फेरि उपविजेता

- पवन आचार्य

विराटनगर– भारतसँग पराजित हुँदै नेपाली महिला टोली पाँचौँ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ । विराटनगरको सहिद मैदानमा भएको फाइनलमा चिरप्रतिद्वन्द्वी भारतले नेपालको चुनौती ३-१ ले सजिलै पन्छ्याइदियो । नेपालले भारतसँग महिला साफको फाइनलमा खेलेको चौथो अवसरलाई पनि सदुपयोग गर्न सकेन । 

लामो तयारी र प्रतियोगिताअघि भारतविरुद्ध पाएको सफलताले नेपाल खेलमा हाबी हुने अपेक्षा रहे पनि मैदानमा त्यो देखिएन । पाएको अवसर सदुपयोग गर्न नसक्दा उपविजेता बन्नु परेकोे बताउँछन्, नेपाली टोलीका कप्तान हरि खड्का । "दोस्रो हाफमा हामीले सोचे अनुरुपको खेल भएन । डिफेन्समा केही समस्या देखियो । भारतले त्यसको फाइदा उठायो," उनी भन्छन् । 

भारतीय टोलीका प्रशिक्षक मायामोल नेरुगाढन रकीले नेपालसँगको खेल सधैँ संघर्षपूर्ण हुने सुनाउँछन् । उनी भन्छिन्, "नेपालसँग खेल्नु भनेको संघर्ष गरेर जित्नु हो । यसपटक भने हाम्रो रणनीतिक जित भयो । हिरो कपमा नेपालसँग हारेको क्षण खेलाडीले बिर्सिएर खेले । कुनै पनि देशलाई उसकै गृहमैदानमा हराउनु हाम्रो टीमको सबल पक्ष हो ।"

तस्बिरहरु  : वेदराज पौडेल

सावित्राको २६ गोल

शाम्बा उपनामले चर्चित सावित्रा भण्डारीका लागि पाँचौँ महिला साफ च्याम्पियनसिप खास रह्यो । स्वास्थ्य अनुकूल नभए पनि उनी समूह चरणका २ खेल र सेमिफाइनलमा श्रीलंकाविरुद्ध उत्रिइन् । भुटानविरुद्धको खेलअघि अस्पताल भर्ना भएकी सावित्रा मैदान ओर्लिनेमा धेरैको शंका थियो । तर, टीम व्यवस्थापनले उनलाई आराम दिनुको साटो कमजोर प्रतिद्वन्द्वीविरुद्धको खेलमा पनि मैदान ओराल्यो । संयोगवश उनले तीनै खेलमा १-१ गोल गरिन् । फाइनलमा भारतविरुद्ध निस्किएको एक मात्र गोल उनकै नामको थियो । 

श्रीलंकाविरुद्धको सेमिफाइनलमा गोल गरेपछि सावित्राले राष्ट्रिय टोलीबाट महिला टोलीका लागि दोस्रो सर्वाधिक २५ गोल गर्ने जमुना गुरुङसँग बराबरी गरेकी थिइन् । नेपालले फाइनल नजिते पनि सावित्राका लागि भने एक गोलको पनि ठूलै अर्थ रह्यो । उनी नेपाली टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रोमा अटाएकी छन् । उनको व्यक्तिगत गोल संख्या २६ पुगेको छ । नेपाली टोलीबाट सर्वाधिक गोल गर्ने कीर्तिमान पूर्वकप्तान अनु लामाको छ । उनले ३५ गोल गरेकी थिइन् । 

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का विपक्षी टोलीलाई दबाबमा राख्न शाम्बाको उपस्थिति अनिवार्य रहेको बताउँछन् । "सावित्रालाई मार्क गर्न कम्तीमा पनि विपक्षीका तीन चार खेलाडी खटाइएको हुन्छ । यस्तोमा हाम्रा अन्य खेलाडीले गोलको अवसर सिर्जना गर्न सक्छन्," उनी भन्छन्, "त्यसैले सावित्रालाई मैदान ओरालेका हौँ ।"

सावित्रालाई घरेलु दर्शकले पनि गोलको भकारी मानेका छन् । हुन पनि भारतविरुद्ध उसकै गृहमैदानमा गतमहिना भएको हिरो गोल्डकपमा सावित्राकै २ गोलको मद्दतमा नेपालले पहिलोपटक २-१ को जित दर्ता गरेको थियो । 

भारतीय जिन्क्स

फुटबलमा चाहे महिला हुन् या पुरुष- टोली नेपाल र भारत चिरप्रतिद्वन्द्वी हुन् । यी दुईबीच मैदानमा हुने भेट सदैव रोमाञ्चक हुने गर्छ । नेपाली पुरुष टोलीले भारतलाई ३ पटक हराएर मुख्य प्रतियोगिता आपmनो नाम गराएको छ । 

