तकसेराबाट देखेको देश

- मैत्या घर्तीमगर

क्यामेरा र मेरो सहयात्रा १० वर्षपहिले सुरुआत भएको थियो । यसबीच थुप्रै आरोह-अवरोह पार गर्दै अनगन्ती दृश्यलाई पाठकमाझ देखाउने अवसर प्राप्त गरेको छु । विदेशी भूमिको विशाल कम्पनीमा जन्मिएको क्यामेरालाई मैले कहिले झोलाभित्र राखेर त कहिले काँधमा बोकेर देशको कुनाकन्दरा पुर्याएको छु ।

मैले क्यामेरा बोक्दा भर्खरै गणतन्त्र नेपालको पहिलो निर्वाचन सम्पन्न भएको थियो । संविधानसभामा ६ सय १ माननीय चुनिएका थिए । राष्ट्रपति डा रामवरण यादव थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ।

काँचको दराजभित्र आनन्दले बसिरहेको क्यामेरा जब मसँग आयो, त्यसबेलादेखि यसले दुःख पाउन थाल्यो । कहिले मेरो झोलामा कोचिएर बस्यो, कहिले सहरको धूलो अनि कहिले पहाडको चिसो सिरेटोसँग लडिरह्यो यो क्यामेरा । तर कहिल्यै कुनै गुनासो गरेन ।

तस्बिरहरु : मैत्या घर्तीमगर


अरुको हातमा रहेको क्यामेराभन्दा एक प्रकारले अभागी छ, मेरो क्यामेरा । सहरको झिलिमिली, रंगीन दुनियाँ, पाँचतारे होटलको भोज, देशका ठूलाबडाको तस्बिर खासै यसले खिच्न पाएको छैन । यसले पायो त केवल गरिब, दीनदुःखी, अभाव, सौन्दर्यमा हिमालको हिउँ, पहाड, हरियाली जंगल, कमिलाको ताँतीझैँ देखिने यार्चागुम्बा संकलकको तस्बिर खिच्न पायो ।

मलाई अहिले पनि याद छ, वर्षत् को एक दिन गोठमा बसेर उच्च हिमाली घाँसेमैदान गलैँचाझैँ फैलिएको बुकी पाटनको तस्बिर लिन कुर्दाकुर्दै हप्तौँ आकाश नखुलेको पीडा अनि आकाश खुलेको दिन ब्याट्रीले काम नगर्दा चुपचाप बस्नुपरेको क्षण । अमिलो मन बनाएर घर फर्किएको थिएँ ।

प्लस टु सकेर बसिरहेको मलाई घरपरिवारले राहदानी बनाएर विदेसिन कर गरिरहेका थिए, ०६४ ताका । अचानक नेपाल साप्ताहिकका संवाददाता भोजराज भाटसँग भेट भयो । उनी रुकुम-रोल्पाको रिपोर्टिङ गर्न तकसेरा आइपुगेका रहेछन् । उनैले मलाई सञ्चार क्षेत्रमा छिर्न हौस्याए । अनि मेरो फोटोकारिताको यात्रा सुरु भयो जानीनजानीकनै । त्यसपछि मैले खिचेका फोटाहरु नेपाल साप्ताहिकमा छापिन थालेसँगै मनमा ऊर्जा जागेर आयो ।

कुशल फोटो पत्रकार बनेर आवाजविहीनको आवाज र दूरदराजमा लुकेर रहेको संस्कार, संस्कृति र कलाकौशल तथा प्राकृतिक सौन्दर्यलाई पहिचानमा ल्याउने सानैदेखि सपना देखेको थिएँ । त्यो अनायासै पूरा हुँदै गएको भान हुन थाल्यो । पछि अग्रज फोटो पत्रकारको सल्लाहअनुसार फोटोग्राफीका विभिन्न पुस्तक पढ्न थालेँ । शरद राई लिखित फोटोग्राफी दिग्दर्शन  पढेर क्यामेराका विषयमा थुप्रै कुरा जानेँ ।

 

आफूसँग राम्रो क्यामेरा नभएपछि किन्ने जुक्ति निकालेँ । एक दिन 'विदेश जान्छु' भनेर घरबाट पैसा हात पारेँ, जुन पैसाले पुराना फोटो पत्रकार चन्द्रशेखर कार्की दाइकहाँ पुगेँ । र, उनकै सल्लाहअनुसार  न्युरोडमा रहेको न्यु क्यामेरा होमबाट क्यामेरा किनेर बिनातालिम गाउँ फर्किएँ । विदेश जान हिँडेको छोरा क्यामेरा बोकेर घर फर्किंदा घरमा भुइँचालो गयो । घरमा रिसाएकालाई बल्लबल्ल मनाएँ । अनि गाउँमै आयोजना गरिएको भूमि पूजाको फोटो खिचेर फोटोग्राफी यात्रा आरम्भ गरेँ ।

अहिले पनि रुकुमपूर्वका गाउँबस्तीमा बसेर पत्रकारिता गर्नेहरु औँलामा गन्न सकिने मात्र छन् । अझ मेरो भूमि तकसेराका युवाको पहिलो रोजाइ ब्रिटिस, भारतीय सैनिक, अमेरिका, युरोपेली र दक्षिण एसियाली मुलुकमा छिर्ने लहर छ । विकल्पमा अनिवार्यजस्तै छ, साना-साना व्यापार । पत्रकारिता त कल्पनाबाहिरको कुरा हो । समाजको त्यो डलर उमार्ने देश हेर्ने दृष्टिकोण र साँवा अक्षर नचिनेका आमाबुबालाई पत्रकार कुन चरीको नाम हो, थाहा थिएन । उनीहरुको नजरमा क्यामेरा बोकेर डुल्नु बेकामे आबारा केटाजस्तै हुनु थियो । जसले जे भने पनि नराम्रो मानिनँ । सोचिनँ । जस्तोसुकै बाधा-अवरोध आए पनि फोटो पत्रकारिता गर्नैपर्छ भन्ने अठोट लिएर मैदानमा उत्रिएँ । फोटोग्राफीको आधारभूत कक्षासहित विभिन्न तालिम लिएँ । जीवन रहेसम्म यसै पेसामा लागिरहनेछु ।

शब्द/तस्बिर : मैत्या घर्तीमगर

प्रकाशित: चैत्र ७, २०७५