थोरै कपडा थोरै जाडो

- वसन्त आचार्य

जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरू सुर्खेतको लेकबेसी नगरपालिका–१ जहरेको खोला किनारमा पाल टाँगेर बसेका थिए । “तल जंगलबाट आया हौ, माथि जाँदे हो, ह् याँ त सुस्तायाँ हो,” मुखिया सूर्यनारायण शाहीले भने । त्यहाँका २० घरमा करिब ४० जति बालबालिका थिए । त्यसमध्ये ५ वर्षमुनिका सबैको शरीरमा कपडा नै थिएन । “आब यिनीहरुलाई तपार्इंहरुले लगाउनेजस्तै लुगा ल्याउँछन्, राउटेले त्यस्तो लगाउँदैन भनेर फिर्ता पठाएको हो,” उनले प्रस्टीकरण दिए ।

“बिरामी हुँदैनन् जाडो लागेर ?”

“धेरै कपडा धेरै जाडो, थोरै कपडा थोरै जाडो, जाडो त तपाईं धेरै लुगा लगाउनेलाई हुन्छ, हामी राउटेलाई हुँदैन,” सूर्यनारायणले सुनाए ।

पछिल्लो तथ्यांकअनुसार यहाँ ४६ घरपरिवारमा बस्ने १ सय ४५ राउटे छन् । पालमा बस्ने भएकाले बिहे गर्नेबित्तिकै छुट्टिनुपर्ने उनीहरुको बाध्यताले धेरै परिवार भएको शाही बताउँछन् । “रक्सी, चुरोट र सुर्ती खान थालेपछि यिनीहरुको मृत्युदर बढ्दै गएको हो,” स्थानीय रामेश्वर सारु दाबी गर्छन् । “माथि जंगलमा जाँदे हो, यहाँ सुस्ताको मात्रै,” धनबहादुर कल्याल ठकुरीले सुनाए । पाँच दिन बसेर जंगल जाने उनीहरुको तयारी थियो ।

बस्ती छिर्नेबित्तिकै भेटिएका चन्द्रमान शाहीले सुर्ती खान दिए मात्रै बोल्नै अड्डी कसे । सुर्ती खान नपाएपछि कुराकानी बीचमै छाडेर उनी पालभित्र छिरे । केही विद्यार्थी चामल लगेर गएका थिए । गाडीबाट सामान झार्नेबित्तिकै घेरिएका राउटेहरु अचानक चामल मात्रै देखेपछि आधा खुसी, आधा दुःखीजस्ता देखिए ।

अर्का पात्र धनबहादुरले पनि बोल्नुभन्दा अगाडि चुरोटका लागि अनुरोध गरे, “उनले सुर्ती खान्छन्, म चुरोट खान्छु ।” अहिले राउटे बस्ती पुग्ने जोकोहीका लागि पनि राउटेसँगै माग आइपुग्छ । रक्सी, चुरोट, खैनी हुादै पैसासम्म उनीहरुको मागमा पर्छ । तर यस्ता माग महिला राख्दैनन् । ‘राउटेहरु पैसा छुनु पाप लाग्ने ठान्छन्’ भन्ने कुरा पूरै उल्टो लाग्छ ।

विभिन्न संघसंस्थाले अध्ययन गर्न सजिलो होस् भनेर उनीहरुलाई अम्मली बनाएको स्थानीय हिरासिंह थापाको अनुभव छ । “केही पनि नबोल्ने भएपछि उनीहरुलाई विभिन्न नशालु कुरा खुवाएर बोल्ने बनाए, अहिले उनीहरुका लागि यो लत बनिसकेको छ,” थापाले भने । स–साना बच्चामा समेत नशाको अम्मल रहेको त्यहाँ पुग्ने जोकोहीले पनि अनुमान लगाउन सक्छन् । “अंकल एक क्वार्टर ल्याइदिनू न,” बालबालिका अभिभावकले नसुन्ने गरी सुटुक्क भनिरहन्छन् ।

केही अध्येतासँग बच्चाहरु पैसा मागिरहेका थिए । उनीहरु भन्थे, “केही पनि खाएको छैन ।” पैसा लिँदा उनीहरु खुसुक्क लिन्थे । उनीहरु सायद ठूलासँग लुकाउँदै थिए । रुढिवादी जीवन बाँचिरहेका उनीहरुलाई बालबालिका पढ्न पठाउँदा आफ्नो पहिचान मेटिने चिन्ता छ । “गाउँबाट गएर हामीले केही पढाउने प्रयास पनि गर्‍यौँ तर ठूलाले मान्दै मान्दैनन्,” थापाले भने ।

धनबहादुरको अनुहारमा चार दिनअगाडि लागेको चोटको खत उस्तै थियो । राउटे बिरामी हुँदा पनि आफ्नै समुदायबाट धामीझाँक्री बसाउने या वरपर भेटिएका जडीबुटी खाने गर्छन् । “आब जडीबुटी लगाएपछि निको भैहाल्यो, बरु मर्ने हो तर त्यो बजारमा गएर औषधी किन गर्ने ?” धनबहादुरले थपे, “तपाईहरुले  जस्तै गरेपछि त हामी र तपाईमा के फरक भयो ?” नेपालभरका जंगललाई आफ्नो भूमि मान्छन् उनीहरु । “जहाँ गयो, त्यहीँ हो हाम्रो घर,” मुखिया सूर्यनारायणले भने ।

अन्ततः चामल मात्रै पाएपछि राउटेहरु पैसातर्फ लागे । उनीहरुको अनुहारमा तलतलको रङ कोरिएको थियो ।

धनबहादुर रक्सी र चुरोट खाने पैसा नभएकाले काठको पन्यू लिएर बेच्न आए । र, ३ सय रुपैयाँ मोल तोके । कसैले नकिनेपछि उनको अनुहारमा आक्रोश भरियो ।

शब्द/तस्बिर : वसन्त आचार्य

प्रकाशित: चैत्र १२, २०७५