घर, घुमाउरा गल्ली, अनेकन रेस्टुराँ, पब र बारहरु रंगीबिरंगी फूलले सजाइएको ।

यहाँका अधिकांश घर सत्रौँ शताब्दीमा बनेका रहेछन् । सन् १७९१ मा महान् स्कटिस कवि रोबर्ट वर्न यही ठाउँ बसेका थिए । उनको दर्जा राष्ट्रकविको छ । इडिनबरा विश्वविद्यालयमा विद्यार्थी छँदा चिलीका सहपाठी क्रिस्चियनसँग करिब ५–६ पटक ग्रासमार्केट पुगेँ । उमेरले केही कान्छो तर अग्लो जीउडालको उनीसँग मेरो मित्रता राम्रै जम्यो ।

एकपटक ग्रासमार्केटमा सानो पब छिर्‍यौँ । भित्रबाट सुमधुर ध्वनि आएकाले त्यतै तानिएका थियौँ । चार जनाको समूहले भ्वायलिन, ब्याग पाइपर र एक्वस्टिक गिटारमा गाइरहेको थियो । वरपर नियाल्दा वातावरण सौम्य लाग्यो । १५–२० ग्राहक हुँदा हुन् । धेरैजसो खाँदै पिउँदै संगीतको आनन्द लिइरहेका थिए । परिवारसहित आएका अधिकांशका साथमा बालबालिका पनि थिए । क्रिस्चियन र म पनि बियर पिउँदै संगीतको प्रवाहमा हेलियौँ ।

संगीतमण्डलीका सदस्य पाका उमेरका थिए । उमेरले ४०–४५ नाघेजस्ता । चार जनामा एउटी मात्र महिला सदस्य । पबको अग्रभागमा उभिएर संगीत प्रस्तुत गरिरहेका थिए । मेरो लखमा त्यो कन्ट्री म्युजिक थियो, लोकसंगीत । भ्वायलिन बजाउने सुन्दरी गाउन थाल्नुअगाडि संक्षिप्तमा गीतबारे बताउँथिन् । हलमा मौनता छाउँथ्यो । भ्वायलिन बजाउँदा थोरै बायाँ ढल्केको टाउको, हल्लिरहेको उनको कपाल र स्ट्रिङमा कुशलतापूर्वक नाचिरहेका उनका औँला सम्झन्छु । अर्का सदस्यले ब्याग पाइपर बजाएका थिए । ब्याग पाइपर नबजी कसरी संगीत स्कटिस हुन्छ ? संगीत सकिएलगत्तै श्रोताहरु ताली बजाउँथे । बालबालिका रमाउँथे । गीतले सर्वसाधारण मान्छेका दैनन्दिनका खुसी, पीडा, प्रेम र संर्घषका कथा बोलेका थिए ।

उपस्थित श्रोताहरु सायद गीतमा आफ्ना तन्नेरी वर्ष सम्झन्थे वा बूढो हुन बिर्सेको समयलाई पक्रन खोज्दैथे वा आफ्नो जरा गाडिएको कन्ट्री म्युजिकलाई साथ दिइरहेका थिए । मलाई भने बालबालिकाको उपस्थितिले आकर्षित गर्‍यो । कलिलो उमेरमा सुनेको संगीत कहिल्यै नबिर्सिइने तथ्य थाहा पाएका अभिभावकले आफ्ना छोराछोरीलाई संगीत सुनाउन ल्याएको साह्रै मन पर्‍यो । निकै संगीत सुन्ने दर्जामा पर्छु सायद । नेपाली, हिन्दी र अंग्रेजी भाषाका गायक र ब्यान्ड पछ्याएकै तीन चार दशक भइसक्यो । फित्तावाल क्यासेटको युगमा खुब संगीत सुन्थेँ । युट्युब आएपछि त्यसले फेरि निरन्तरता पाएको छ । किशोरवयमा सुनेका अधिकांश गीत नै किन मन पर्छन्, छक्क पर्छु । मान्छेलाई राम्रा गीत मन पर्छ कि आफू हुर्कंदा सुनेको गीत मन पर्छ ? थाहा पाउन नसकी जिल्लिएको छु । मनपसन्द सूचीमा पछिल्ला गीत नगन्य छन् । पछिल्ला समय पनि राम्रा संगीत पक्कै सिर्जिएका छन् । तर किन मनभित्र नबसेको ? के बूढो हुँदै गएँ म ? के रुढ हुनुको लक्षण हो त्यो ? संगीतको आँखीझ्यालबाट विगत नियाल्नु कम प्रीतिकर अनुभव हुँदैन ।

