हिमाल, विज्ञान र विकास

- प्रमोदकुमार झा

पिताजी संस्कृतका विद्वान् भएकाले घरेलु वातावरण पठनमैत्री नै थियो । अध्ययनको उषाकालमा हिन्दी साहित्यमा मेरो रुचि गाढा थियो । तर उमेरसँगै विज्ञान, मानवतावाद र विकासमा मेरो ध्यान जान थाल्यो । औपचारिक अध्ययनको सिलसिलामा वैज्ञानिकहरुको जीवन, योगदानको प्रक्रिया, कदर र आलोचनाको पाटोमा मेरो समय लगानी भइरहेको छ । टोनी हागनको औधी मन परेको किताब डिसेन्ट्रलाइजेसन एन्ड डेभेलपमेन्ट : रोल अफ डेमोक्र्याटिक प्रिन्सिपल्स मैले १५ प्रतिजति साथीलाई उपहार दिएँ । हागनसँग संगत भएकाले यो किताबको लेखन प्रक्रियाबारे धेरथोर जानकार पनि छु । विकासमा अग्रगति लिनका लागि नेपालले दिनुपर्ने प्राथमिकता बुझ्न यो पुस्तकले मार्गनिर्देश गर्न सक्छ । पर्यटन, लघु जलविद्युत्, कृषि, सडक यातायातजस्ता आर्थिक विकासका मोडलबारे स्वीट्जरल्यान्डबाट सिक्न सकिने पाठलाई हागनले स्पष्टसँग अघि सारेका छन् । उनी विकास नीतिका नयाँ धारलाई अवलम्बन गर्न विकेन्द्रीकरणमा जोड दिन्छन् ।

हाम्रोमा लोकप्रिय नारा सहजै उरालिन्छन् तर प्रतिबद्धताबिना सबै अर्थहीन हुन्छन् । विकासलाई विकेन्द्रीकरणमा लैजाँदा भुइँतहका मानिसलाई केन्द्रमा राखिनुपर्ने अवधारणालाई हागनले महत्त्वका साथ उठाए । योजना बनाउँदा भुइँतहका मानिससँग बसेर छलफल गर्दा मात्रै समस्याको समाधान हुन सक्ने धारणा छ उनको । किसानबिनाको कृषि कल्पना गर्न सकिँदैन । कृषि योजनामा किसानको हितलाई पन्छाएर राष्ट्रिय उन्नति हुन सक्दैन भन्नेमा हागनको प्रस्टता देखिन्छ । उनी लोकतान्त्रिक संस्कृतिमा विश्वास राख्ने हुनाले नेपालको विकासप्रति आशावादी हुँदै अन्तर्राष्ट्रिय विकासका सफलता–कथा पनि प्रस्तुत गरेका छन् ।

कुनै बेला नेपालमा टोनी हागनलाई अरुण तेस्रोको विरोधीका रुपमा चित्रित गरिन्थ्यो । तर उनको ध्यान वैकल्पिक ऊर्जामा थियो । ऋण दिए पनि अन्ततोगत्वा विकसित राष्ट्रहरुले रकम फिर्ता लिएर जान्छन् । र, गरिब मुलुकमा कर्जामाथि कर्जा थपिनु भयावह परिणामलाई निम्त्याउनुसरह हुने हागनको तर्क छ । त्यसैले लघु जलविद्युत्को बाटोबाट नेपालले विकास गर्न सक्ने तर्क छ उनको । नेपाललाई स्वीट्जरल्यान्ड बनाउने उद्घोष गर्ने हाम्रा नेतृत्वले यो किताब पढिदिए विकासका मोडलबारे वैकल्पिक अवधारणा आउन सक्थ्यो ।

