खुर्सी

- रमेश सायन

पढाइमा भुस्कुल थिएँ । फेल हुने पक्का थियो । फेल भएपछि घरबाट पाउने अनुदानमा कटौती हुने निश्चित थियो । यसकारण कलेज सुरु हुादा–नहुँदै काम खोज्न थालेँ ।

पसलमा गएर भन्थेँ, ‘मलाई काम देऊ !’

काम माग्दा पाइन्छ भन्ने थाहा थियो । मधेसमा जनबनियारी गर्नेहरु यसैगरी घरघर पसेर काम खोज्थे । काम खोज्ने तरिका तिनैबाट सिकेको हुँ । काम गर्दा पैसा आउनुपर्थ्यो, कामको जात जे भए पनि । विराटनगर पस्दापस्दै ढोकामै आउँछ खार्जी चोक । खार्जी चोकैमा एउटा कठघेरा थियो, जहाँ पुराना साइकिल मर्मत हुन्थे । चक्का दुलो परे टालिन्थ्यो । त्यो दुकानको नाम थिएन ।

एक दिन म काम खोज्दै त्यहाँ पुगेँ । पुरानो ट्युब टाल्दै गरेका साहूजीलाई नमस्कार गरेँ । उनले हातको औजार भुइँमा राखे । दुवै हात जोडे । नमस्कार फर्काए । लाग्थ्यो, जीवनमा पहिलोपल्ट उनलाई कसैलै नमस्कार गरेको हो । नमस्कार गर्दा जोडिएका दुई हात फुकेपछि उनले मलाई हेरिरहे । तर केही बोलेनन् ।

‘दाइ, तपाईंको दुकानमा काम पाइन्छ ?’ मैलै भनेँ । काम सोधेपछि उनी हिस्स परे । दुई हात जोडेर नमस्कार फर्काएकामा पछुताएझैँ गर्दै भने ‘यत्ति सानो दुकानमा के काम हुन्छ र ? आफैँलाई पुग्दैन ।’

मेरो शिरदेखि पाउसम्म फेरि हेरे । उनले देखे, तोरीको तेल दलेर दुईतिर सिउँदो फारेको मेरो टाउको, जुन तेरे नाममा सलमान खानले फारेका थिए । देखे, ज्यानमा सेतो सर्ट र नीलो जिन्स पाइन्ट । देखे, खुट्टामा छालाको कालो जुत्ता । भर्खर कलेज पढ्न सहर पसेको हुनाले बाले किनिदिएको पोसाक थोत्रिसकेको थिएन ।

उनी ट्युब टाल्न थाले । छेउमा उभिएको एक जनाले मलाई हेर्‍यो, जो साइकिलधनी रहेछ ।‘यस्तो लुगा लगाएर साइकिल दुकानमा काम खोज्न आ‘को भाइ ! बैंकमा वा कुनै अफिसतिर जाऊ ।’ साइकिलधनीले आदेशको भाषामा भन्यो । हिँड्न खोज्दै थिएँ । फेरि बोल्यो– ‘कति पढेका छौ ?’ ‘आईकम पढ्दै छु ।’‘बच्चालाई ट्युसन पढाउँछौ ?’ ‘पढाउँछु ।’ ‘उसो भए मेरो बच्चालाई सित्तैमा पढाइदेऊ । म अरु बच्चा खोजिदिन्छु ।’ त्यो मान्छे कमिसन खान पल्केको सरकारी कर्मचारी हुनुपर्छ । मैले ‘हुन्छ’ भनेँ । ‘भोलि दिउँसो ४ बजे यही ठाउँमा आऊ ।’ फेरि आदेशको भाषा बोल्यो । मैले मानेँ ।

हिँड्ने बेला दुकानवालालाई हेरेँ । मैलो लुगा । जताततै कालो लागेको । मैलो हात । चप्पलबिनाको पैताला देखेँ । यतिका बेर उसको हुलिया नदेखे को स्पष्ट कारण भेटिनँ । तर अहिले सोच्न सक्छु– चाँडै भुराहरुको मास्टर हुँदै थिएँ । यसकारण साइकिल ग्यारेजको मालिकलाई ‘मैलो’ देखेको हुनुपर्छ । जसरी केही बढेकाहरुले ‘म किसान हुँ’ भनेर थाहा पाउँदा तपाईं सम्बोधन गर्दागर्दै तिमीमा ओर्लिन्छन् ।

भोलिपल्ट ४ बजे गएँ, तर त्यो साइकिलधनी आएन । ५ बज्यो । ६ बज्यो । आएन । कसैलाई पर्खिनुको दुःख कस्तो हुन्छ, त्यो तपार्इंलाई थाहा छ । जीवनमा कसै न कसैलाई पर्खिनुभएको छ । केही न केही पर्खिनुभएको छ । अन्ततः हात लागी शून्य हुनुभएको छ ।

