सडकमै शुक्रराजको पुराणवाचन

- हरिराम जोशी

विक्रम संवत् १९९७ मा राणा शासकले मृत्युदण्ड दिएका चार सहिदमध्ये शुक्रराज जोशी शास्त्री ललितपुर, खेलटोलका बासिन्दा थिए । मेरा बाजे बाबुराम जोशीले विसं १९६३ तिर सुरु गरेको जोशी-भोजलाई निरन्तरता दिएका थिए, शुक्रराजले । उनी र मेरा बा दुवै समाज सुधारमा लागेकाले घरमा आवतजावत पनि बाक्लै हुन्थ्यो ।

जोशी-भोजमा अनौठो चलन थियो, अहिले पनि छ । जनै लगाएका मात्रै भोजमा सहभागी हुन पाउँथे भने महिलालाई निषेध थियो । यस्तो भोजमा जोशी बन्धुहरु समाज सुधारका उपायबारे एकआपसमा घनिभूत छलफल गर्छन् । शुक्रराज पिता माधवराज जोशीको प्रेरणाबाट सामाजिक सुधार अभियानमा लागेका थिए । माधवराजचाहिँ आर्य समाजी अगुवा थिए ।

यसरी सामाजिक सुधार अभियान चलाउँदा राणा शासक जुद्धशमशेर (विसं १९८९-२००२) थिए । विशुद्ध सामाजिक, शैक्षिक जागरणस्वरुप नेपालमा आर्य समाजी आन्दोलन चलाएर शुक्रराजले मूर्तिपूजा, धार्मिक अन्धता, ब्राह्मणबाहेक अन्य जातका लागि निषेध गरिएको कर्मकाण्ड सबैले पढ्न पाउनुपर्छ भन्ने आवाज बुलन्द गरिरहे । शुक्रराज अध्यक्षताको नागरिक अधिकार समिति गठन भयो, विसं १९९४ मा काठमाडौँको भोटाहिटीमा । त्यो समितिमा सचिव केदारमान श्रेष्ठ 'व्यथित', प्रचार सचिव शंकरप्रसाद नेपाल र राजलाल कलवार, आनन्दराम/गंगालाल श्रेष्ठ, पण्डित मुरलीधर भट्टराई सदस्य चयन भए ।

खुला बहस बर्जित रहेको समयमा जनचेतना र जनजागरणका लागि शुक्रराजले इन्द्रचोकको सडकपेटीमै बसेर पुराणवाचन गरेका थिए, विसं १९९५ मा । त्यही पुराणवाचनमा राणा शासकले भनेका कुराको पशुवत अनुसरण नगर्न आह्वान गरेसँगै उनी पक्राउ परिहाले ।

दरबारिया पुरोहित/बडागुरुज्यूले सामाजिक रीतिथिति र जनता भड्काएको भन्दै जुद्धशमशेरसमक्ष चुक्ली लगाएछन् । उनलाई राणाविरुद्ध सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणलाई निरन्तरता दिएको अभियोगमा राजद्रोहको मुद्दा लगाएर तीन वर्ष कैद सुनाइयो । यसअघि चन्द्रशमशेरको समयमा पनि राजपुरोहितले बाउ-छोरा दुवैलाई सांस्कृतिक, धार्मिक सद्भाव भड्काएको भन्दै उजुरी गरेका थिए । त्यही झोँकमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको दरबारमा शास्त्रार्थ गराइएको थियो । बाउ-छोराको तर्कका अगाडि राणा शासकका बडागुरुज्यू निरुत्तर भएका थिए ।

बालविवाह, बहुविवाह, रक्सी, बिँडी, चुरोट, तमाखु नखान र आचरण शुद्ध गरेर निर्भय बन्ने उपदेश बाँडेपछि शुक्रराज जनताका नायक बने । त्यसैको परिणाम राणा शासकले आर्य समाज अभियानमाथि प्रतिबन्ध लगाइदिए । भारत-पाकिस्तान छुट्टनिुअघिको लाहोर युनिभर्सिटीबाट संस्कृतमा शास्त्री गरेका शुक्रराज भारतको इलाहावाद दयानन्द आर्य समाजी विद्यालयमा प्रधानाध्यापकसमेत भएका थिए । मेनकादेवी माथेमा (धर्मभक्त माथेमाकी बहिनी) सँग बिहे गरेका शुक्रराजलाई उच्च श्रेणीमा संस्कृत भाषामा स्नातकोपाधि लिएकाले 'शास्त्री' भन्न थालिएको थियो ।

नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका ज्ञाता शास्त्रीका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । उनले ब्रह्मशूत्र शंकर भाष्य मूल संस्कृतिलाई यथावत् राखेर हिन्दीमा उल्थासमेत गरे । शुक्रराजमा कतिसम्म विद्रोह चेत थियो भन्न नेपाल भाषामा उनैबाट सिर्जित कविताले पनि प्रस्ट्याउँछ :

हे मचात दँ दँ/मिखा निगलँ कँ कँ

तुती निपाँ चू चू/आख ब्वँवने नु नु

(हे बच्चाहरु उठ, उठ/आँखा दुवै खोल, खोल

दुवै खुट्टाले टेक, टेक/अक्षर पढ्न जाऊँ, जाऊँ ।)

त्यो समाज सुधार अभियानले अन्ततः राजनीति रुप लियो । राणा शासकले आठ वटा मुद्दामा फसाए । ६ माघ विसं १९९७ मा सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र १० माघ १९९७ राती पचलीस्थित खरीको रुखमा झुन्ड्याएर मारियो ।

अरु जनता राणा शासनको विरोधमा नलागून् भनेर उनको मृत शरीरलाई झुन्ड्याइएको अवस्थामै दिनभर प्रदर्शनमा राखियो । शुक्रराज जेल परेको पाँचौँ दिनमा पत्नी मेनकादेवीले पुत्री जन्म दिइन् । पुत्री जन्माएको केही दिनमै उनको पनि मृत्यु भयो । मेनकाको मृत्युको केही समयपछि पुत्रीको समेत निधन भयो । ८२ वर्षे माधवराजलाई एकैचोटि तीन शोक आइलागे ।

माधवराजले छोरा शुक्रराजको सहादत प्राप्त स्थलमा गएर 'स्याबास् छोरा तिमी धन्य छौ, तिमीले आमाबाको मात्र नभई देशकै गौरव बढायौ' भनेर नमस्कार गरे । शुक्रराजको अन्तिम दर्शनमा हाम्रो परिवारसमेतले सहभागिता जनाएको थियो ।

शुक्रराज मारिएपछि उनको सम्झनास्वरुप बहिनी चन्द्रकान्ता मल्लले काठमाडौँ, बागबजार अद्वैतमार्गमा विसं २०१८ मा सहिद शुक्रराज माध्यमिक विद्यालय खोलिन्, जुन अहिले पनि चलिरहेको छ ।

प्रस्तुति : गोकुल अर्याल

प्रकाशित: चैत्र ८, २०७५

ट्याग: स्मरण