अनौठा तिम्ल्याहा

- नेपाल संवाददाता

एक बंगलादेशीले पहिलो सन्तानका रुपमा छोरा जन्माएको झन्डै एक महिनापछि जुम्ल्याहा सन्तान लाभ गरेकी छन् । समय नपुग्दै फेब्रुअरीको अन्तिमतिर पहिलो सन्तान जन्माएकी खुल्ना जिल्लाकी २० वर्षीया अरिफा सुल्तानालाई त्यसको २६ दिनपछि पेट दुखेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदासम्म उनी अझै गर्भवती छन् भन्ने कसैले सोचेका थिएनन् । अल्ट्रासाउन्डपछि उनको पेटमा अझै दुइटा बच्चा रहेको पाइयो । गरिब परिवारकी ती महिलाले पहिले अल्ट्रासाउन्ड गराएकी थिइनन् ।

शल्यक्रियामार्फत जुम्ल्याहा छोरा र छोरी निकालेको चार दिनपछि महिलालाई डिस्चार्ज गरिएको थियो । आकस्मिक शल्यक्रियामा संलग्न डा शीला पोदारले बीबीसीसँग भनेकी छन्, ‘मैले यस्तो केस कहिल्यै सामना गरेकी थिइनँ ।’ डा शीलाका अनुसार तीनै सन्तान सकुशल छन् । परिवारमा नयाँ सदस्य आएका कारण तिम्ल्याहाकी आमा खुसी भए पनि अब बच्चाहरुलाई कसरी हुर्काउने भनेर चिन्तित छन् ।

प्रकाशित: चैत्र १८, २०७५