साइकिल दुकानवालाले भने, ‘मेरो ‘छोरालाई पढाइदेऊ । म अरु बच्चा खोजिदिन्छु ।’ मैले उनको अनुहार हेरेँ । अनुहारमा कुनै भाव थिएन । छोरालाई पढाउने प्रस्तावसमेत भावशून्य मुद्रामा राख्दा नसुहाउँदो रहेछ । उनको छोरा सरकारी स्कुलमा २ कक्षामा पढ्दो रहेछ । नभन्दै भोलिपल्ट दिउँसो साढे ४ बजे उनले बच्चा भेला पारिदिए । महिनाको ५० रुपैयाँ फी मूल्य भएका दस बच्चा पढ्न आउन थाले । ती बच्चाको हुलिया एकै नासको थियो । खुट्टामा चप्पल थिएन । नाकमा सिँगान । जीउमा राम्रो लुगा थिएन । टाउकोमा माटो–धूलो थियो । हात फोहोर थियो । पसिनाले जीउ गन्हाएको थियो ।

यी बच्चा कसरी पढाउने ?

म पहिलोपल्ट मास्टर भएँ । कसरी अक्षर सिकाउने ? जसरी मलाई सानामा मास्टरले हात समातेर अक्षर सिकाएका थिए, उसैगरी सिकाएँ । बच्चाहरुले अक्षर लेखेको देख्दा खुसी लाग्दो रहेछ ।

जसरी पनि पढाउने । मलाई पैसा चाहिएको छ । सहर छेउछाउको सरकारी स्कुल पढ्ने बच्चाको अभिभावक कुन आर्थिक हैसियतका हुन्छन् । यो भन्नुपर्ने कुरा होइन । खार्जीका ती अभिभावकका घरमा खरको छानो थियो । भित्तामा माटोको लिउन थियो । जाडोमा न्यानो नहुने ओछ्यान थियो । सबै मजदुर थिए । सपना भन्नु सरकारी स्कुलमा छोराछोरी पढाउनु थियो । अरु केही थिएन । हप्ता दिन सरकारी स्कुलको चौरीमा बच्चाहरुलाई ट्युसन पढाएँ । कोही अक्षर जान्दथे, कोही सिक्दै थिए । शिशुदेखि ५ कक्षासम्मका विद्यार्थी जम्मा थिए । म पहिलोपल्ट मास्टर भएँ । कसरी अक्षर सिकाउने ? जसरी मलाई सानामा मास्टरले हात समातेर अक्षर सिकाएका थिए, उसैगरी सिकाएँ । बच्चाहरुले अक्षर लेखेको देख्दा खुसी लाग्दो रहेछ ।

हप्ता दिनपछि एक अभिभावक आएर भने, ‘सर, बच्चालाई घरमै पढाइ दिनू । म दलान दिन्छु ।’ सरकारी स्कुलको ताल गतिलो थिएन । बच्चालाई ट्युसन पढाए जान्ने होला भन्ने आशा बाआमामा थियो, जसको फाइदा मलाई थियो । भोलिपल्टदेखि गाउँमा पसेर पढाउन थालेँ । एउटा सानो घरको दलानमा विद्यार्थी जम्मा भए । सबै बोरा बोकेर आए । आ–आफ्ना बोरामा बसे । तर त्यो साइकिल दुकानको छोरा आएन ।

भोलिपल्ट आफैँ लिन गएँ । मानेन । उसको बाले हकारेपछि आयो । दलानधनीले साइकिलवालाको छोरालाई अलग्गै आँगनमा बस्न भन्यो । अरु विद्यार्थी दलानमा बसे । बुझ्दा थाहा भयो– उसको जात मुसहर रहेछ । साह्रै खल्लो लाग्यो । विद्रोह गरेर दलानमा राख्न सकिनँ । कुरो बुझाउने कोसिस गरेँ तर सकिनँ । दलानधनीले मानेनन् । ‘मुसरको छोरालाई हाम्रा छोराछोरीसँग राखेर पढाउने भए, हाम्रा बच्चा पनि नपढाउनू बरु ।’ सीधै भने । साइकिलधनीको छोरा भोलिपल्टदेखि आउन छाड्यो ।

