मायाको चिनो

- अर्चना थापा

छोरी कलेजबाट घर फर्की ०७५ को जाडो बिदामा । आफ्नो न्यानो लुगा नल्याएकाले ऊ कहिले मेरो, कहिले आफ्नो ड्याडीको दराजका लुगा छानेर लगाउँथी । घरका सदस्यको लुगा र सामानमा बेफिक्री हक दाबी गर्ने उसको सानैदेखिको बानी छ । आज पनि उसको बानी फेरिएको छैन ।   

जाडोको बिदा सकियो र उसको कलेज फर्किने समय नजिकिन थाल्यो । फर्किन दुई दिन बाँकी हुँदासम्म पनि उसले आफ्नो सामान मिलाएकी थिइन । लिएर जाने लुगा, किताब र साथीका लागि उपहार सबै उसका कोठामा छरपस्ट थिए । मलाई लाग्दै थियो, अघिल्ला वर्षजस्तै यसपालि पनि मैले नै उसको सुटकेस मिलाउनुपर्नेछ ।

'आफ्नो सामान मिलाऊ । पछि छुट्यो भन्न पाउँदैनौ ।'

'म आफ्नो सुटकेस आफैँ मिलाउँछु । हजुरले पीर गर्नैपर्दैन ।'

आखिरमा आमा-छोरी मिलेर नै सुटकेस मिलाउने भइयो । उसले लिएर जाने सामानको डुंगुरमा आफ्नो ड्याडीको एउटा ज्याकेट पनि राखेकी रहिछ । त्यो ज्याकेट सञ्जीवलाई विशेष प्रिय थियो किनकि त्योसित जोडिएका स्मृति विशिष्ट थिए ।

सन् २००३ मा अमेरिका क्यालिफोर्नियाको लोकप्रिय बास्केटबल टिमको उपकप्तान कोबे ब्रायन्टले ८२ खेल खेलेको उपलक्ष्यमा लेकर्स टिमले सीमित संख्यामा लेकर्स ज्याकेट बजारमा ल्याएको थियो । सञ्जीवलाई पीएचडी सकिएको दिन उनका मित्र ज्याजले त्यो ज्याकेट उपहार दिएका थिए । ज्याकेटले विस्मृत-स्मृतिहरु जागृत गराउन थाल्यो ।

'यो ज्याकेट ड्याडीको साथीले दिएको हो । यो विशेष ज्याकेट हो ।' मलाई थाहा थियो, छोरीले लिएर गएका लुगा प्रायः फर्केर आउँदैनन् ।   

'घरमा थन्काएर के काम ? कसैले लगाउँदैन । मेरो एउटा साथी लेकर्सको ठूलो 'फ्यान' छ । यो क्लासिक ज्याकेट उसका लागि गजबको उपहार हुन्छ ।'

छोरीको तर्क जायज थियो र उसको मन अति उदार छ भन्ने मलाई थाहा छ ।    

'यो ज्याकेट ड्याडीलाई अत्यन्त माया गर्ने साथी ज्याजले दिएको हो... ।'

छोरीको आँखामा उत्सुकता देखेर ज्याकेटको कथा भन्न बाध्य भएँ ।

सन् १९९७ मा सञ्जीव रोड आयल्यान्डको ब्राउन विश्वविद्यालयमा पीएचडीका लागि पुगे । सानो, शान्त र सुरक्षित सहर रोड आयल्यान्ड हामी दुवैको रोजाइको सहर थियो । सस्तो सहरमा सीमित छात्रवृत्ति । आर्थिक कारण हामीसित बस्ने ठाउा खोज्ने विकल्प थिएन । विश्वविद्यालय नजिक बस्ने इच्छा र सस्तो भाडाको बाध्यताले हामी यस्तो एरियामा बस्न पुग्यौँ, जहाँ मेक्सिकन, अफ्रिकी अमेरिकी, पूर्वी युरोपेली र स्पेनीको जनसंख्या बाक्लो थियो । विश्वविद्यालयको निर्देशनअनुसार त्यो एरिया सुरक्षाको दृष्टिकोणबाट ठीक थिएन । आपतकालीन स्थितिमा कसरी प्रहरी बोलाउने र सामान्य स्थितिमा के-कस्तो सतर्कता अपनाउने भन्ने सुझाव हामीले पाएका थियौँ ।

