निभ्यो त्यो तेज

- सुनिता लोहनी

जहाँ हिंसापीडित, त्यहाँ तेजश्री थापा । १० वर्षे सशस्त्र द्वन्द्वपीडितका पक्षमा आवाज उठाएकी उनले तीन वर्षअघिको मधेस आन्दोलनका हिंसात्मक घटना उजागर गर्न अनवरत काम गरिन् । उनै ५२ वर्षीया तेजश्रीले अघिल्लो साता न्युयोर्कमा देहत्याग गरिन् ।

सशस्त्र द्वन्द्व समयमा तेजश्रीकै अगुवाइमा प्रत्यक्षदर्शीसँग कुरा गरेर यौन हिंसामा परेका महिलाको पहिलो दस्तावेज ह्युमन राइट्स वाचले सार्वजनिक गरेको थियो । त्यसैगरी मधेस आन्दोलनताका घटना छानबिन गर्न तेजश्रीलाई सहयोग गरेको सम्झिँदै प्रदेश २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झा भन्छन्, "उहाँ पीडित वर्गको दुःख महसुस गर्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो ।"

तेजश्रीको मानव अधिकार संरक्षण अभियान नेपालमा मात्र सीमित थिएन । उनले संकट र द्वन्द्वको समयमा बाल्कन, बंगलादेश तथा श्रीलंकामा सेवा गरेकी थिइन् । १३ वर्षदेखि तेजश्रीकी मित्र पत्रकार सुविना श्रेष्ठ उनलाई सफा हृदयकी भावुक योद्धाका रुपमा सम्झिन्छिन् । "मानव अधिकारबाट वञ्चितका लागि जे पनि गर्न तयार हुने उनीजस्तो व्यक्तित्व अन्यत्र पाइँदैन," उनी थप्छिन् । 

पूर्वराजदूत भेषबहादुर थापा र डा रीता थापाकी जेठी छोरी तेजश्रीको जन्म सन् १९६६ मा काठमाडौँमा भएको थियो । वेल्स्ली कलेज तथा कर्नेल ल स्कुलमा अध्ययन गरेकी उनी ह्युमन राइट्स वाचमा दक्षिण एसियाका लागि वरिष्ठ अनुसन्धानकर्ता थिइन् ।

ह्युमन राइट्स वाचको विज्ञप्तिमा बालबालिकाप्रति उनको विशेष सहानुभूति रहेको उल्लेख छ । तत्कालीन सशस्त्र युद्धताका सेनाले गिरफ्तारपछि घाइते पारिएकी माओवादी लडाकू बालिकाको पक्षमा सरोकारवालासँग विरोध गरेकी थिइन् । सो कुरा आफ्नो रिपोर्टमा समेत उल्लेख गरिन् ।

सन् २०१७ को अगस्तमा उनले बंगलादेश तथा म्यानमारको सिमानामा भ्रमण गरेकी थिइन् । उनी पहिलो मानव अधिकारकर्मी थिइन्, जसले रोहिंग्या मुस्लिम समुदायप्रति म्यानमारका सेनाले गरेको ज्यादती दस्तावेजमार्फत सार्वजनिक गरेकी थिइन् ।

उनले सुरुआतमा महिला हिंसाविरुद्ध राष्ट्रसंघीय विशेष प्रतिनिधिका रुपमा काम गरिन् । त्यही क्रममा राष्ट्रसंघीय मानव अधिकार आयोगका लागि श्रीलंकाली गृहयुद्धमा भएका लैंगिक हिंसामाथि अनुसन्धान गरेर प्रतिवेदन तयार पारिन् ।

त्यसपछि तत्कालीन युगोस्लाभियाका लागि गठित अन्तर्राष्ट्रि्रय अपराध ट्रिब्युनलमा काम गरिन् । हेगस्थित उक्त टि्रब्युनलमा करिब १० वर्ष काम गर्दा उनले यौन हिंसामाथि अनुसन्धान गरेकी थिइन् । त्यसपछि उनी ह्युमन राइट्स वाचमा आबद्ध भएकी थिइन् । लेखिका मञ्जुश्री थापाले दिदीको निधनपछि 'तेज र आफू आत्मीय साथी रहेको' ट्वीट गरेकी छन्

 

 

तेजश्रीले मानव अधिकारका क्षेत्र, यौन हिंसा तथा सशस्त्र द्वन्द्वमा गरेको कामको स्मरण गर्दै ड्यानिएल ल्याकले नेपाली टाइम्समा लेखेका छन्, 'तीक्ष्ण मस्तिष्क र गहिरो भावनाकी उनलाई साथी, परिवार तथा सहयोगीले संसारका निर्दोषहरुका पक्षमा काम गर्ने निर्भीक अभियन्ताका रुपमा सम्झनेछन् ।'

प्रकाशित: चैत्र १७, २०७५

ट्याग: सम्झना