सिंहदरबारको क्यान्टिन

- सुरेश किरण

सिंहदरबारमा धेरै मन्त्रालय छन् । अनि हरेक मन्त्रालयका आ-आफ्नै क्यान्टिन पनि छन् । अब सरकारलाई लागेको छ, सिंहदरबारमा क्यान्टिन बढी भए, त्यसलाई घटाउनुपर्छ । त्यसैका लागि अब सिंहदरबारको क्यान्टिन घटाउने निर्णय सरकारले गरेको छ । सिंहदरबारभित्र अब केही ठाउँमा मात्र क्यान्टिन राख्ने रे !

क्यान्टिन घटाउन खोज्नु नराम्रै काम त होइन । आखिर सिंहदरबारमा बस्ने सरकारले महँगी घटाउन नसके पनि, बलात्कार घटाउन नसके पनि, असुरक्षा घटाउन नसके पनि, भ्रष्टाचार घटाउन नसके पनि, लूटपाट घटाउन नसके पनि, ढिलासुस्ती घटाउन नसके पनि, अराजकता घटाउन नसके पनि, व्यापार घाटा घटाउन नसके पनि, गुन्डागर्दी घटाउन नसके पनि क्यान्टिन त घटाउन सक्यो । हाललाई यत्ति गर्नु पनि ठूलै हो ।

तर क्यान्टिन घटाउने भनेर जुनजुन ठाउँका क्यान्टिन इंगित गरियो, यथार्थमा त्यति मात्र क्यान्टिन घटाएर भने पुग्दैन । सरकारलाई लाग्छ कि सिंहदरबारभित्र मन्त्रालय-मन्त्रालयमा मात्र क्यान्टिन छ । त्यसो होइन नि । यथार्थमा त सिंहदरबारमा बस्ने हरेक मन्त्रीको कोठा-कोठामा क्यान्टिन रहेको हुन्छ, सचिवको कोठा-कोठामा क्यान्टिन रहेको छ, परियोजना प्रमुख, शाखा अधिकृत, समितिका अध्यक्ष, संयोजक जम्मैजम्मैका कोठा र क्याबिनमा विभिन्न आकार/प्रकारका क्यान्टिन रहेका हुन्छन् । ती क्यान्टिनतिर सरकारको आँखा गएको देखिएन । वास्तवमा यी अदृश्य खालका क्यान्टिन नहटाएसम्म सिंहदरबार शुद्ध होलाजस्तो छैन ।

(पुनश्च : क्यान्टिन भनेको खाने ठाउँलाई भनिन्छ, कृपया यसको अर्को अर्थ नलगाइयोस् धन्यवाद !)

प्रकाशित: चैत्र ८, २०७५

ट्याग: परिहास