राती हिँड्नुपर्दा म गाडीका चारवटै झ्याल बन्द गरेर हुइँकाउँथेँ । झन् राती पैदल हिँड्नुपर्यो भने डरले मेरा खुट्टा बटारिन्थे किनकि हामी बसेको टोलमा केही बार थिए । बाहिरबाट हेर्दा रहस्यमय देखिने अँध्यारा बारबाट निस्कने महिला र पुरुष चर्को स्वरमा भयंकर झगडा गरेजस्तो, कहिले ढलमलाउँदै, लर्बराउँदै त कहिले गीत घन्काउँदै बाटो थर्काउँदै हिँड्थे । सुनेअनुसार केही वर्षअघि बारभित्र गोली चलेर निकै मानिस घाइते भएका थिए ।

पुस्तकालयबाट सञ्जीव ढिलो फर्कंदा म आत्तिन्थेँ ।

एक दिन सञ्जीव घर फर्किंदा निकै ढिलो भयो । 

'आज म बारमा गएँ । त्यहाँ केही रमाइला मान्छेसित भेट भयो,' उत्साहित सञ्जीव पहिलोपल्ट त्यहाँको बारमा छिरेको कुरालाई खररर भन्न थाले ।

'बारमा स्टिभ भन्ने मान्छेसित भेट भयो । राम्रो संगीतज्ञ र बास्केटबलको फ्यान पनि रहेछ ।' क्रिकेटमा रुचि भएको सञ्जीवलाई अमेरिका गएपछि बास्केटबल र टेनिसमा निकै रुचि बढेको थियो । सञ्जीव र म लेकर्सका खेल चाखपूर्वक हेर्न थालेका थियौँ । 

'बारमा जानु सुरक्षित हुँदैन ।'

मेरो सल्लाहलाई सञ्जीवले तुरुन्तै खारेज गरे, 'तिमी त्यसै डराउँछौ । उनीहरु पनि त हामीजस्तै हुन् ।' स्थानीयको गफ सुन्न र बुझ्न सञ्जीवलाई बार रमाइलो लाग्न थाल्यो । 

एक्लै बस्ने स्टिभ स्नायुरोगबाट पीडित रहेछन् । जागिर गर्न असमर्थ रहेकाले सरकारले उनलाई निश्चित भत्ता दिन्थ्यो । 'औषधीले स्नायु पीडा कम गर्दैन' भन्दै उनी 'शिवबुटी' तान्थे । शिवबुटी प्रतिबन्धित रहेको समय थियो तर उनी आफ्नो घरका गमलामा उमार्थे रे ।   

मैले नचाहँदा पनि सञ्जीव र स्टिभको दोस्ती गहिरिँदै थियो । सायद, डेरिडा र फुकोका टाउको रिंगाउने सिद्धान्तबाट फुत्किन सञ्जीवलाई स्टिभको संगतले राहत दिएको थियो । दुवै कहिले बारमा त कहिले स्टिभको घरमा भेट्न थालेका थिए । स्टिभ गिटार बजाउँथे, गीत गाउँथे र आफ्नी प्रेमिका एटलान्टामा पर्खिबसेको कथा सुनाउँथे । अफ्रिकी -अमेरिकी स्टिभको एउटै मात्र सपना थियो, पैसा जम्मा गरेर पिकअप ट्रक किन्ने र आफ्नी प्रेमिकालाई भेट्न एटलान्टा जाने । 