१९ औँ शताब्दीमा जीवविज्ञानका क्षेत्रमा ठूलो योगदान दिने व्यत्तिमाथिको किताब चार्ल्स डार्विन अन ओरिजिन अफ स्पिसिजले मलाई तानिरहन्छ । डेबिड क्युमेनको यस पुस्तकमा डार्विनको खोज र पुस्तक लेखनको अन्तरकुन्तर खोतलिएको छ । विज्ञान पत्रकार भएका कारण क्युमेनको लेखन रोचक पनि लाग्छ । हामीलाई थाहै छ– डार्विनले प्रजातिहरुको उद्भव र क्रमिक विकासबारे अभूतपूर्व खोज–अनुसन्धान गरे । उनको प्रशंसा जत्तिकै आलोचना पनि भएको छ सायद । डार्विनको संक्षिप्त जीवनी, खोजयात्रा र उनीमाथिका टिप्पणीलाई मिहीन ढंगले अध्ययन गरी यो पुस्तक लेखिएको छ । एउटा वैज्ञानिकभित्र फरक सोच जन्मँदाको प्रक्रिया कस्तो हुन्छ, उसका बारे अरुको अवधारणा/टिप्पणी कस्ता हुन्छन् र अनेक अप्ठ्याराबीच पनि उसले कसरी लोभलाग्दो उचाइ चुम्न सक्छजस्ता प्रश्नको उत्तर पाउनु मेरा लागि पठनको सुखद पक्ष रह्यो । अनुसन्धानका विधिलाई ध्यानमा राखेर लेखिएको यो किताबमा पारिभाषिक शब्दावलीसमेत समावेश गरिएकाले गैरविज्ञानी पाठकका लागि समेत अध्ययनमा सहजता हुन्छ ।

हरेक देशको आ–आफ्नो विशेषता र पहिचान हुन्छ नै । नेपालको अनेक विशेषतामध्ये एक हो– पर्वत । सगरमाथा आधार शिविरसम्म मात्रै पुगेको मजस्तो पाठकका लागि ज्याक डी इभ्स, मन्टोलोजिस्ट उपयोगी किताब हुन सक्छ । कुमार मैनाली र सेथ सिक्रफको यो किताबमा पर्वत अध्येता ज्याक डी इभ्स र पर्वतबारे प्रशस्त अध्ययन गरिएको छ । हिमालका आफ्नै मौलिक विशेषता हुन्छन् । त्यसलाई बुझेर मात्रै त्यसको सदुपयोग गर्न सक्छौँ । हिमालसँग मुख्य दुई विशेषता हुन्छन्– पानीको स्रोत र जैविक विविधता । नेपालको सन्दर्भमा अर्को विशेषता पनि छ– जातीय विविधता । जातीय विविधतालाई अनेक कोणबाट व्याख्या गर्न सकिएला । तर त्यहाँभित्रको परम्परागत ज्ञान महफ्वपूर्ण हुन्छ । पानीको स्रोत, जैविक र जातीय विविधतालाई जोडेर अध्ययन गर्ने हो भने विकासमा केही न केही टेवा अवश्य पुग्छ । उसो त हिमाल/पर्वतबारे विश्वमै मनग्गे अध्ययन–अनुसन्धान भएको छैन । यस्तो परिवेशमा ज्याक डी इभ्स, मन्टोलोजिस्टको महत्त्व झन् बढी देख्छु ।

संसारको जुनसुकै भूगोलमा पनि बेसीभन्दा पहाड–पर्वतमा बस्ने मानिसको भौतिक सम्पत्ति कम हुँदा र जीवन कठिन हुन्छ । जलवायु परिवर्तनले ल्याएका चुनौती चिर्दै नेपालको पर्यटन विकास र पर्वत संरक्षणलाई साथै लिएर जान सक्नुपर्छ । नेपालले आफ्नो हिमाली सम्पदालाई बेलैमा चिन्नुपर्छ । त्यसका लागि ज्याक डी इभ्स, मन्टोलोजिस्टले व्यवस्थित र प्राज्ञिक रुपमा प्रेरित मात्रै गर्दैन, पर्वतको वैश्विक महफ्वसमेत दर्शाउँछ । र, पर्वतीय चासोलाई स–सानो बहसको विषय मात्रै नबनाएर अध्ययनको दायरालाई व्यापक बनाउनैपर्छ भन्ने सन्देशसमेत दिन्छ ।

प्रस्तुति  : गुरुङ सुशान्त

प्रकाशित: चैत्र २१, २०७५

ट्याग: तीन किताब