रसिलो अर्ग्यानिक खुराक (फिल्म समीक्षा : साइँली)

फिल्म : साइँली | रेटिङ : ३/५

- गोकर्ण गौतम

नेपाली समाजको तीतो नियति हो, वैदेशिक रोजगार । त्यस्तो परिवार भेट्न धौधौ हुन्छ, जसका सदस्य कामको सिलसिलामा परदेशिएका नहोऊन् । यो यथार्थलाई नेपाली सिनेमाले अनदेखा गरेका छैनन् । समस्याचाहिँ बिकाउ र सतही चित्रणमै सीमित छन् ।सार करिब एउटै हुन्छ,पैसा कमाउने लालसामा श्रीमान् विदेश जान्छ, यता श्रीमतीचाहिँ परपुरुषसँग सल्किन्छे । रामबाबु गुरुङ निर्देशित साइँलीको केन्द्रमा पनि वैदेशिक रोजगार छ तर विद्यमान 'क्लिसे' धङधङीबाट ग्रस्त छैन । बरु यसको गहन र व्यावहारिक पाटोलाई पटाक्षेप गरिएको छ । गुरुङको 'ट्रेडमार्क' झैँ प्रस्तुति हास्यरस नै छ । अनि, पात्र, उनीहरुका बोलीचाली, व्यवहार,लोकेसनमा स्थानीयपनको सुगन्ध । अर्थात्, कबड्डीकै विरासतलाई गुरुङले निरन्तरता दिएका छन् ।

कास्कीको सुन्दर गाउँका वीरे (दयाहाङ राई) र पीताम्बर (गौरव पहारी) मिल्ने साथी हुन् । दुवैको इलम छैन, हल्लिएरै दिन काट्छन् । यस्तैमा पल्लोगाउँकी साइँली (मेनुका प्रधान) सँग पीताम्बरको माया बस्छ । साइँलीकी सखी सुनीता (केनिपा सिंह) लाई वीरेले मन पराउँछन् । वीरेका लागि 'प्रेम आए आँप गए झटारो' हो । पीताम्बरचाहिँ साइँलीबिना बाँच्नै नसक्ने हुन्छन् । तर न साइँलीसँग उनको जात मिल्छ, न वर्ग । साइँलीका बाबु फुर्तिमान (माओत्से गुरुङ) सँग लिएको ऋण तिर्न नसकेर पीताम्बरका बाबु पद्म(प्रकाश घिमिरे)लाई उस्तै तनाव छ । यस्ता अनेक अवरोध आएपनि साइँली र पीताम्बर विवाह गर्छन् । तर कमजोर अवस्थाका पीताम्बर साइँलीसँग सुखले एकसाथ बस्न पाउलान् ? पैसाकै अभावमा यो सम्बन्धमाथि आइपरेको संकटवरपर घुमेको छ, फिल्म ।

यो फिल्मको नाम हेमन्त रानाको बहुचर्चित गीत 'सुन साइँली...'बाट सापट लिइएको हो । हेमन्त पनि निर्मातामध्ये एक हुन् । उक्त भिडियोमा साइँला-साइँलीको रुपमा गौरव-मेनुकालाई नै देख्न पाइन्थ्यो । तर, भिडियोको कथाभन्दा फिल्म बिल्कुल अलग छ । त्यही अपेक्षा लिएर हल पुग्ने दर्शक निराश हुन्छन् भन्नै परेन तर यसलाई स्वतन्त्र ढंगले हेर्दाचाहिँ मुहारमा मुस्कान छाउने अनेक गुण छन् ।

हामीकहाँ सीमापारिका फिल्मबाट नक्कल गरी वा अचाक्ली प्रभावित भएर बनाइएका फिल्मको चर्को दबदबा छ । भाषाबाहेक ती फिल्मलाई आत्माबाटै आफ्नोपन महसुस गर्न सकस पर्छ । साइँलीचाहिँ हाम्रै परिवेश, जीवनशैली र भोगाइको समीप छ । हरेक पात्रमा कहीँ न कहीँ आफूलाई भेटिन्छ । कथा अगाडि बढाउने मामलामा चाहिँ लेखक/निर्देशक गुरुङको गति धीमा छ । मध्यान्तरसम्म पीताम्बर र साइँलीको माया, वीरेको निर्दोषपना, केही पारिवारिक उल्झनमै अल्झाइएको छ । पीताम्बरको जोडीको रोमान्स झर्रो शैलीमा पस्कन समय खर्चिएको छ । मूल विषयको प्रवेश ढिला छ । यत्ति हो, लगभग हरेक दृश्यमा हाँस्न पाइन्छ ।