दोस्ती बाक्लिँदै गएपछि स्टिभले सञ्जीवलाई अर्कै क्षेत्रमा बस्ने आफ्नो अर्को साथी ज्याजसित भेटाउन लिएर गए । पुगनपुग ७० वर्षका ज्याजलाई भेटेपछि उनी सञ्जीवका अर्को आत्मीय मित्र बन्न पुगे । अफ्रिकी-अमेरिकी ज्याज रोड आयल्यान्ड म्युनिसिप्यालिटीको फोहोर उठाउने ट्रकचालकको जागिर गरेर निवृत्त भएका थिए । उनी आफ्नी दोस्री श्रीमती लिन्डा र तीन सन्तानसित बस्थे । कर्मनिष्ठ र मिहिनेती ज्याजले आफ्ना सन्तानले उच्च शिक्षा पाऊन् भन्ने सपना पालेका थिए । जेठो छोरा ब्राउन विश्वविद्यालयमा पढोस्, छोरीले राम्रो पढेर होनहार ब्वायफ्रेन्ड रोजोस् र कान्छो छोरा ब्राउन बास्केटबल टिमको छनोटमा परोस् भन्ने सपना !

ज्याज र सञ्जीवबीच सुरु भएको दोस्तीमा उमेर, देश, भाषा, संस्कृतिको छेकबार थिएन । मेरो मनमा जिज्ञासा उठ्थ्यो, 'के कुरा गर्छन् उनीहरु ?' ज्याजको परिवारसित मेरो भेट हुँदा उनका जेठा छोरा र छोरीको जीवनचक्र र ज्याजको सपनाबीच तालमेल खल्बलिएको थियो । खै, किन हो ज्याजले सञ्जीवलाई छोरा र साथी दुवै मान्न थालेका थिए । ठूलो ज्यानको ज्याजको मन झन् ठूलो थियो । टोलभरिका युवक र बच्चा उनका साथी थिए । सबैसित उसको सम-संवाद हुन्थ्यो- बास्केटबल, देशको राजनीति, पश्चिमी संगीत र आफ्ना ब्वायफ्रेन्ड र गर्लफ्रेन्डबारे ।

सानी छोरी जन्मेपछि उनीसित मेरो भेटघाट पातलियो तर सञ्जीवसित उनको दोस्ती यथावत् थियो । सन् २००० मा काठमाडौँ फर्किंदा हामीबीच इमेल र फोन नम्बर साटासाट भयो । तर नेपाल फर्केपछि कुराकानी भएन । २००२ मा सञ्जीव एक्लै ब्राउन फर्किए । २००३ मा पीएचडी सकाए । त्यो एक वर्षको अन्तरालमा सञ्जीव र ज्याजको दोस्ती फेरि बाक्लिएछ । ग्य्राजुएसनको दिन ज्याजले सञ्जीव र उनका केही साथीलाई घरमा रात्रिभोजन गर्न बोलाए रे । त्यही दिन उनले लेकर्स ज्याकेट पनि उपहार दिएको कुरा मैले सञ्जीवबाट सुनेकी हुँ ।  

आर्थिक अभावमा पनि ट्रकको कर तिथ्र्यो । चार वर्षसम्म कबाड भएर त्यत्तिकै थन्कियो त्यो ट्रक । न उसले लाइसेन्स लियो, न त ट्रक बेच्यो ।

२००३ को अन्त्यतिर सञ्जीव काठमाडौँ फर्केपछि हामी फेरि आफ्नै जीवनको व्यस्त दैनिकीमा अल्झिँदै गयौँ । सञ्जीवले ज्याज र स्टिभलाई फोन गरेको वा इमेल पठाएको मलाई थाहा छैन । २०१२ मा सञ्जीव हार्वर्ड विश्वविद्यालय पुगे । म सागै थिएँ । बोस्टन बसाइ दौरान हामीलाई रोड आयल्यान्डमा पहिला बसेको घर हेर्न जाने मन भयो । त्यहाँको स्वरुप त पूरै फेरिएको रहेछ- नयाँ हाइवे, नयाँ मलहरु, नयाँ सडकहरु ।

