कोही किन निर्माता बनोस् !

- यज्ञश

एक निर्माता मित्रसँग हालैको भेटमा सिनेमाको व्यापारबारे जान्न चाहेँ । तीन करोड लगानीमा डेढ महिनाअघि रिलिज फिल्म डुबेको मैले पढेको थिएँ । सोधेँ, “त्यो फिल्मले पोस्टरको पैसा त उठायो ?”

कुर्सीबाट अलि अघि सरेर उनले भने, “पोस्टर रे ! पोस्टर टाँस्ने माडको पैसा पनि उठाएन ।”

वर्षमा ५–७ फिल्म छाडिदिने हो भने प्रायःको व्यापार डाँवाडोल छ । रिलिजको एक–दुई सातासम्म निर्माताले दिनको करोड उठाएको दाबी गरे पनि एक महिनापछि खास आँकडा भन्न थाल्छन् । हिसाबमा पारदर्शिता नभएका कारण निर्माताको दाबीलाई नै सच्चा समाचार मानिन्छ ।

व्यापारको यही हालतबीच फिल्म युनिटले कलाकारलाई ४०–५० लाख पारिश्रमिक दिएको प्रचार मात्र गरिरहेका छैनन्, आफैँले उनीहरुलाई ‘मेगास्टार’ को उपाधि पनि गोरखा दक्षिणबाहु जसरी बाँडिरहेका छन् । अमिताभ बच्चन हुन् वा राजेश हमाल, करिब दुई दशकको सफलतापछि मात्रै उनीहरुलाई यस्तो उपाधि पत्रपत्रिकाले दिएका थिए । अब भने निर्माताले नै आफूले दिएको पारिश्रमिकअनुसार उपाधि पनि दिन थालेजस्तो लाग्छ । २० लाख लिने सुपरस्टार, ४० लाख माग्ने मेगास्टार !

हलमा फिल्म प्वाल परेको डुंगा पानीमा डुबेजसरी डुब्दै गए पनि पोस्टर, ट्रेलर र टिजरमा भने स्टारहरुको डुंगा तैरिइरहेको छ । यो उपाधि र पारिश्रमिक केवल पुरुष कलाकारका लागि छुट्याइएको छ । नम्रता श्रेष्ठ वा स्वस्तिमा खड्काजस्ता अभिनेत्रीले आफ्नो अभिनयको बलमा फिल्मलाई बोकेर हिँडे पनि उनीहरुलाई यसको योग्य मानिएको छैन । फिल्मको बजेट बढेर दुई, अढाई करोड पुगेको छ । अढाई करोड लगानी उठाउन एउटा फिल्मले अहिलेको हिसाबअनुसार ८ देखि १० करोडको व्यापार गर्नुपर्छ । गफ दिनु एउटा कुरा, खास व्यापारमा अहिलेसम्म २–३ वटा नेपाली फिल्मले मात्र यति व्यापार गरेका छन् । एक करोडको लगानी उठाउने नगन्य छन् ।

फिल्मको कन्टेन्ट र स्क्रिप्ट भनेको पिलर हो । दुई करोड बजेट भएको फिल्ममा त्यसको एक प्रतिशत दुई लाख स्क्रिप्ट राइटरलाई दिन निर्माताको दाँतबाट पसिना निस्किन्छ ।

फिल्ममा लगानी भने रोकिएको छैन । बरु निर्माता वा लगानीकर्ता फेरिइरहेका छन् । लगातार फिल्म बनाउने निर्माताको संख्या ५ प्रतिशतजति भएको अनुमान छ । फिल्म डुबेसँगै एउटा लगानीकर्ता यो क्षेत्रबाट पलायन हुन्छ तर उसकै सफलताको समाचार पढेर अर्को व्यक्ति लगानी गर्न आइपुग्छ । छोटो समयमा धन आर्जन गर्नेहरु समाजमा प्रतिष्ठा र प्रचारको खोजीमा पनि लगानी गर्न आइपुग्छन् भनेर कलाकार नै भन्ने गर्छन् । आफ्नो फिल्म र कलामाथि विश्वास भएर लगानी गर्ने पनि केही होलान् । वर्षमा ६० भन्दा बढी नेपाली भाषाका फिल्म बनिरहेका छन् । कहिले त त्यो संख्या सयसम्मै पुग्ने गरेको छ । यति धेरै स्टार कलाकार, यति धेरै लगानी, निर्माण संख्या पनि टन्नै, महिनैपिच्छे खुलेका नयाँ मल्टिप्लेक्स र धुरन्धर निर्माता, लेखक भए पनि किन फिल्मले चाहिँ पोस्टरको पैसा पनि उठाउन सकिरहेका छैनन् ।