पछि उसकै घरमा गएर पढाएँ । चलाख थियो । अरु बच्चाभन्दा फरक थियो । भनेको मान्थ्यो । चकचक कम गर्थ्यो । उसको हातखुट्टाका नङ काटिदिएँ । सधैँ नुहाउन लगाएँ । हातखुट्टा धुन लगाएँ । सुकिलो भएर स्कुल जान थाल्यो । ऊसँगै अरु गाउँका तीन बच्चा पनि पढ्न थाले । उसले चाँडै वाक्य बनाउन जान्यो । एक दिन आफ्नाबारेमा लेख्न भनेँ । उसले लेख्यो– ‘मेरो नाम मुकेश मुसर हो । हाम्रो घर खार्जी हो । बुबाको नाम खुर्सी मुसर हो । बुबा साइकिल दुकानमा काम गर्नुहुन्छ । आमाको नाम छैन । घरमा काम गर्नुहुन्छ ।’

उसकी आमाको नाम साँच्चिकै छैन । गाउँलेले खुर्सी मुसहरकी स्वास्नी भन्छन् । उनी लोग्नेकै नामबाट चलेकी छिन् । खुर्सीको नाम त छ तर नामको कुनै काम छैन । उनको नाम नेपाली नागरिकतामा छैन । उनी स्वयं अक्षरमा ‘खुर्सी’ लेख्न जान्दैनन् । लोग्नेको समेत नामको कुनै काम नभएपछि स्वास्नीको नामको काम हुने कुरै भएन । यसकारण छोराले आमाको नाम लेख्न जानेन । मैले सिकाउन सकिनँ । महिनाको ५० रुपैयाँ पाउने आशामा पढाउन थालेको फुच्चे आफ्नोजस्तो भयो । आफ्नो भएपछि पैसाको मूल्य नहुँदो रहेछ । प्रेम हुँदो रहेछ । अरु मास्टरलाई यस्तो हुन्छ कि हुँदैन ? तर म मास्टरलाई बच्चाको भविष्यसँग लोभ लाग्यो ।

ऊ २ बाट ३ कक्षामा जाँदा फस्ट भयो । छोरो फस्ट भएपछि खुर्सी असाध्यै खुसी भए । साइकिल दुकानमा आउने ग्राहकलाई सुनाउँथे, ‘मेरो छोरो फस्ट भयो ।’ उनको खुसी धनीका छोराछोरीले कुनै विदेशी विश्वविद्यालय टप गरे बराबर थियो । प्रायः ऊ बोल्दा भावशून्य मुद्रा हुन्थ्यो । बोली र अनुहारको भावमा कुनै तालमेल हुँदैनथ्यो । छोराले त्यो तालमेल मिलाइदियो । मैले देखेँ, उसको अनुहारमा खुसीको आभा । धनीलाई भन्दा गरिबलाई खुसी धेरै सुहाउँदो रहेछ । मैले धनीहरु खुसी भएको देखेको छु तर त्यस्तो सुहाएको देखेको छैन, जस्तो छोरो फस्ट हुँदा खुर्सीलाई सुहाएको थियो ।

....

मेरो आईकम पहिलो वर्षको परीक्षा सकियो । फुर्सद सुरु भयो । एक महिना ट्युसन पढाउने कामबाट बिदा लिएर घर गएँ ।

एक महिनापछि आईकम दोस्रो वर्षको पढाइ सुरु भयो । फर्किएँ । फेरि ट्युसन पठाउन गएँ । खार्जी चोकमा खुर्सीको साइकिल दुकान बन्द थियो । दुकानको भित्तामा अँगारले ठूलो अक्षरमा लेखिएको थियो ‘खुर्सी’ । अक्षर देखेर आनन्द लाग्यो । त्यो मुकेशले लेखेको पक्का हो ।

किन साइकिल दुकान बन्द गरेछ ?

सरासर खुर्सीकै घर पुगेँ । साइकिल दुकानजस्तै घर पनि बन्द थियो ।

के भयो ?

बाकै साइकिल दुकानअघि मुकेशलाई ठक्कर दिएर कार भागेछ । बा भन्थे रे, ‘ कालो रंगको कार थियो ।’ उनले कारको रंग चिने तर नम्बर चिनेनन् । घाइते छोरो बाँचेन । त्यसपछि खुर्सीले साइकिल दोकान बन्द गरे । छोराको शोकमा डुबे ।

पाँच दिनदेखि खुर्सीका बूढाबूढी घरमा रहेनछन् ।

गाउँले भन्छन्, ‘खै, ठीक ठेगान छैन । बहुलाजस्ता भएका थिए दुवै  बूढाबूढी ।’

मलाई रिंगटा लाग्यो । त्यहाँबाट फर्किएँ । मुकेश र खुर्सी आँखामा आए । आँसु बनेर खसे । त्यसपछि मैले कुनै बच्चालाई ट्युसन पढाइनँ ।

.....

आज मेरी सानी भतिजीले पेन्सिल समातेर आफ्नो नाम लेखेको देख्दा मुकेश र खुर्सीका बाबु–छोरा आँखामा आए ।

प्रकाशित: चैत्र १४, २०७५

ट्याग: संस्मरण