सँगै स्नान

- सुरेश किरण

यो साताकै चर्चित फोटो बन्यो, म्याग्दीको तातोपानीमा कांग्रेस नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको स्नानरत फोटो । दुवै नेताहरु पानीमा आधा डुबेका छन् । पानीमाथि देखिएको आधा शरीरमा कुनै प्रकारको कपडा रहेको छैन । तर पानीमुनिको आधा शरीरको अवस्था कस्तो छ, त्यो भने फोटोबाट थाहा पाउन सकिएन । अतः उनीहरु दुवै जनाको उक्त पोजिसनलाई नग्न भन्न मिलेन । अर्धनग्न मात्रै भन्न मिल्यो ।

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल भनेपछि सबैलाई थाहा छ, उनीहरुको कुरा कहिल्यै मिल्दैन । दुवै प्रतिद्वन्द्वी । दुवै प्रतिस्पर्धी । जसरी हुन्छ एकले अर्कोलाई सिध्याउन मात्र लागिरहेका हुन्छन् । तर तातोपानीमा आधा डुबेको अवस्थामा उनीहरुको कुरा भने खुबै मिलेजस्तो देखिन्छ ।

पानीमा केही समय बसेपछि देउवा भन्छन्, 'उठौँ रामचन्द्रजी, अब जाऊँ क्या र ।'

पौडेल भन्छन्, 'हो हो, अब उठौँ । जाऊँ ।'

देउवा थप्छन्, 'हो हो, जाऊँ । उठ्नुस् न तपाईं ।'

पौडेल भन्छन्, 'हुन्छ नि, पहिले तपाईं उठ्नुस् न । अनि म उठ्छु ।'

देउवा कर गर्छन्, 'हैन पहिले तपाईं उठ्नुस् न, तपाईं पाको मान्छे ।'

पौडेल जिद्दी गर्छन्, 'पहिले तपाईं उठ्नुस् न, तपाईं सभापतिजस्तो मान्छे ।'

दुवै जना उल्ले उल्लाई उठ्नु भन्छन्, उल्ले उल्लाई उठ्न अनुरोध गर्छन् । तर दुवै उठ्दैनन् । किनभने, त्यहाँ उठ्ने अवस्थै छैन । कार्यकर्ताका अगाडि मारामार देखाउने यी नेता आज पोखरीमा सँगै नुहाएको देखेपछि 'उठ्न नमिल्ने अवस्था' मा पुग्नु स्वाभाविकै भो नि । 

प्रकाशित: चैत्र ८, २०७५

ट्याग: परिहास