हिंसाविरुद्ध ज्ञान

- प्रदीप गिरि

समयमै पढ्ने अवसर नपाएर होला, मेरा पिताजीमा किताब संगाल्ने अनौठो सोख थियो  । त्यसैले मधेसको सुदूर गाउँ बस्तीपुरमा म किताबका तिनै संगालोमाझ हुर्किएँ । बाल्यकालमा पढेको एउटा किताब सम्झिन्छु । त्यो किताबको प्रभाव नित्य गहन र फराकिलो हुँदै छ । त्यो किताब साँचो अर्थमा एक क्लासिक थियो/छ । त्यो किताब हो, रामायण । पहिलो रामायण आदिकवि वाल्मीकिले लिपिबद्ध गरे भनिन्छ । नेपाली भाषामा भानुभक्तले त्यसको अनुवाद गरे । र, मैले सुरुमा सुनेको रामायण भानुभक्तकै हो । तर सर्वप्रथम पढेको रामायण हो- स्वामी तुलसीदासको । खुसीको कुरा- लामो समय अप्राप्य त्यो रामायण केही वर्षअघि रत्न पुस्तक भण्डारले छापेको छ ।

भानुभक्त पढ्दा सरस र रुचिकर भएकाले जिब्रोमा बस्यो पनि । वाल्मीकि कठिन भए । तुलसीदासको मूल दोहालाई यथावत् राखेर अत्यन्त सरस गद्यमा कु­­लचन्द्र गौतमद्वारा अनूदित यो पुस्तक राणाकालमै प्रकाशित भएको थियो । शब्दार्थ र सन्दर्भलाई पादटिप्पणीमा राखिएको यो किताबले सनातन सभ्यता सहज ढंगले बुझाउँछ । मैले रामायणको कथा मात्रै पढेको थिएँ ।

त्यो कथा सबैलाई थाहा छ – राजा दशरथ थिए, सौतेनी मामिला थियो । रामले उदारता देखाए, बाबुको आज्ञापालन गर्दै जंगल जान तयार भए । दाजुभाइको सम्बन्धमा एउटा नयाँ विम्ब खडा भयो । रामले जंगलका आदिवासी/जनजातिहरूसँग मद्दत लिएर रावणलाई पराजित गरे अनि उनी लोकपि्रय भए । लोकोपोवाद खप्न नसकी पत्नी सीतालाई त्यागिदिए । सारमा कथा यही हो ।

तर त्यसभित्र आकर्षक प्रसंगहरू पनि छन् । दशरथले रामलाई छोड्दा कैकेयीसँग उनको मनोभाव उतारचढावको वर्णन रोचक छ । राम-भरतको वादविवादमा दाजुभाइको परस्परको प्रेम र तर्क-वितर्कको चातुर्य पनि भेटिन्छ । सामान्यतः नहाँस्ने/नमुस्कुराउने गम्भीर स्वभावका रामको भावनामय प्रस्तुति छ यहाँ । आज पनि हेपिने अस्पृश्य,'अछूत' र जनजातिप्रति रामको लगातार प्रेम र उनीहरूलाई संगठित गर्न सक्ने उनको शक्ति आकर्षक लाग्छ ।

 मलाई यो किताबको खासखास प्रसंगले मोहित गथ्र्यो र कतिपय प्रसंगमा त आँसु पनि आउँथ्यो । रामायणमा रहेको साहित्यिकताका कारण यसलाई आध्यात्मिक/पौराणिक ग्रन्थ मात्रै मान्न सकिन्न । समय बित्दै जाँदा रामायणका प्रसंग मेरा निम्ति झन् अर्थवान् हुँदै गए । तारुण्यमा त्यही किताबको एउटा प्रसंगले खिच्यो तर आज आएर त्यसका गूढार्थ बुझ्दै छु । उमेरअनुसार यसका अर्थ बदलिँदै छन् । तर ज्ञान-परम्परामा रहेका त्याज्य र सान्दर्भिक प्रसंगलाई केलाउन सक्नुपर्छ । तथाकथित आधुनिक सभ्यताको आँधीले एकनास उपभोक्तावादी आक्रमण गर्दै छ हामीमाथि । हिंसाविरुद्ध रामायण, महाभारत, गीता र संस्कृतिका अन्य ग्रन्थले हामीलाई केही न केही सिकाउँछन् । रामायणलाई म शिक्षाभन्दा बढी उच्च कोटिको साहित्यिक कृतिका रुपमा मान्छु । दक्षिण एसियामा रामायणका अनेक संस्करण र रुप भेटिन्छन् तर तुलसीदासकृत रामायणको नवरससहितको कवित्वले मलाई सधैँ आकषिर्त गर्छ, जसमा राजनीति पनि छ । र, मूलतः त्याग-समर्पणमा आधारित परिवारको अवधारणा छ ।