केही समयअगाडि विचार आयो, किशोरवयमा उक्लेकी छोरीलाई घरबाहिर कुनै राम्रो संगीत सुनाउन लैजान्छु, बार, फबमा वा कन्सर्टमा । काठमाडौँमा बग्रेल्ती सञ्चालन हुने कार्यक्रमबारे थोरै डेस्क रिसर्च गरेँ । साथीसँग सल्लाह मागेँ । राम्रा, सुन्दर र स्वस्थ हिसाबले मनलाई सिँच्ने सांगीतिक कार्यत्रम रहेनछ । अधिकांश सांगीतिक कार्यक्रममा रक, मेटलजस्ता पश्चिमा संगीत बजाइन्छ, जहाँ वाद्यवादन असाध्यै चर्को हुन्छ । त्यस्ता लाइभ बारको वातावरण रत्तिभर पारिवारिक छैन । बियरको बोतल लडाइएको छ । चुरोट, धूवाँको कुइरीमण्डली छ । कुण्डलीमुण्डली र ट्याटु खोपेकाहरुको बाहुल्य हुने त्यस्ता कन्सर्टमा जान मन लाग्दैन । अर्कातिर नेपाली भाषाका सांगीतिक कार्यक्रम नभएका होइनन् तर नाम मात्रका । भाषा नेपाली, भाका लोक तर शब्द द्विअर्थी र दैहिक । दिगमिगै लाग्ने दोहोरी गीत ।

पलेटीजस्ता कलात्मक सांगीतिक मञ्च छन् तर ती बालबालिका वा किशोरलाई आकर्षित गर्ने खालका छैनन् । सांगीतिक धरोहरलाई उभ्याउने पलेटीको आफ्नै खास दर्शक छन् । हामीकहाँ बालबालिका र किशोरका निम्ति राम्रा संगीत सुन्न लैजाने ठाउँ नै रहेनछन् । सानो उमेरमै राम्रा संगीतको बानी नपरेपछि रुचिको परिष्कार प्रौढ उमेरमा लगभग असम्भव छ । कहाँ होला त्यस्तो स्थान, जहाँ बालबालिकाले आफ्ना मौलिक भाषाका चित्ताकर्षक गीत सुनून् र नेपाली संगीतप्रति गर्व गर्न सिकून् ! र, पश्चिमी संगीतको अगाडि आफ्ना संगीतलाई हेय नठानून् ।

सोच्दै जाँदा लाग्यो, सांगीतिक चेतनाको एउटा स्खलनको माध्यम सार्वजनिक यातायात रहेछ । सार्वजनिक सवारी साधनमा दिनैभरि बज्ने गीतले यात्रुको अवचेतनमा कमसल र दैहिक गीतलाई प्रवेश गराइरहेको छ । सार्वजनिक यातायातमा चढ्दा सुन्नैपर्ने त्यस्ता गीतले वातावरण नै निस्सासिँदो बनाउँछन् । दोहोरी गीत होस् वा सिनेमाका गीत– अर्थ सुन्दा उकुसमुकुस नै हुन्छ ।

केही समयअगाडि कलंकी जाँदा बसमा गीत बज्यो– उर्ली आयो बैंश मेरो, काँ जाउँ काँ जाउँ लाछ । दोहोरी भएकाले दिक्कै लाग्ने गरी तारन्तार सयौँ पटक गीत बज्यो, कलंकी पुगुन्जेल । त्यो मानसिक यन्क्रणा थियो । सार्वजनिक सवारी साधनमा हुने यौनजन्य त्रियाकलापलाई पनि त्यस्ता गीतले प्रेरित गरिरहेका छन् कि ! खोजीकै विषय हो । स्कुल आउँदै–जाँदै गरेका विद्यार्थीको मनोविज्ञानमा त्यस्ता गीतले कस्तो असर पार्दा हुन् ! यात्रुका मनमा त्यस्ता गीतले कस्तो भाव उत्पन्न गर्दा हुन् ! आम मान्छे चढ्ने बसमा कस्तो फोहोरी वातावरण तयार गर्‍यौँ हामीले ! सिर्जना भन्दैमा सबै सुन्दर हुँदैनन् भन्ने सोच राख्ने मजस्ता यात्रुलाई त्यस्तो यात्रा सजाय नै हो । सांस्कृतिक उन्नयनमा राम्रा, सुन्दर र सिर्जनात्मक संगीत जति महत्त्वपूर्ण छ, सवारी साधनमा हरदम बज्ने स्तरहीन द्विअर्थी र शरीरकेन्द्रित गीतमा प्रतिबन्ध लगाउनु उत्तिकै आवश्यक छ ।

मेरो टोलमा एक गन्धर्व बर्सेनि आउँछन् । सातौँ वा आठौँ वर्ष भइसक्यो । सबैजसो छिमेकी २०–५० रुपैयाँ दिन्छन् । त्योभन्दा महफ्वपूर्ण उनको गीत चाखपूर्वक सुन्छन् । अघिल्ला वर्षसँग तुलना गर्दा कलामा खासै परिष्कार छैन तर मौलिक वाद्यवादनबाट निस्कने त्यस्ता धून र आम मान्छेका कथा सुन्दै आनन्द लाग्छ । नैतिक मूल्य क्षय हुँदै गएको समयमा इमानदारीपूर्वक कसैले आफ्नो कला प्रदर्शन गरी श्रोताको मन हर्छ भने त्यसलाई स्वीकार्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ । अवशेष भएका त्यस्ता सांस्कृतिक पाटाहरु व्यवस्थित नभएसम्म र संगीतमा परिष्कार नल्याएसम्म आम मान्छेको रुचि उक्लदैन ।

