बजारु कमेडी (फिल्म समीक्षा : कागजपत्र)

- गोकर्ण गौतम

फिल्म : कागजपत्र | रेटिङ : १.५/५


नेपाली सिनेमाको पछिल्लो प्रवृत्ति हो, जसरीतसरी हसाउने । पात्र र कथाअनुरुप दृश्य सिर्जेर होइन, संवादबाटै बिनाप्रसंग हसाउन उद्धत देखिन्छन् निर्देशक । न विषयप्रति इमानदारी हुन्छ, न त कलात्मक गुणवत्ता । यही नियतिको नयाँ संस्करण हो, कागजपत्र । अपिल विष्ट लिखित/निर्देशित यस फिल्ममा विदेश जाने हुटहुटी र त्यसबाट निम्तने दुष्परिणामलाई केन्द्रमा राखिएको छ । सामाजिक यथार्थसँग अति नजिक भए पनि कथावाचनमा संवेदनशीलता देखिँदैन । हसाउने धङधङीबाट प्रताडित छ । फलतः कागजपत्र हेरिरहँदा थोरबहुत हासिएला तर सम्झनालायक खास केही छैन ।

दाङको हुलाक कार्यालयका पियन राजकुमार (भोलाराज सापकोटा) लाई घर चलाउनै धौधौ छ । त्यसैले पत्नी देवी (सरिता गिरी) विदेश जान किचकिच गर्छिन् । सरकारी जागिर, श्रीमती र दुई बच्चा छाडेर परदेश जान फिटिक्कै मन छैन उनलाई । तर परिस्थिति यति कठोर बन्दै जान्छ कि देवीको चाहबमोजिम साली बुनु (शिल्पा मास्के)सँग किर्ते बिहे गरेर अस्ट्रेलिया जान राजी हुन्छन् । ४० वर्षे सोझा राजकुमार र २० वर्षकी नर्सिङ पढेकी बुनु अस्ट्रेलिया पुगेर आफ्नो सपना पूरा गर्लान् ? कागजपत्र यही सवाल वरपर घुमेको छ ।

दृश्यभाषा भएकाले फिल्ममा न्यारेसनको प्रयोग सकेसम्म निषेध गरिन्छ । गर्नैपरे जटिल अवस्थामा मात्र । कागजपत्रका पात्र र उनीहरुका व्यवहार सरल छन्, दर्शकले सजिलै चिन्न र बुझ्न सक्छन् तर सुरुआतबाटै पृष्ठभूमिमा कथावाचकको आवाज सुनिन्छ । निर्देशकलाई आफ्नो कथावाचनमा आत्मविश्वास नभएको प्रमाण हो यो । कथा प्रवेशक्रम रसिलो छ । देवीको छुच्ची र महत्वाकांक्षी स्वभाव अनि राजकुमारको झनक्क रिसाउने र निर्दोषपनाले दर्शक मन जित्छ । उनीहरुको 'केमेस्ट्री' हाम्रो सन्दर्भमा झर्रो लाग्छ । बुनु र उनलाई मन पराउने जग्गा दलाल केशव (नाजीर हुसैन)को प्रवेशले रोचकता थप्छ । तर विस्तारै विरक्ति पैदा हुन थाल्छ । कारण, समस्या स्थापित भइसक्दा पनि उही आशयका दृश्य दोहोर्याइन्छ । नयाँ घटनाक्रम सिर्जेर कथालाई गति दिइन्न ।