समाजवादी राजनीतिमा कुनै एउटा किताबको नाम दिनुपर्दा राममनोहर लोहियाको ह्वील्स अफ हिस्ट्री सम्झन्छु । मार्क्सवादको प्रशस्तै विरोध भए पनि इतिहास-दर्शनको क्षेत्रमा माक्र्सको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवाद बुझ्नु आवश्यक हुन्छ । मानव सभ्यताको उत्थान-पतनको इतिहासलाई गहिरिएर बुझ्नुपर्छ । लोहियाको विचारमा अमेरिकी जगजगी आगामी ५० वर्षमा अनिवार्य समाप्त हुनेछ किनकि इतिहासमा यस्तै भएको छ । विश्वमा कुनै बेला ग्रीसको शासन थियो भने कुनै बेला रोमको साम्राज्य । पिरामिड बन्दा इजिप्टको, ग्रेटवाल बन्दा चीनको, शाहजहाँले ताजमहल बनाउँदा भारतको ताकत धेरै थियो । यन्त्रको विकास भएको ठाउँमा मात्रै उन्नति नहुँदो रहेछ । भौतिक यन्त्रको अत्यन्त महत्त्व भए पनि त्यसबाहेकका आविष्कार र सिर्जनाको खोजी गर्नुपर्ने धारणा राख्छन् लोहिया । संसारभर एउटै दर्शन बनेकै छैन, जो सबैमा लागू गर्न सकियोस् । तर मानव जातिले सबैलाई हुने गरी एउटै दर्शन आविष्कार गर्नुपरेको छ । लोहियाका अनुसार अहिलेसम्म मानिस आवश्यकताको इतिहासमा हिँडेको छ । उसले अधिकतम योग्यता प्राप्त गरेको भए पनि सम्पूर्ण योग्यता हासिल गर्न सकेको छैन । मार्क्सले भनेजस्तै वर्गसंघर्ष मात्रै दुनियाँको पुँजी होइन । संसारमा वर्गबाहेक पनि वर्ण, जाति-प्रजाति, नश्लजस्ता पक्ष पनि रहेकाले तिनीहरुबीच हुने संघर्षलाई कम आँक्न नहुने विचार लोहियाको छ । मार्क्स-एंगेल्स पनि व्यक्ति भएकाले दृष्टिकोणमा सीमितता हुनु अनौठो होइन । त्यसैले कुनै व्यक्तिको विरोधमा उत्रनुभन्दा सकेसम्म पढेर आफैँले उत्तर खोज्नमा प्रयत्नशील हुनुपर्ने धारणा छ, लोहियाको । उनको निचोड हो- वर्गसंघर्ष इतिहासमा छ तर वर्गीय कोणले मात्रै सम्पूर्ण परिवर्तन गर्न सक्दैन । अरु समाजवादी चिन्तकभन्दा लोहियाको चिन्तनले मलाई अधिक प्रभावित पारेको छ ।

लोहियाकै रचनाबाट सुनेको लेखक सिमोन द बुभाएरको सेकेन्ड सेक्सले उठाएको नारी स्वतन्त्रता निकै अर्थपूर्ण लाग्छ । द्वितीय विश्वयुद्धपछि लेखिएको त्यो किताबमा स्त्री र पुरुषको सम्बन्धबारे सिमोन भन्छिन्, 'एउटै व्यक्तिसँगको शारीरिक सम्बन्धबाट मात्रै मान्छे सुखी हुन्छ भन्ने अवधारणा भ्रमपूर्ण छ ।' सार्त्र र सिमोन आजीवन बिहे नगरी सँगै बसे तर उनीहरुको सम्बन्धमा अरु व्यक्ति पनि थिए । सेकेन्ड सेक्सलाई नारी जातिको इतिहासको उल्लेखनीय किताब भने हुन्छ ।

मार्क्सवादीहरु भन्छन्, निजी सम्पत्तिको विकाससँगै नारी दमन सुरु भयो तर सिमोन यो मात्रै कारणलाई स्वीकार्दिनन् । गर्भावस्थाबाहेकका अवस्थामा पुरुषभन्दा नारी कुनै कोणबाट कमजोर नरहेको दाबी गर्छिन् उनी । प्रखर मार्क्सवादीका रुपमा परिचित सिमोनको ठम्याइ छ, महिलालाई घरभित्र खुम्च्याउन महाख्यान रचिएका हुन् । नारीलाई सुन्दरी भनेर/बनाएर पुरुषले गर्ने शोषणको सैद्धान्तिक प्रतिरोध गरेकी छन् उनले । नारीलाई 'आफू को हो' भन्ने चिन्नै नदिएर पुरुषले 'अन्य' बनाएको विचार पोख्छिन् उनी ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: चैत्र ७, २०७५

ट्याग: तीन किताब