सरकारी अड्डामा पहिलो हड्ताल

- हरिराम जोशी

तलब वृद्धिको एकसूत्रीय मागसहित नेपालमा पहिलो पटक सरकारी अड्डाखानामा निजामती कर्मचारीले हड्ताल गरे, १९ जेठ ००९ देखि । उबेला कांग्रेस/कम्युनिस्ट समर्थक कर्मचारी संगठन क्रियाशील थिएनन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका बा भक्तलाल श्रेष्ठ खरदारसरहका सरकारी जागिरे थिए । भक्तलाल घरेलु अफिसमा काम गर्थे ।

त्यतिबेला नेपालभर कर्मचारी संख्या पुगनपुग यस्तै ५ हजारजति थियो । भक्तलाल अध्यक्षताको ‘निम्न वैतनिक कर्मचारी संघ’ ले हड्ताल गर्‍यो । संघका महासचिव महेश्वरमान थुँथुँ थिए । उनीचाहिँ हनुमानढोका मुद्रा संग्रहालयमा नायब सुब्बा थिए । भक्तलाल संघको अध्यक्ष भए पनि खासै क्रियाशील थिएनन् । महेश्वरमानले नै आन्दोलनलाई अगाडि बढाइरहे ।

तलब वृद्धिको एकसूत्रीय मागसहित सुरु आन्दोलन करिब साता दिन चल्यो । त्यो आन्दोलनमा कांग्रेस समर्थक कर्मचारीको पनि साथ/सहयोग रह्यो । आन्दोलनको मुख्य थलो काठमाडौँ तीनधारा पाठशाला र सानो टुँडिखेल (हालको दशरथ रंगशाला) हुन्थ्यो । उबेला रत्नपार्क बनिसकेको थिएन । सभा–जुलुस प्रदर्शन स्थल तीनधारा पाठशालावरपर ठूलो खाली चौर थियो । त्यहीँ राजनीतिक पार्टीका आमसभा हुन्थे । तलब वृद्धिको आन्दोलनमा बा सरिक भएकाले पुष्पलाललगायतका कम्युनिस्ट नेताले उनीहरुका पक्षमा भाषण गर्थे ।

त्यतिबेला अहिलेजस्तो कर्मचारीको माउ अड्डा सामान्य प्रशासन मन्त्रालयको संरचना बनिसकेको थिएन । कर्मचारीको खटनपटन गृह मन्त्रालय प्रशासन सेवा विभागको जिम्मा थियो । पाटनढोका र सिंहदरबारमा कर्मचारीलाई रोक्न ‘पिकेटिङ’ हुन्थ्यो । यी दुई स्थानबाट कर्मचारीले आफ्ना माग सरकारलाई सुनाउँथे । यसो गर्नुको उद्देश्यचाहिँ कोही पनि कर्मचारी आ–आफ्ना अड्डामा हाजिर हुन नजाऊन् भन्ने थियो । कर्मचारी आन्दोलनका बेला म विद्यालय तहमै अध्ययनरत भए पनि दाजुको सक्रियता रह्यो । दाजु केशवराम जोशी नेपाल कम्युनिस्ट पार्टी (२००९) पाटनका सेक्रेटरी थिए । उनले कर्मचारीका मागमा समर्थन गरेका थिए । सोही कारण म दाजुका पछि लागेर विरोधसभा स्थल पुग्थेँ ।

अचम्म के भने उबेला राणा हटिसके पनि सरकारी पुलिसमा समायोजन भएका मुक्ति सेनाका कमान्डरले दाजुलाई भाषण गर्दा पक्राउ गरे । कर्मचारी आन्दोलन शिथिल भएसँगै दाजु पनि छुटे । खुला रुपमा राजनीतिक गतिविधि अगाडि बढाउन नसक्ने भएपछि दाजु नेपालको सबैभन्दा पुराना सुन्धारा पाटन लुकुसे टोलको एक घरमा तीन वर्षसम्म भूमिगत रहे । त्यहीँ बसेर उनले कम्युनिस्ट गतिविधि अगाडि बढाए ।

त्यो आन्दोलनलाई समर्थन गर्दै साहित्यकार तथा समाजसेवी धर्मरत्न यमी (हिसिला यमीका बा) ले पनि कर्मचारीका पक्षमा बोले । म तीनधारा पाठशालामा आयोजित त्यो सभामा सरिक थिएँ । धर्मरत्न सभास्थलमै बोलिरहँदा राजदरबारबाट आएका एक प्रतिनिधिले ‘तपाईंलाई मन्त्रीका लागि निम्तो आएको छ’ भनिदिए । आफ्ना कुरा नसिद्धिँदै सभास्थल छाडेर उनी राजदरबारमा शपथग्रहणका लागि गए । धर्मरत्नले मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा जंगल उपमन्त्रीको जिम्मेवारी पाए । साहित्यानुरागी धर्मरत्नको भारतीय हिन्दी साहित्यका अग्रज राहुल सांकृत्यायनसँग हिमचिम थियो । राहुल नेपाल आउँदा यिनै यमीका घरमा पाहुना हुन्थे ।

गृहमन्त्री शारदाशमशेर जबरा र शिक्षासचिव रुद्रराज पाण्डेको टोलीले आन्दोलनकारी कर्मचारीसँग वार्ताको जिम्मा पाएको थियो । अन्ततः कर्मचारीले राखेको वेतन वृद्धि मागमा सरकारी टोली सहमतिमा पुग्यो र साताव्यापी आन्दोलनले विश्राम लियो ।आन्दोलनका क्रममा निलम्बनमा परेका न्यून वैतनिक कर्मचारी संघका अध्यक्ष श्रेष्ठ, महासचिव थुँथुँ, राममान प्रधानलगायतका ३६ कर्मचारीको ५२ दिनपछि कारबाही फुकुवा भयो । पछि भक्तलाल नासुसम्म भए भने थुँथुँले हनुमानढोका मुद्रा संग्रहालयमा सेक्सन अफिसरका रुपमा सेकेन्ड म्यान भएर काम गरे ।

उबेला न्यून वैतनिक सरकारी कर्मचारीको तलब सिपाहीदेखि नायब सुब्बासम्मको ११–८० नेरु थियो । आन्दोलनपछि २० प्रतिशत तलब बढाउने सहमतिसँगै न्यून वैतनिक कर्मचारीमध्ये सिपाही ११, राइटर १३, बैदार १३, खरदार २५, नायब डिठ्ठा ३०, खरदार ४५ र नायब सुब्बाको १ सय रुपैयाँ तलब पुग्यो । यसरी म पहिलो पटक निजामती अड्डामा भएको हड्तालको प्रत्यक्षदर्शी हुन पुगेँ ।

प्रस्तुति :गोकुल अर्याल

प्रकाशित: चैत्र १५, २०७५

ट्याग: स्मरण