मध्यान्तर पश्चात् भने फिल्म गम्भीर हुँदै जान्छ । विवाहपछिको व्यावहारिक कठिनाइले पतिपत्नीबीच उत्पन्न हुने मनमुटाव मनछुने ढंगले उन्न खोजिएको छ । नामअनुसार फिल्मकी मेरुदण्ड साइँली नै हुन् । उनी देवकोटाको मुनामदन  पढिरहिन्छन् । मदन भोट जाँदा दुःखी हुन्छिन् तर उनी आफैँ मदनको आधुनिक संस्करण बन्नुपर्छ । अझ धेरै महिला घरको चौघेरामै सीमित छन् । साइँली परिवारको सुखद भविष्यका लागि परदेसिने हिम्मत गर्छिन् । यसमानेमा  उनी सशक्त र प्रेरणादायी पात्र हुन्, हाम्रा लागि ।

खट्कने पक्ष पनि उत्तिकै छन् फिल्ममा । फुर्तिमान ऋण दिएन भनेर बडो फुर्ति लगाउँछन् । पूर्ववडाध्यक्षको ऋणको प्रभाव पनि चर्को छ, कथामा । तर ऋण कति हो र पात्रहरुले त्यति सास्ती भोग्नुपर्‍यो ? निर्देशक मौन छन् । पीताम्बर विदेश जान नपाएको कारण 'सिनेमा लिबट्री' भित्र पर्दैन बरु हास्यास्पद लाग्छ । साइँलीका पुरुष पात्रहरु गुरुङ निर्देशित यसअघिका फिल्मकाभन्दा खास फरक छैनन् । दयाहाङमा कबड्डीका विजय बराल र बुद्धि तामाङको झल्को आउँछ । पूर्ववडाध्यक्षले हात जोडेर माफी माग्नुपर्ने के गल्ती गरेको थिए ? भेउ पाइन्न । बरु स्थानीय जनप्रतिनिधिको दलालमा रुपान्तरणचाहिँ सामाजिक कटाक्ष हो । मध्यान्तरपछि पीताम्बरमा देखिएको रुखोपना विश्वसनीय लाग्दैन । सेटअप पनि कबड्डीको जस्तै-जस्तै छ । यद्यपि, साइँलीसँगै अन्य पात्र र उनका व्यथाहरु आत्मीय लाग्ने भएकाले झेल्न मुस्किल हुन्न । हाँस्दाहाँस्दै आँखा रसाउने दृश्य उत्तिकै छन् ।

साइँलीमा अधिकांश फिल्ममाझैँ हँसाउनकै खातिर द्विअर्थी र बेअर्थी संवाद थोपरिएको छैन । पात्र र दृश्यको भाव अनुरुप रसिला संवाद छन् । धेरै हदसम्म गाउँले बोलीचाली र बान्कीका भएकाले प्रिय लाग्छन् । यो पनि सत्य हो, गुरुङको ध्यान उम्दा दृश्यभन्दा हास्यरसका संवाद सिर्जन ज्यादा छ । फिल्म निर्देशकलाई यस्तो प्रवृत्तिले शोभा दिँदैन । तर पछिल्ला दुई फिल्म मिस्टर झोले  र पुरानो डुंगाबाट निराश पारेका गुरुङ साइँलीबाट आफ्नै लयमा फर्किएका छन् । थप निखारचाहिँ देखिन्न । यही पकवान कहिलेसम्म ? उनले आफैँलाई सोध्नुपर्छ ।

मेनुका पछिल्लो समयकी प्रभावशाली अभिनेत्री हुन् भन्ने नयाँ प्रमाण हो साइँली । पात्रलाई आत्मसात् गर्ने मामलामा कुशलता देखिन्छ उनमा । दयाहाङलेचाहिँ फिल्ममा ताजगी ल्याइरहन्छन् । उनको बोल्ने शैली, व्यवहार, हिँडाइ, मनमौजी स्वभाव उनका फ्यानलाई प्यारो लाग्छ । दयाहाङजस्ता खारिएका कलाकारसँग ' स्क्रिन सेयर' गर्दा पनि गौरव पहारी कमजोर लाग्दैनन् । उनका लागि पनि यो फिल्म सम्झनालायक हुनेछ । डेब्यु फिल्ममै केनिपा सिंह सिनियर कलाकारको भीडमासमेत आफ्नो अलग छवि बनाउन सफल छिन् । प्रकाश घिमिरे, माओत्से गुरुङ, किरण चाम्लिङ राईजस्ता सहायक कलाकार पनि उत्तिकै फिट छन् । अप्सरा मिस (इष्टु कार्की) लाई हलबाहिर निस्कँदा पनि बिर्सन सकिन्न । 'नाच माया...' र 'प्याट प्याटे....' गीतलाई कथावाचनमै प्रयोग गर्न खोजिएको छ । दृश्यको मर्म अनुकल छ, शैलेन्द्र डी कार्कीको खिचाइ पनि ।

रैथाने स्वाद र शैली पारखीलाई साइँली प्रिय लाग्छ । भाषामात्र होइन, हरेक कोणबाट अपनत्व आभास हुन्छ । यत्ति हो, यो फिल्म नराम्रो लाग्नेलाई पनि पराईचाहिँ लाग्दैन, आफ्नै लाग्छ ।

प्रकाशित: चैत्र १५, २०७५