भ्रमण वर्ष-२०२० : तयारीबिनाको सपना

- योगेश ढकाल

जम्माजम्मी ९ महिना बाँकी छ, भ्रमण वर्ष- २०२० सुरु हुन । २० लाख विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन जति सुस्त छ, त्यति नै गतिहीन अवस्था छ, पर्यटकीय पूर्वाधार विकास र स्तरोन्नतिमा । योभन्दा दुःखचाहिँ 'भ्रमण वर्ष-२०२० कार्यक्रम कार्यान्वयन उपसमिति उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम' संयोजक सुरज वैद्यको सचिवालय सम्झिँदा हुन्छ । ०७५ कात्तिक दोस्रो साता नियुक्त वैद्यको सचिवालय ६ महिनासम्म व्यवस्थापन हुन सकेको छैन ।

सचिवालयका लागि नेपाल पर्यटन बोर्डको एउटा कोठा र चार कर्मचारीको व्यवस्था छ । तर कोठा ती चार कर्मचारीका लागि मात्र ठिक्क हुन्छ । त्यही बुझेर होला, वैद्य बोर्डमा नगई आफ्नो निजी कार्यालयबाटै काम गर्छन् । केही महिनादेखि सचिवालयका लागि केशरमहलमा कार्यालय राख्ने प्रयास भइरहेको छ । यससँगै अर्को विडम्बनापूर्ण अवस्था बजेटमा देखिन्छ । पर्यटकीय गन्तव्यको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि सरकारले विनियोजन गरेको १० करोड रुपैयाँ खर्च हुन सकेको छैन । सचिवालयले कार्यालय र कानुनी अभाव त झेलिरहेको छ नै, अपुग जनशक्तिका कारण अभियान झनै अलमल छ । व्यापारी सुरज वैद्यलाई कार्यक्रम संयोजक नियुक्त गर्दादेखि असन्तुष्ट पर्यटन व्यवसायीको साथ पनि सचिवालयले पाएको छैन ।

उडान न पूर्वाधार

पूर्वाधार विकासमा सरकार कतिसम्म सुस्त छ भन्ने उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । विमानस्थल २४ घन्टै सञ्चालनका लागि अर्को महिनाबाट बल्ल धावनमार्गको स्तरोन्नति हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार धावनमार्गको स्तरोन्नति अपि्रलबाट सुरु भई सेप्टेम्बरमा सकिनेछ । र, यो बीचको ६ महिना विमानस्थल १० घन्टा मात्रै चल्नेछ । तर यहीँनेर जोड्नुपर्ने कुराचाहिँ २०२० लाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडानका लागि सरकारी पहल छैन ।

अझ, नेपाल वायुसेवा निगमका लागि नयाँ अन्तर्राष्ट्रिय गन्तव्य खोजिएको छैन । उल्टै केही महिनाअघि नेपाल-जापान सरकारबीचको सम्झौताअनुसार काठमाडौँ-ओसाका सीधा उडानको समयतालिका पनि धकेलिएको छ । नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका अनुसार २०२० लाई दृष्टिगत गरेर विदेशी विमान कम्पनीले थप उडानका लागि अनुमति मागेका छैनन् । नेपालका विमान कम्पनीले पनि अन्तर्राष्ट्रिय उडानको थप प्रयास गरेका छैनन् । भ्रमण वर्ष सुरु हुनुभन्दा ४ महिना पहिले २०१९ सेप्टेम्बरमा सञ्चालनमा आउन सक्ने मानिएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न विमान कम्पनीसँग छलफल सुरु भएकै छैन । अर्कातिर विमानस्थल पूरा हुन २०२० को जनवरीसम्म लाग्ने चर्चा सुरु भइसकेको छ ।