सन् १९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-३ ले हराएको थियो । सन् २००४ पछि प्रतियोगितामा २३ वर्षमुनिका टोलीले मात्र भाग लिन थाले । भारतको गुवाहटीमा सन् २०१६ मा भएको प्रतियोगितामा नेपालले भारतलाई २-१ ले हराउँदै उपाधि उचाल्यो । त्यस्तै १९ वर्षमुनिको प्रतियोगितामा पनि नेपालले भारतलाई हराएर सन् २०१५ मा उपाधि जित्यो । त्यसको २ वर्षपछि भुटानमा भएको प्रतियोगितामा नेपालको 'सिकार' बंगलादेश भयो । 

त्यसयता नेपाली पुरुष टोलीले फुटबलमा महफ्वपूर्ण सफलता प्राप्त गर्न सकेको छैन । किनभने नेपाली टोलीको तुलनामा दक्षिण एसियाली स्तरमै अन्य टोली बलिया प्रमाणित भइसकेका छन् । अझ भारतसँगको प्रतिस्पर्धा भनेपछि नेपाली टोली त्यसै पनि दबाबमा पर्ने गरेको छ । यो जिन्क्स तोड्ने मौका पुरुष टोलीको दाँजोमा महिला टोलीलाई बढी प्राप्त छ । 

तर अहिलेसम्म भएका १० आमनेसामनेमा नेपाली महिला टोलीले १ मा जित र २ मा बराबरी गर्दा बाँकी ७ खेल भारतलाई सुम्पेको छ । साफ च्याम्पियनसिपको ४ खेलमा नेपालले सबै खेल गुमाएको छ, जसमा ३ फाइनल र गतसंस्करणको सेमिफाइनल पर्छन् । त्यस्तै दक्षिण एसियाली खेलकुदका ४ खेलमा नेपालले ३ मा हार १ मा बराबरी गरेको छ । सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो फाइनलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । त्यसयता प्रत्येक फाइनलमा गोल अन्तर फराकिलो हुँदै गइरहेको छ । सन् २०१२ मा ३-१ र २०१४ मा ६-० ले नेपाल पराजित भयो । सन् २०१६ को संस्करणमा भने नेपालको भारतसँग सेमिफाइनलमा भेट भयो, जसमा नेपाल ३-१ ले पराजित हुँदै पहिलोपटक फाइनलमा पुग्नबाट बञ्चित भयो । सेमिफाइनलमा भारतविरुद्ध गोल गर्ने खेलाडी सावित्रा भण्डारी थिइन् । 

दक्षिण एसियाली खेलकुदमा पनि महिला टोली दुबै पटक भारतसँग पराजित हुँदै उपविजेतामा खुम्चिएको छ । सन् २०१० मा बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपाली महिला टोली ३-१ ले पराजित भएको थियो । त्यस्तै सन् २०१६ मा भारतको गुवाहटीमा भएको फाइनलमा नेपालले नतिजा भारतलाई २-१ ले सुम्पेको थियो । 

चुके हरि खड्का अवसरबाट

नेपाली राष्ट्रियटोलीका पूर्वकप्तान समेत रहेका हरि खड्का अहिले महिला टोलीका मुख्य प्रशिक्षक छन् । राष्ट्रिय टोलीमा रहँदो विपक्षीका पोष्टमा १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा निराजन रायमाझीसँगै कीर्तिमान बाँडेका हरिले खेलाडीका रुपमामहत्वपूर्ण प्रतियोगिताको उपाधि उचाल्न पाएनन् । सन् १९९९ मा काठमाडौंमा आयोजना भएको ८ औं साफमा खड्का सम्मिलित नेपाली टोलीले उपाधिको खडेरी समाप्त पार्ने आशा जगाएको थियो । तर, फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएपछि खड्काको पुस्ता फुटबलमा ठूलो प्रतियोगितामा उपाधिबिहीन रह्यो । 

दुई दशकपछि खड्का पुनःमुख्य उपाधिको नजिक छन् । तर, भूमिका बदलिएर उनी अहिले  प्रशिक्षक भएका छन् । नेपाली टोली ( पुरुष र महिला) दुबैले साफ च्याम्पियनसिपको उपाधि उचाल्न सकेका छैनन् । त्यसैले पनि खड्का मौकामा चौका हान्ने दाउमा थिए । तर, प्राविधिक, शारीरिक र मानसिक सबै कोणबाट नेपाली खेलाडीभन्दा अब्बल भारतीय पक्षलाई हराएर इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेखाउने अवसरबाट हरि यसपटक पनि वञ्चित भए । 

प्रकाशित: चैत्र ८, २०७५