सीके र पीके

- सुरेश किरण

सरकार चलाउन गाह्रो छ । त्यसैले जोसँग पनि सम्झौता गर्नुपर्ने हुन्छ । अब हुँदाहुँदा प्रधानमन्त्री केपी ओलीले सीके राउतसँग समेत सम्झौता गर्नुपर्ने अवस्था आएछ । दुई तिहाइको सरकार भनेर के गर्नु, सम्झौता नगरी चल्नै सकिँदैन । एक पटक भारतले नाकाबन्दी गरिदियो । त्यतिबेला तेल तस्करसँग सम्झौता गर्नुपर्यो । तस्करले तेलको तस्करी गर्ने, सरकारले नसमाउने । यस्तो सम्झौता भएको थियो । त्यो सम्झौताले भारतलाई ठीक लाइनमा ल्याइदियो । अहिले पनि राजपाले निहुँ खोजिरहेको छ । त्यसलाई लाइनमा ल्याउन सीकेसँग सम्झौता गर्नुपर्‍यो ।

सीकेसँग सम्झौता भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटा गल्तीचाहिँ गरेछन् । उनले त्यहाँ सीके र पीके (पुष्पकमल) एउटै हो भन्नेजस्तो भाषण गरिदिएछन् । नेपालका साहस भएका नेता दुइटै मात्र छन्, एउटा सीके, अर्को पीके । प्रधानमन्त्रीले करिब-करिब यस्तै बोलेका थिए । उनको त्यो भाषण सुनेर मलाई चाहिँ शंका हुन थाल्यो, कतै नेकपा कम्युनिस्ट पार्टीमा अब तेस्रो अध्यक्ष पनि जन्मिन लागेको त होइन ?

मलाई त्यस्तो शंका लागेको थियो । तर हालै राउतका गतिविधि देखेपछि भने मेरो शंका हाललाई स्थगित भएको हो कि जस्तो महसुस भयो । किनभने, प्रधानमन्त्री केपीले सीके र पीके दुवै उत्तिकै साहसी भनेका थिए । तर उनको भनाइभन्दा फरक अहिले सीके त पीकेभन्दा पनि साहसी भएर निस्किएछन् । सीकेले काठमाडौँमा जो सम्झौता गरेका थिए, जनकपुरमा त्यसको पूरै उल्टो व्याख्या गरिदिए । उनको व्याख्या सुन्दा यस्तो लाग्छ कि उनी प्रधानमन्त्रीको मूलधारमा गएको होइन, प्रधानमन्त्री नै उनको मूलधारमा आएका हुन् । कमसेकम पीकेले आफूले गरेको सम्झौताको यस्तो व्याख्या गरेका थिएनन् । सीकेले गरेको व्याख्या देखेर भर्खर प्रधानमन्त्रीलाई लाग्दै होला, सीकेलाई साहसी नेता भनेर प्याच्च भनिहालियो, उनी त साँच्चै आफूले भनेजस्तै साहसी रहेछन् त गाँठे !

प्रकाशित: चैत्र ८, २०७५

ट्याग: परिहास