छाया सभापति

- सुरेश किरण

सरकारले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले खुसी व्यक्त गरेका थिए । तर त्यसलगत्तै पार्टीले अर्को वक्तव्य निकाल्दै देउवाले व्यक्तै गरिसकेको खुसी पनि फिर्ता लियो । सभापतिले एक थोक भन्दाभन्दै प्रवक्ताले अर्कै थोक भनिदिए । संसद्ले चिकित्सा विधेयक जबर्जस्ती पारित गर्‍यो । त्यसबारे अब प्रमुख प्रतिपक्षी नेताले के भन्लान् भनेर पर्खेर बसेको त त्यसबारे केही पनि बोलेनन् । बरु सांसद गगन थापाले बोलेको बोल्यै गरे । स्मरणीय छ, हालै मात्र कांग्रेसले छाया सरकार गठन गर्ने कुरा ल्याएको थियो । गठन गरिहालेको छैन । यदि छाया सरकार गठन गर्‍यो भने उनी त्यसको छाया प्रधानमन्त्री बन्ने निश्चित छ । तर अहिले पार्टीभित्र चलिरहेको जो गतिविधि छ, त्यो हेर्दा भने यस्तो लाग्छ कि उनी छाया प्रधानमन्त्री बन्नुभन्दा अघि पार्टीको छाया सभापति पो बनिसकेछन् कि क्या हो !

प्रकाशित: चैत्र १२, २०७५

ट्याग: परिहास