'ज्याजलाई भेट्न जाऔँ,' सञ्जीवको प्रस्ताव आयो । तर हामीसित ज्याजको फोन नम्बर थिएन । बेग्लै क्षेत्रमा बस्ने भएकाले उनको घर पुग्ने बाटो चिन्न मुस्किल भयो । सडकको नाम र घरको नम्बरसम्म याद भएन । उनी बस्ने क्षेत्रमा दुई-तीन पटकसम्म गाडी घुमाउँदा पनि घर चिन्न सकिएन । त्यसपछि गाडीबाट ओर्लेर घर खोज्न थाल्यौँ । बाटामा खेल्दै गरेका साना बच्चालाई सोध्दा 'थाहा छैन' भने । टाढाबाट आउँदै गरेका अर्का मानिसलाई सञ्जीवले 'ज्याज' बारे सोध्दा विपरीत दिशाको घरको बरन्डाबाट एउटा वृद्ध एक्कासि चिच्याए, 'स्याँन्जी..... स्याँन्जी ।'

ज्याजले 'सञ्जीव' भन्न कहिल्यै जानेनन् । सधैँ 'स्याँन्जी' भनेर बोलाउँथे । आवाज सुनेर सञ्जीव त्यो घरतिर कुदे । ती वृद्ध पनि बसेको कुर्सीबाट लरबराउँदै उठे । म पनि सञ्जीवको पछिपछि कुदेँ । दुवैको आँखाबाट आँसु बग्न थाले । लिन्डा र म हतप्रभ उनीहरुलाई हेर्दै उभियौँ । ज्याजका औँलाले सञ्जीवको कपाल र अनुहार छाम्न थाले, 'तिमी त जस्ताको तस्तै छौ ।'

'तिमीले मेरो स्वर कसरी चिन्यौ ?' 

'कसरी नचिन्नु ? तिमी त यहाँ छौ' भन्दै ज्याजले आफ्नो छातीतिर हात लगे ।

'ज्याज हेर्न सक्दैन । उसका दुवै आँखा बिग्रे.... ।' लिन्डाले भन्दा पो बुझियो, किन उनले सञ्जीवको कपाल र अनुहार छामेका रहेछन् । उनले सञ्जीवको स्वर टाढैबाट सुनेछन् । चिनेछन् । तर हामी आँखा देख्नेले उनको घर चिन्न सकेनौँ । उनी वृद्ध भएजस्तै घर पनि जीर्ण र धराशयी हुन लागेजस्तै देखिएको थियो ।  

एकछिन सञ्जीव र ज्याज बोल्नै सकेनन् । भावुक ज्याजले सोधेको पहिलो प्रश्न थियो, 'बागमती अहिले कस्तो छ ?'

छक्क परेँ म । रोड आयल्यान्ड वरिपरिको सहरबाहेक अरु सहर र देश घुम्न नपाएका ज्याजलाई संसार घुम्ने रहर थियो । उनको नेपाल घुम्ने इच्छा पनि त्यत्तिकै थियो । सन्तानको उज्ज्वल भविष्यका लागि जम्मै स्रोत खर्चेको ज्याजसित आफ्नो रहर तुष्टिका लागि कल्पित तत्वबाहेक केही थिएन । सायद सञ्जीवका कथाले ज्याजलाई पशुपति, ठमेल, बागमती, नागार्जुन र काठमाडौँका कुनाकाप्चा घुमाइसकेका थिए । ज्याजले पछि ठमेलबारे पनि सोधे ।

हामीले उनको परिवारबारे सोध्यौँ । सानो छोराले ब्राउनको बास्केटबल स्कलरसिप पाएनछ । 

ज्याजसित स्टिभबारे सोध्दा थाहा भयो, अन्ततः उसले पिकअप ट्रक त किन्यो तर गाडी चलाउने लाइसेन्स कहिल्यै लिएन ।

'त्यसो भए ऊ एटलान्टा गएन !' सञ्जीव हुनसम्मै छक्क परे ।

'किन जान्थ्यो ऊ एटलान्टा ?' ज्याजले हाँस्दै जवाफ दिए ।

'अनि उसकी प्रेमिका...? ' 

'प्रेमिका भए पो ! आफ्नो एक्लोपनबाट आत्तिएर उसले प्रेमिकाको कथा बनाएको थियो ।'

'अनि नभएको पैसा खर्चेर किन ट्रक किन्यो उसले ?'

