कटाक्षको कठघरा

- राजकुमार बानियाँ

संसारमा ‘महान्’ र ‘भगवान्’ कहलिएका थुप्रै मान्छे छन् । के तिनीहरुभित्र कुटिलता र आदिम पाशविक वृत्ति छँदै छैन त ? किशोर पहाडीका कथा पढ्दा लाग्छ, मान्छेजति स्वार्थी र पाखण्डी, बर्बर र निकृष्ट अनि दुराग्रही र कठोर सायद क्रूर भनिएका जनावर पनि छैनन् । मान्छेको सुकिलो आवरणभित्र रहेको कुरुपता, नग्नता, विद्रुपता र कृत्रिमताको निर्मम पोस्टमार्टम हो, किशोरकृत रोजा कथाहरु । यसमा संगृहीत कथाले मान्छेलाई ग्रीक दार्शनिक अरिस्टोटलले जस्तै ‘पोलिटिकल एनिमल’ ठहर्‍याएको छ ।

किशोर पहाडीका कथामा लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई दिएको धोकाबाजी पढ्दा सोच्न कर लाग्छ, साँच्चि परिवार नामक संस्था कुन विश्वासले अडिएको होला ? यहाँ मान्छेलाई पैसा भए पुग्छ । पैसाको निर्माता मान्छे स्वयं पैसाको सामुन्ने लाचार र निरीह छ । मान्छेलाई पैसाको तराजुमा तौलिएर प्राकृतिक नाता तोड्छ अनि पैसासँग जसरीतसरी नाता जोड्छ ।

उनी समाज व्यवस्थाका अनियमितताका कथा मात्र लेख्दैनन्, त्यसको ‘स्टिङ अपरेसन’ नै गरिदिन्छन् । मान्छेको विद्रुपता झल्काउन एउटै कथा पर्याप्त छ, ‘सर्वज्ञ र सेक्स’ । कथाका दुई पात्र छन्, बूढो लेखक र उसकी तरुनी स्वास्नी । बूढो लेखक तरुनी स्वास्नीप्रति एकदमै समर्पित छ तर स्वास्नी भने परपुरुषको आलिंगनमा । सबैभन्दा रोचक पक्ष– कथावाचकचाहिँ कलम छ । लेखकपत्नीको नग्न देह देखेर उसमा समेत व्यभिचारी भाव आउँछ । मान्छेको संगतमा परेपछि कलमसमेत पथभ्रष्ट हुने कथाले औँल्याएको छ ।

‘अर्धांगिनी र सिपाही’ मा शान्ति सेनाबाट फर्केको वीरबहादुर बाहिरबाट ल्याएका सबै सामान काठमाडौँमा बेच्छ र सस्ता सामान घर लैजान्छ । ऊ काठमाडौँमा नगरबधुसँग लसपस गर्छ भने स्वास्नीचाहिँ गाउँमा प्रधानको छोरासँग । तथाकथित सेलिब्रिटी जीवनमाथिको डार्क कमेडी हो, ‘स्वाद’ । प्रशंसकले फोहोरको र्‍याल्लप्याल्ल थुप्रोबाट निकालिएको बुकेलाई म्वाइँ खाने गायक गौतम ‘गम्भीर’ प्रति साँच्चै टिठ लाग्छ ।

‘डोरी’ कथाले बताउँछ, मान्छे कतिसम्म लोभी हुन्छ । चर्पीको ढोका थुन्न एउटा तीन–चार फिटको डोरी किन्ने विचार गरेको मान्छे एकदमै उदार भएर भन्छ, ‘साहूजी, एउटा एकदमै सस्तोचाहिँ छेस्किनी दिनोस् न । त्यति बलियो चाहिँदैन, चर्पीमा लगाउने त हो नि ।’