एउटै कारण छ– राम्रो फिल्म नबन्नु । औसत फिल्मले पनि होहल्लाको भरमा लगानी उठाउलान्, राम्रै फिल्मले चाहिँ लगानी उठाउँछन् भन्ने मानिन्छ । त्यसका लागि समय भने बढी लाग्न सक्छ । कुनै फिल्मले आन्तरिक बक्स अफिसबाट मात्रै उठाउला, कुनैले डायस्पोरा वा च्यारिटी सोबाट उठाउला । कसैले फेस्टिभल र अवार्डको सर्कलमा गएर उठाउला, कसैको युट्युब र टिभी स्क्रिनिङबाट पनि पैसा आउला । तर यसका लागि फिल्म राम्रो हुनैपर्छ । नराम्रो फिल्मका लागि पैसा उठाउने यी सबै बाटा बन्द हुन्छन् ।

ठूलो संख्यामा धेरै पैसा लगानी भइरहेको छ भन्नुको मतलब हामीलाई लगानीको खासै ठूलो समस्या होइन । समस्याचाहिँ लगानी कहाँ र केमा भइरहेको छ भन्नेमा हो । तपाईंसँग घर बनाउनलाई दुई करोड बजेट छ । निकै राम्रो घर बनाउने सुर गर्नुभयो । नक्सा र डिजाइन पनि राम्रो बन्यो । कर्मी पनि राम्रा भेटिए । छड, गिटी, बालुवा पनि पाइयो । रंगरोगनको पनि व्यवस्था भयो । तर तपाईंले तीनतले घरका लागि पिलरमा जम्मा १ लाख बजेट छुट्याउनुभयो भने घर कति बलियो होला ? फिल्मको कन्टेन्ट र स्क्रिप्ट भनेको पिलर हो । दुई करोड बजेट भएको फिल्ममा त्यसको एक प्रतिशत दुई लाख स्क्रिप्ट राइटरलाई दिन निर्माताको दाँतबाट पसिना निस्किन्छ ।

स्टारहरुले दर्शकलाई हलसम्म ल्याउन मद्दत पनि गर्लान् । तर फिल्म नै राम्रो भएन भने ? स्टारकै नाममा फिल्म चल्दैन, बरु त्यो स्टारले प्रशंसक गुमाउँछ ।

फूलको बोट रोप्ने त फूलकै लागि हो । तर त्यसका लागि फूलमा मात्रै पानी हालेर हुँदैन । जरामा पानी नहाली हाँगा र पातमा मात्रै हालियो भने फूल फुल्छ ? जरामा पानी नहाली कुनै फूल फुल्छ भने त्यो प्लास्टिक फूल हो । निर्देशक, लेखक, छायाकार र सम्पादकको काम भनेको फिल्मको जरा हो । अभिनय, संगीत आदिको पनि आफ्नै महत्त्व छ । स्टारहरुले दर्शकलाई हलसम्म ल्याउन मद्दत पनि गर्लान् । तर फिल्म नै राम्रो भएन भने ? स्टारकै नाममा फिल्म चल्दैन, बरु त्यो स्टारले प्रशंसक गुमाउँछ ।

स्क्रिप्ट मात्र होइन, फिल्मका लागि महत्त्वपूर्ण ध्वनि र पार्श्वसंगीत पनि लामो समयदेखि उपेक्षित छन् । दृश्य भनेको आवाज, रंग र प्रकाशको भाषा हो । छायाँकन र सम्पादनले त्यसलाई आकार प्रदान गर्छन् । तपाईंको मनमा जतिसुकै राम्रो विचार आए पनि त्यसलाई अभिव्यक्त गर्ने भाषा शुद्ध र प्रस्ट भएन भने त्यसको कुनै अर्थ हुँदैन । कथा वा पटकथा भनेको विचार हो, त्यसलाई अभिव्यक्त दृश्यले गर्ने हो । यो अभिव्यक्तिमा कलाकारले बोल्ने संवादको मात्र भूमिका हुँदैन । फिल्मले कतिपय अवस्थामा दर्शकसँग मौन संवाद पनि गरिरहेको हुन्छ ।