पर्याप्त र सीधा उडानले मात्र पर्यटक आवागमन सहज हुन्छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाको भनाइमा नेपालमा अन्तर्राष्ट्रिय उडान 'ट्रान्जिट' बाट हुन्छ, जसले पर्यटकको समय बर्बादी मात्र गराउँदैन, उडान खर्च पनि वृद्धि गर्छ । नेवानिको लन्डन, पेरिस, ओसाका, फ्रयांकर्फटमा सीधा उडान हुँदा आउने पर्यटक संख्या अहिले घटेको छ । पर्यटन बोर्डका सीईओ दीपकराज जोशी पनि यसमा सहमत छन् । जोशीको भनाइमा नेवानिको सीधा उडान स्थगित भएपछि जर्मन पर्यटकको संख्या घटेको मात्र थिएन, नेपालले माया मारेको बजारमा पथ्र्यो ।

काठमाडौँ-फ्रयांकर्फट सीधा हवाई उडान अवधिमा ४७ हजार जर्मन नेपाल भ्रमणमा आउँथे, अहिले त्यो संख्या ३१ हजारमा झरेको छ । काठमाडौँ-लन्डन सीधा उडान हुँदा ४७ हजार बेलायती नेपाल भ्रमणमा आउनेमा अहिले करिब ३३ हजार छ । काठमाडौँ-ओसाका उडान हुँदा ४७ हजार जापानी नेपाल आउँथे, अहिले १८ हजार छ । काठमाडौँ-पेरिस सीधा उडान टुटेपछि ३३ हजार फ्रेन्च पर्यटकको संख्या २२ हजारमा झर्‍यो । शेर्पाको विश्लेषणमा सीधा उडानले समयको बचत, सस्तो टिकट र कम झमेला हुने हुँदा पर्यटक आकषिर्त गर्न सकिन्छ । तर अहिले यस्तो छैन । यो तर्कमा बोर्ड सीईओ जोशी पनि सहमत छन् । उनको विश्लेषणमा नेपाल आउने पर्यटकको औसतमा आधा खर्च टिकट खरिदमा सकिन्छ । अन्तर्राष्ट्रिय उडान भर्ने विमान विदेशी कम्पनी भएकाले नेपाल आउने पर्यटकको आधा रकम उतै जान्छ । त्यसो हुँदा पर्यटकबाट हुने आम्दानी स्वाभाविक रूपमा घट्नेछ । घुम्न आउने पर्यटकले बेहोर्ने झमेला र समयको बर्बादीले तिनीहरूको बसाइ र खर्च दर पनि घटाउँछ ।

पूर्वाधारसँग जोडिएको सडक निर्माण र विस्तारमा पनि सरकार उदासीन छ । जस्तो, काठमाडौँ उपत्यका घुम्ने पर्यटकीय गन्तव्यमा पर्छन्, नगरकोट, ककनी । भक्तपुर-नगरकोट र बालाजु-ककनी सडक खण्ड धुलाम्मे मात्र छैनन्, निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले म्याद गुर्जादा ठेक्का तोडिएको त छैन, म्याद थपपछि पनि गति लिएको छैन । सडकबाट चितवन, पोखरा, लुम्बिनी, अन्नपूर्ण सर्किट जाने पर्यटकले थानकोट-नागढुंगा काट्नै समस्या हुन्छ । यो सडक खण्ड पनि त्यही सैलुङ कन्स्ट्रक्सनको जिम्मामा छ ।