‘विशु दाइ’ मा चित्रकार स्वास्नी र छोरीलाई लात मारेर प्रशंसकको पछि लाग्छ, पछि प्रशंसकले पनि घर निकाला गरेर लात मारिदिन्छे । कथाकारले अरुतिर मात्र औँलो ठड्याएका छैनन्, उनी स्वयं कसैलाई भन्दिनँ भनेर जीवनकथा सुन्छन् तर ‘कथा लेख्दिनँ भनेको त थिइनँ नि’ भन्दै कथा लेख्छन्, ‘तेरो कथा लेखेँ शमशेर’ । जीवनका यथार्थ पस्कने क्रममा उनी आफूलाई समेत नांगेझार पारिहाल्छन् । त्यसैले त उनी किशोर पहाडी हुन् ।

प्रबल युगीन चेतना छन्, रोजा कथाहरुमा । प्रायः कथाको ‘ट्रिक’, ‘ट्याक्टिस’ र ‘ट्वीस्ट’ अनौठो छ । ‘निकटता’ मुगलिनकी होटलवाली कमली र कथावाचकको सम्बन्धमा आधारित कथा हो । ग्राहक होटलवालीको प्रेमजालमा परेको छ भने होटलवाली पैसाको जालमा । ‘भोलामानले मलाई के दिएको त्यस्तो !’ एक किशोरलाई जादूगरले दिएको चस्माको कथा हो । केटीहरुको नांगो रुप हेर्ने लालसा बोकेको युवक अन्ततः पुग्छ, ६० वर्षीया आमाको समीपमा । ‘बाह्र बजेर पैँतीस मिनेट जाँदा’, ‘प्रतिनिधि र प्रतिनिधिहरु’, ‘धेरै जनकराजहरु र एउटा झोला’, ‘मुस्कान’, ‘आतंकको आँसु’ आदि कथामा व्यंग्यविनोद छ ।मान्छेका दुःखान्त पक्षको चित्रण गर्ने किशोर पहाडी भुइँतहका मानिसका बाध्यता, आकांक्षा र निराशा मात्र होइन, सहरी समाज, अभिजात्य जीवनशैली अनि लैंगिक शोषणलाई कटाक्षको कठघरामा उभ्याउँछन् । समालोचक दयाराम श्रेष्ठका शब्दमा उनी सटीक प्रतीकहरुका प्रयोग, व्यंग्य र स्वैरकल्पनाको सफलीभूत आधारद्वारा आफ्नो आख्यान चेतनालाई सार्थक तुल्याउने क्षमता भएका कथा–व्यक्तित्व हुन् ।

आख्यानको व्याकरणअनुसार कथावाचनका लागि उभिने ठाउँ दृष्टिबिन्दु सही भए परिवेश छनोट ठीक हुन्छ अनि परिवेश ठीक भए कथानक विश्वासिलो । उनका कथाले एक खालको थ्रिल र मादक अनुभूति दिन्छन् । वरिपरिकै पात्रलाई उभ्याएर तयार पारिएका यी फुर्तिला कथा रचनात्मक तृप्ति दिन सफल छन् । किशोरका अधिकांश कथाको स्थायी भाव रतिराग र विवाहेत्तर सम्बन्ध हो नै । तर संग्रहमा ‘अचानक’, ‘अबोध’, ‘संज्ञा’ लगायत कथा बालबालिकाका निम्ति रुचिकर हुन सक्छन् । एउटा कथाकारले सबै कथा उत्तिकै राम्रो नलेख्न पनि सक्छ । निरन्तर राम्रो लेखिरहनेमा किशोर पहाडी अपवाद हुन् । उसो त रोजा कथाहरु उनको नयाँ किताब होइन, बरु साढे चार दशकको अन्तरालमा प्रकाशित आधा दर्जन संग्रहबाट चुनिएका ३१ कथाको संग्रह हो । तर ती कथाको लेखन अवधि छुट्टयाएको भए कथानुरागीलाई लाभै हुन्थ्यो ।

पुस्तक : रोजा कथाहरू | कथाकार : किशोर पहाडी | प्रकाशक : शिखा बुक्स | पृष्ठ : २४८ | मूल्य : ३५० रुपैयाँ

प्रकाशित: चैत्र २०, २०७५

ट्याग: पुस्तक