मध्यान्तरसम्म त जसोतसो फिल्मले तान्छ । कम्तीमा पात्रहरुमा आफ्नोपन भेटिन्छ । तर मध्यान्तरलगत्तै पूरापूर 'ट्रयाकआउट' हुन्छ । कमेडीबाट रोनाधोनातिर एक्कासि छलाङ मारिएको छ । श्रीमान परदेशिएका एक्ली श्रीमतीतिर गाउँका कथित ठूलाबडाको गिद्धेनजर हाम्रो तीतो विडम्बना हो । तर यसलाई अपत्यारिलो ढंगले देखाइएकाले कथाको सुरक्षित अवतरण गराउने निर्देशकको प्रयास विफल भएको छ । समाजसेवी भनिएका गाउँका उरन्ठेउला केटाहरु, वडाध्यक्ष, वकिलजस्ता पात्र 'क्लिसे' लाग्छन् । न अन्त्यतिर मुख्य पात्र आर्दशवान भएको विश्वसनीय लाग्छ, न त बुनुको बाआमामा आएको परिवर्तन नै । क्लाइमेक्स नजिकिँदै गर्दा केन्द्रीय द्वन्द्वका सवालमा निर्देशक स्वयं अलमलमा परेका छन् । सानो क्यानभासको कथालाई प्रभावकारी ' ट्रिटमेन्ट' बिना जबर्जस्ती तन्काउन खोजेर पो हो कि !

कथाको परिवेशमा असुहाउँदा र यौनलाई प्रधानता दिइएका द्वअर्थी संवाद भरमार छन् । पात्रहरु बोलेको–बोल्यै । यस्ता संवादमा रुमल्लिनुभन्दा जीवन्त दृश्य सिर्जिर्एको हुँदो हो त, फिल्मले उचाइ चुम्थ्यो । रेडियो नाटक हेरेको भान हुन्नथ्यो । कतिपय दृश्यचाहिँ आउँछन्, जान्छन्, मूलकथासँग खास सरोकार राख्दैनन् । प्रतिकात्मक दृश्यको उस्तै खडेरी छ । किर्ते बिहे र हनिमुनचाहिँ रमाइलो ढंगबाट खिचिएको छ । बाध्यताले आत्मसम्मानमा सम्झौता गर्न विवश हुनुपर्ने यस्तो नियतिमा हरेकले कहीँ न कहीँ आफूलाई पाउँछन् । पात्रहरुको बोलीचाली, हुलिया, मनोवृत्ति, लोकेसनमा दाङको स्थानीयपन आत्मसात् गरिएको छ । कास्मिर डिक्सनको छायाँकनले कम्तीमा दृश्यभाव बिथोलेको छैन । 'माया संसार...' गीतलाई कथावाचनकै रुपमा प्रयोग गरिएको छ ।

कागजपत्रको सबैभन्दा प्रशंसनीय पक्ष हो, कलाकारको अभिनय । धन कमाउन नसक्दा उल्झनमा फसेको पात्रका रुपमा भोलाराज सापकोटाको रुपान्तरण गज्जबको छ । त्यस्तै जीवन्त काम गरेकी छन्, सरिता गिरीले । रंगमञ्चबाट अभिनय सुरु गरेका भोलाराज र सरिताले फेरि एकपटक आफ्नो अब्बलता पस्किएका छन् । नाजीर हुसैन र शिल्पा मास्केको जोडी पनि प्यारो लाग्छ । जीवन भट्टराईको चरित्र र अभिनयले उस्तै रोमाञ्चक तुल्याउँछ । सहायक भूमिकामा देखिँदै आएका जीवन अब मुख्य भूमिकाकै दाबेदार हुन् । कागजपत्रका क्याप्टेन अर्थात् निर्देशक अपिलचाहिँ कन्टेन्टभन्दा कमेडीमा अल्झिएका छन् । बजारु दबदबाबाट मुक्त हुन नसक्दा आफैँले उठाएको विषयवस्तुलाई न्याय गर्न चुकेका छन् ।

हास्य संवादमै मक्ख पर्नेलाई कागजपत्रले जसोतसो चित्त बुझाउला । सशक्त कथा र सिर्जनशील प्रस्तुति खोज्नेलाई चाहिँ झेल्नै मुस्किल पर्छ ।

प्रकाशित: चैत्र ८, २०७५