यहीँनेर जोड्नुपर्ने प्रसंग हो, नयाँ गन्तव्यको । काठमाडौँ उपत्यका, चितवन, पोखरा, अन्नपूर्ण सर्किट, लुम्बिनी र खुम्बु क्षेत्रका गन्तव्यभन्दा बाहिर जाने गरी नयाँ गन्तव्य प्रवर्द्धन हुन सकेको छैन । सरकारले प्रवर्द्धनका लागि ७ प्रदेशमा ७ वटा र हरेक जिल्लाबाट एउटा पर्ने गरी एक सय वटा गन्तव्य छनोट गर्यो । ती गन्तव्य प्रवर्द्धनको प्रयास पनि भएको छैन । नेपालमा ५ हजार ८ सय मिटरभन्दा अग्ला १ हजार ७ सय ९१ वटा हिमाल आरोहण गर्न सकिने भए पनि अहिलेसम्म १ हजार ३ सय ८९ वटा हिमाल आरोहण खुला छैन । पदयात्रा र आरोहणलाई नेपालको पर्यटनमा बढ्ता आम्दानी दिने स्रोतको रूपमा लिइन्छ । यसले पर्यटकको बसाइ दिन र खर्च बढाउन योगदान गर्छ । एउटा हिमाल आरोहणका लागि करिब २ महिना लाग्छ । अध्ययनअनुसार एक आरोहीले औसतमा १६ जनालाई रोजगारी दिने गरेको देखिन्छ । ३५ हजार डलर खर्चेर सगरमाथा आरोहण गर्ने एक आरोहीले औसतमा २६ जनालाई रोजगारी दिन्छन् ।

अहिले नेपालमा सञ्चालनमा रहेका ट्रेकिङ कम्पनीले एक पटकमा २ लाख पर्यटक घुमाउन सक्छन् । होटल/लजले २५ लाखसम्म पर्यटकलाई बास दिन सक्छन् । "तर पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, नेपाली विमान कम्पनी, नयाँ गन्तव्य प्रवर्द्धन नहुनु र फेक रेस्क्यु प्रकरणले नेपाल गतिलो गन्तव्य हुन सकिरहेको छैन," शेर्पा भन्छन् । सीईओ जोशीको भनाइमा पर्यटन क्षेत्रमा आउने व्यवसायीमा मापदण्ड नहुँदा जसले पनि लगानी गर्ने अनि अस्वस्थ प्रतिस्पर्धामा उत्पादन बेच्दा नेपाल सस्तो गन्तव्यका रूपमा चिनिन थालेको छ । "पर्यटन त्यतिबेला गुणस्तरीय हुन्छ, जतिबेला राज्य वा केही मुख्य पर्यटन व्यवसायीको नियन्त्रणमा हुन्छ," जोशी भन्छन् ।

जर्मनी, भुटान, अस्टि्रयामा राज्यले नै पर्यटनलाई व्यवस्थित गरेको छ । ३ करोड पर्यटक भित्र्याउने मलेसियामा ८ सय कम्पनीले व्यवस्थापन गर्छन्, जबकि नेपालमा ११ लाख पर्यटकलाई सेवा दिन ५ हजारभन्दा बढी कम्पनी छन् । अस्वस्थ प्रतिस्पर्धाकै कारण फेक रेस्क्यु बढेको शेर्पा दाबी गर्छन् ।

"सस्तोमा पर्यटन उत्पादन (आइटिनरी) बेच्ने अनि लगानी उठाउन फेक रेस्क्यु गर्छन्," शेर्पा भन्छन्, "अहिले फेक रेस्क्यु गर्नेलाई कारबाही नहुँदा युरोपियन बिमा कम्पनीले नेपाल आउने पर्यटकलाई बिमा नगर्ने चेतावनी दिइरहेका छन् ।"

नसिकेको पाठ

पर्यटन विकासका लागि समुदायको क्षमतालाई आर्थिक उपार्जनको माध्यमबाट अवसर सिर्जना गर्न सक्नुपर्छ । यो आतिथ्यसँग जोडिन्छ र त्यसलाई पर्यटन प्रयोजनको अवसरमा बदल्न सकियो भने मात्रै समृद्धितिर जान्छ । अहिलेसम्म नेपालको पर्यटन क्षेत्रको आम्दानी वितरण समुचित हुन सकेको छैन । त्यही ठानेर अहिलेसम्म एक दर्जनभन्दा बढी वर्षलाई 'प्रवर्द्धन वर्ष' को रूपमा मनाइयो । तर ती सबै प्रवर्द्धन वर्ष असफल मात्र नभई बिर्सन लायक भए । जस्तो, २००२-२००३ को गन्तव्य नेपाल वर्षले अन्तर्राष्ट्रिय/राष्ट्रिय बजारमा न नेपालको प्रवर्द्धन गर्‍यो, न त आर्थिक आम्दानीलाई विविधीकरण । त्यस्तै, विडम्बनापूर्ण वर्ष रह्यो, २००७ को पोखरा भ्रमण वर्ष । पूरै देशभन्दा पनि एउटा सहरको प्रवर्द्धन गर्ने ध्येयले 'भिजिट पोखरा इअर- २००७' भनियो तर त्यसको प्रभाव देखिएन । अझ २०१३ को लुम्बिनी भ्रमण वर्ष त झनै असफल र प्रभावहीन मात्र भएन, उद्घाटनमा मात्र सीमित रह्यो ।