'आफ्नो कथा अरुलाई भन्दाभन्दै ऊ आफैँले आफ्नो कथा पत्याउन थाल्यो । आर्थिक अभावमा पनि ट्रकको कर तिथ्र्यो । चार वर्षसम्म कबाड भएर त्यत्तिकै थन्कियो त्यो ट्रक । न उसले लाइसेन्स लियो, न त ट्रक बेच्यो ।'

ज्याजले स्टिभलाई लामो समयदेखि चिनेको थियो । ४५ वर्षीय स्टिभ आफ्नो कोठामा मृत भेटिएको समाचार ज्याजले प्रहरीमार्फत थाहा पाएको सुनेर हामी भावुक भयौँ । 

हाम्रो कुराकानीको दौरान बाटाका युवक 'हाय ज्याज' भन्दै अभिवादन गर्थे । 

'को हुन् यिनीहरु ?'

'मेरा साथी हुन् । आफ्ना उमेरका साथी बनाउन छाडेँ मैले । बेला-कुबेला खुत्रुक्क हुन्छन् अनि आफू एक्लो भइन्छ । त्यसैले मैले बुढाहरुसित संगत गर्न छाडेँ', ज्याज निकै बेरसम्म हाँसे ।

एकछिनपछि लिन्डालाई भने, 'म नेपाल पुग्न सकिनँ भने मृत्युपछि मेरो केही सामान बागमतीमा बगाउनू ।'

उसका कुरा सुन्दा अचम्म लागेको थियो । के-कस्ता कथा सुनाए सञ्जीवले  ! किन ज्याजलाई यति मोह नेपालको !  

ज्याज र सञ्जीवको कुराकानी सकिएको थिएन तर हामीसित समय सीमित थियो । गह्रुँगो मन लिएर बिदा माग्यौँ ।

नेपाल फर्केपछि आफ्नै व्यस्तता सुरु भयो ।  

सन् २०१८ को बिहान सञ्जीवको इमेलमा ज्याजको घरबाट पहिलो र अन्तिम इमेल आयो, 'ज्याज बिते ।' उनकी छोरीले इमेल पठाएकी थिइन् । ज्याजको नेपाल घुम्ने रहर, रहर नै रह्यो । 

मैले दराजमा राखेको ज्याजको स्नेही उपहार लेकर्स ज्याकेट निकालेर सञ्जीवलाई दिएँ । उनले ज्याकेट लगाए र एकछिनपछि फुकालेर राख्न दिए । ज्याकेटको भित्री खल्तीमा वर्ष २००३ लेखिए पनि जतनसित राखेकाले ज्याकेट नयाँ देखिन्थ्यो । ज्याकेट ह्यांगरमा झुन्ड्याएर खल्तीमा कपुरको गोली राखेँ । किनकि जोगाउनु थियो ज्याकेटमा रहेको ज्याजको स्नेही न्यानोपन । लाग्यो, 'ज्याज नेपाल आउन नसके पनि उनले दिएको ज्याकेट नेपाल पुग्यो ।'

त्यसपछि किन हो सञ्जीवले त्यो ज्याकेट लगाएनन् ।

ज्याजको कथा सुनेपछि छोरीले ज्याकेट थपक्क मेरो हातमा राखिदिई ।

'मम्मी, यो लेकर्स ज्याकेट होइन रहेछ, मायाको चिनो पो रहेछ । यसलाई घरमै राखौँ ।'

छोरीको मन फेरिएछ ।

छोरीलाई ज्याजको कथा सुनाइरहँदा मेरो मन पनि फेरिएछ । सोचेँ, ज्याजको ज्याकेट बागमतीमा बगाइदिऊँ । तर अर्को मनले भन्यो, ज्याजको मायाको चिनोले देश-विदेश घुमोस् । ज्याजले दिएको ज्याकेट मैले पट्टाएर छोरीको सुटकेसमा हालिदिएँ ।

प्रकाशित: चैत्र ६, २०७५

ट्याग: अनुभूति