ग्रासमार्केटका अधिकांश बारहरु त्यस्ता खाले छन्, जहाँ युवाहरु रक वा एसिड संगीतमा मच्चिन्छन् । त्यस्ता बार अँध्यारा छन्, केही अन्डरग्राउन्ड । डरलाग्दा बाउन्सर चनाखा देखिन्छन्, प्रवेश द्वारमा । यस्ता पब र बार बालमैत्री छैनन् । कमै बार पब छन्, जहाँ बालबालिका लिएर जान सकिन्छ । त्यस्तै पबमा संयोगवश हामी दुई पुगेका थियौँ । जीवनका उत्तरार्द्धमा त्यस्ता स्थानमा दशकौँअघि सुनेका गीत आफ्नैसामु कलाकारबाट सुन्नु आनन्ददायी अनुभव बन्नेछ । साथै, बालबालिकाले मौलिक संगीत र आफ्नै वरपरका कथा बोकेको शब्द गीतमा सुन्न पाउनु दूरगामी महत्त्वको घटना हो ।

संगीत मन नपर्ने संसारमा सायदै कोही छ । नाटक/साहित्य पढ्न नरुचाउने पनि भेटिन्छन् । त्यस्तै सिनेमा हेर्न झिँझो मान्ने पनि छन् । तर संगीत अपवाद छ । किन त्यस्तो ? किन संगीतमा मान्छेको रुचि विभाजित छैन ? के संगीत अन्य सबै विधाभन्दा आदिम हो ? के प्रकृतिमै संगीत हुनाले त्यस्तो भएको हो ? खैर, क्रिस्चियन मलाई कर गरेरै ग्रासमार्केट लैजान्थे । ग्रासमार्केटको थाप्लामा एडिनबरा क्यासल मनमोहक देखिन्छ । मानौँ, क्यासल ग्रासमार्केटको शिर हो । यसै पनि इडिनबरा सांस्कृतिक सहर हो । बर्सेनि यो सहरमा अन्तर्राष्ट्रिय फ्रिन्ज महोत्सव हुन्छ । लाखौँ पर्यटक मेला भर्न उर्लन्छन् । कला, नाटक, चित्रकारिता, संगीत र इन्स्टलेसन आर्टको हब । एडिनबरा कलाको मोजाइक सहर हो, जहाँ केही न केही सिर्जनात्मक कर्म भइरहेको हुन्छ । यहाँको बतास पनि मानौँ कला बोकेर दौडन्छ ।

ब्याचमै क्रिस्चियन साल्सा नाच्न सबैभन्दा अगाडि । तसर्थ सांगीतिक कार्यक्रममा उनी सधैँ आकर्षणको केन्द्र । उनीसँग ग्रासमार्केटको साल्सा बार पनि पुगेँ । छरितो नाच्ने उनीसँग नाच्न प्रशस्तै सुन्दरी लालायित हुन्थे । साल्सा जोडी–नाच रहेछ । म भने मजिटो पिउँदै रमाइलो हेरिबस्थे । एक पटक एसिड बार पनि पुगेँ । चर्को वाद्यवादनको त्यो सांगीतिक वातावरण थकाउने लाग्यो । आफ्नो लय भने मैले कन्ट्री म्युजिकमै भेटेँ । जीवनको भिन्न पृष्ठ कोरेर आफ्नो देश फर्केको पनि १४–१५ वर्ष पुगेछ । युट्युबमा संगीत सुन्नेबाहेक अहिले मेरो जीवनमा संगीत छैन । युट्युबमा दीपक खरेल, दीप श्रेष्ठ, नेपथ्य, विपुल क्षत्री, किशोरकुमार, मार्क नफलर, ब्रुस स्प्रिङस्टिन, क्वीन, टिना टर्नर, बब डिलन, कोल्ड फ्लेहरु सुन्छु । नयाँ वर्ष, तिहार, क्रिसमसमा हुने कार्यक्रममा खास रुचि छैन । त्यहाँ होहल्ला र प्रदर्शनभाव बढी छ । ननाच्नेलाई त्यसको उपयोगिता छैन पनि । म संगीत नाच्न होइन, सुन्न मन पराउँछु । घरमा कुनै वाद्यवादन छैन । विगतमा कोठाको कुनामा गिटार हुन्थ्यो । कसैले फिर्ता नल्याएपछि त्यो अध्याय पनि सकियो । संगीत नहुनु भनेको जीवन शुष्क हुनु रहेछ । त्यसैले क्षतिपूर्तिमा पदयात्रा गर्छु, पुस्तक पढ्छु । कहिलेकाहीँ ग्रासमार्केटको स्मृति प्रगाढ भएर आउँछ । ढुंगाले छापेको पेटी, कलात्मक पब, इडिनबरा क्यासल, कन्ट्री म्युजिक बजाइरहेका संगीतकर्मी र उज्यालो आँखामा संगीतमा विमुग्ध बालबालिका । सत्ते भनेको, स्मृतिहरु अतीव प्रिय हुँदा प्रियजन बन्दा रहेछन् ।

प्रकाशित: चैत्र २१, २०७५

ट्याग: निबन्ध