त्यति मात्र होइन, नेपालमा आर्थिक आम्दानीको हिसाबले पनि महँगा गन्तव्यको प्रवर्द्धन भएन । निरन्तर खर्चालु पर्यटक आगमन घटेको छ । जस्तो, २०१४/०१५ मा नेपाल आउने पर्यटकले दैनिक औसत ६३ डलर खर्चिन्थे । त्यो घटेर २०१६/०१७ मा ५३ डलरमा झर्‍यो । अहिले औसतमा ५४ डलर मात्रै छ । त्यसका अलावा बसाइ दिन पनि निरन्तर घट्दो छ ।


‘अब गति लिन्छ’

- दीपकराज जोशी, सीईओ, नेपाल पर्यटन बोर्ड


भ्रमण वर्ष-२०२० को तयारी कस्तो हुँदैछ ?

बोर्डका तर्फबाट भ्रमण वर्ष-२०२० लाई प्रवर्द्धन गर्ने काम भइरहेको छ । दुई साताअघि जर्मनीमा सम्पन्न संसारको सबैभन्दा ठूलो ट्राभल मार्ट आईटीबीमा हाम्रो टोलीले नेपालको प्रवर्द्धन गरेको छ ।  हामीले बेलायत, भारतमा पनि प्रवर्द्धन गरेका छौँ । अब चीनमा गर्दैछौँ ।  हाम्रो काम निकै गतिमा थियो तर मन्त्रीको दुर्घटनामा निधनपछि केही सुस्ताएको छ । अब त्यसलाई गति दिन्छौँ ।

तपाईंहरूको योजना के ?

प्रमुख गन्तव्यमा पर्यटकका लागि सूचना केन्द्र, शौचालयसहितको नमस्ते सेन्टर बनाउने योजनामा छौँ । त्यसमा निजी क्षेत्रसँग सहकार्य खोजिरहेका छौँ । अर्को, गुणस्तरीय सेवा बढाउनुपर्छ भन्ने लागेर केही तालिम व्यवस्था गरेका छौँ । यो वर्ष मात्रै १० हजारलाई तालिम दिने कार्यक्रम छ, त्यसमा ४ हजारलाई दिइसकियो । ठूल्ठूला इभेन्ट गरेर अन्तर्राष्ट्रिय बजारमा सकारात्मक चर्चा पुग्ने र मिडियामा आऊन् भन्ने गरी कार्यक्रम गर्ने योजना छ । कार्यक्रम क्यालेन्डर पनि बनाउँदै छौँ ।

नयाँ गन्तव्यको प्रवर्द्धन भएको छैन नि ?

पछिल्ला दिनमा केही नयाँ गन्तव्यको प्रवर्द्धन थालेका छौँ । बर्दिया राष्ट्रिय निकुन्ज हाम्रो प्रवर्द्धनकै कारण एसिया प्यासिफिक क्षेत्रको पहिलो गन्तव्यका रूपमा पुरस्कृत भयो । पूर्वका कोसीटप्पु, इलाम, धरान, जनकपुरको प्रवर्द्धनमा लागेका छौँ । डोल्पा, रारा, खप्तडको पनि प्रवर्द्धन गर्दैछौँ तर ती गन्तव्यमा पूर्वाधार अवस्था कमजोर छ ।

प्रकाशित: चैत्र १०, २०७५