यस वर्षको ओस्कर समारोहको टेलिभिजन प्रसारण समय घटाउन भन्दै सिनेम्याटोग्राफी, एडिटिङ, मेकअप तथा हेयरस्टाइल र लाइभएक्सन सर्ट विधाका अवार्ड कमर्सियल ब्रेकको बेला दिने घोषणा गरियो । यो घोषणा हुनासाथ अल्फान्सो कुरों, स्पाइक ली, मार्टिन स्कोरसेजी र ब्रड पिटजस्ता निर्माता/निर्देशकले विरोध गरे । उनीहरुले यसलाई सिनेम्याटिक आर्टको ‘इन्सल्ट’ भने । यस वर्ष दुई ओस्कर जितेका कुरोंले त केसम्म भने भने, ‘स्क्रिप्ट, कलाकार र गीतबिना फिल्म बनेका छन् तर सिनेम्याटोग्राफी र एडिटिङबिना आजसम्म कुनै फिल्म बनेको छैन । जे चीजले फिल्म बन्छ, त्यसलाई नै दोस्रो दर्जाको बनाउँछौँ ?’ पछि एकेडेमीले आफ्नो गल्ती सच्यायो ।

हामीले आफ्नो गल्ती कहिले सच्याउने ? फिल्मका लागि अति आवश्यक प्राविधिक र कलात्मक विषयमा लगानी गर्न, बढाउन ढिला भइसक्यो । वेबसेरिजहरुले संसारभर सिनेमामाथि खतरा पैदा भएको बहस गरिरहेका बेला अझै पनि आफ्नो शैलीको निर्माणमा ध्यान नदिने हो भने हाम्रा अर्गानिक कथाका दर्शक पनि हुने छैनन् । दोस्रो कुरा, फिल्मको व्यापार नै नबुझी यसमा किन लगानी भइरहेको छ । करोडौँ लगानी गर्नेले त्यसबाट नाफा कसरी हुन्छ भन्नेबारे ‘बिजनेस प्लान’ बनाएकै हुनुपर्छ । कुन–कुन स्रोतबाट कसरी र कति समयमा आफ्नो लगानी उठ्छ भन्ने सामान्य योजना पनि नबनाई लगानी गर्नु सरासर गल्ती हो । एउटा कलाकारले राम्रो अभिनय गर्न र फिल्मको प्रचारमा सहयोग गर्न सक्छ । तर दर्शकको खल्तीको पैसा झिकेर निर्माताको खल्तीमा हालिदिन सक्दैन । कलाकारकै नाममा फिल्म राम्रो हुने वा चल्ने भन्ने हुँदैन । यदि त्यस्तो हुने थियो भने राजेश हमालले अभिनय गरेका सबै फिल्म हिट हुने थिए ।

आफ्नो फिल्म कुन विधाको हो, कस्ता दर्शकलाई लक्ष्य गरिएको हो, त्यसको बजार कति छ, त्यसबाट कति पैसा उठ्न सक्छ भन्ने विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्छ । त्यसैअनुसारको प्रदर्शन योजना बनाउनुपर्छ । खोलामा हाम फाल्नु अगाडि पौडी खेल्न सिक्नुपर्छ भन्नु सामान्य नियम हो । कसैले पौडी खेल्न नजानी हाम फाल्छ र डुब्छ भने त्यसमा खोलाको दोष हुँदैन ।

नेपालमै पनि फिल्मको पढाइ हुन्छ । फिल्ममेकिङबारे सयौँ पुस्तक प्रकाशित छन् । अनलाइनमा सयौँ पोर्टल छन्, युट्युबमा हजारौँ भिडियो । कम्तीमा लगानी गर्नु वा यो क्षेत्रलाई नै रोज्नुअघि ज्ञान लिन सकिन्छ । बजारको एउटा सिद्धान्तले संकटका बेला लगानी गर्नेले प्रगति गर्न सक्ने बताउँछ । तर उपयुक्त योजनाका साथ । नेपाली फिल्म बजार प्रायः संकटमै देखिन्छ । यसैले यो फराकिलो सोच र चुस्त योजना हुनेका लागि सधैँ उपयुक्त लगानी क्षेत्र हो । साँच्चिकै राम्रो व्यवस्थापन कला हुने हो भने यति छिटो नाम र नाम कमाइने क्षेत्र पनि अरु खासै छैनन् । आजका मितिमा विदेशमै पनि नेपालीले आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्न सक्ने यति राम्रो माध्यम अरु छैनन् । एउटै फिल्मले संसारमा नाम बनाउन सक्छ । त्यसको एउटै सर्त हो– पूर्वअध्ययन, ज्ञान तथा सीपको विकास र व्यापारको समझ । होइन भने कोही किन निर्माता बनोस् !

प्रकाशित: चैत्र १३, २०७५