खण्डहर दरबार

- वसन्तप्रताप सिंह

बझाङ राज्यको प्रादुर्भाव भएको स्थानका रूपमा परिचित छ, व्यासीकोट दरबार । विसं १५०२ तिर तत्कालीन बझाङी राजा शक्ति सिंहले निर्माण गर्न लगाएको उक्त दरबारमा रहेका बझाङ राज्यसम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्तिलगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामग्री अलपत्र छन् ।

साविक व्यासी गाविसको चौधानपाटा नजिकैको कोटडाँडामा रहेको उक्त दरबार बझाङको नामकरणसँग पनि जोडिएको छ । यो दरबार रहेको डाँडामा पटक-पटक बज्रपात हुने भएकाले यस ठाउँलाई बज्रांग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारको दाबी छ । यो डाँडामुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्तियुक्त खनिज रहेकाले चट्याङ पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पूर्णप्रकाश नेपाल 'यात्री' को पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ ।

बझाङमै निर्मित इँटाद्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेकामा १९९० को भूकम्पले क्षति गरेपछि तत्कालीन राजा देवीजंग सिंहले पुनर्निर्माण गरी १० कोठे बनाएको स्थानीय बूढापाकाको भनाइ छ । ०२३ मा आएको भूकम्पले हल्लाएपछि उक्त दरबारका केही भित्ता चर्किएका थिए । ०५७ मा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनी गरेर त्यहाँका केही धातु, मूर्तिसमेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानीय इन्द्रबहादुर सिंह बताउँछन् ।

व्यासीकोट | तस्बिरहरू : वसन्तप्रताप सिंह


भूकम्पले भत्किएको उक्त दरबार संरक्षणका लागि ०५६ तिर राजा वीरेन्द्रकी बहिनी तथा बझाङी राजा दीपकजंगकी धर्मपत्नी शान्ति सिंहले व्यक्तिगत रूपमा ६ लाख खर्चेर जीर्णोद्धार गर्न लगाएकी थिइन् ।  त्यसबेला दरबारको छानामा रहेका स्लेट हटाएर जस्तापाता हालिएको थियो ।

"अहिले त झ्याल-ढोका पनि भत्किसकेका छन् । घेरबार पनि भत्किएका कारण पशुचौपाया चरणस्थल छ," सिंह भन्छन्, "बाहिरका शिलालेखसमेत लेउ लागेर पुरिने अवस्थामा छन् ।"

औँसी पूणिर्माका बेला पूजा गर्ने भक्तजन यहाँ आए पनि अरू बेला बेवास्ता गरेको उनको गुनासो छ । दरबारको चारैतिर भगवती, व्रजेश्वर, महादेव, मष्टा, कालाढुंगोलगायत विभिन्न देवी-देवताका मन्दिर छन् । कोट दरबारमा प्रत्येक वर्ष बडादसैँ, गौरापर्व र चैतेदसैँमा पूजाआजा गर्ने प्रचलन छ । बझाङी राजाले यही दरबारबाट करिब चार सय वर्ष राज्य चलाएको विभिन्न अभिलेखमा उल्लेख छ । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए ।

ब्यासी कोट दरबार


उक्त कोट दरबारमा १९७० देखि १९९० सम्म राजा देवीजंगबहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख छ । १९९५ मा उनको मृत्युपछि १९९६ मा जेठा पुत्र रामजंग सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य चलाएको स्थानीय वृद्ध प्रेमबहादुर सिंह बताउँछन् ।

हालको छविसपाथिभेरा, दुर्गाथली, थलारा, सुर्मालगायत गाउँपालिका र जयपृथ्वी नगरपालिकाको दृश्यसमेत देखिने यो दरबारको जीर्णोद्धार गरेर संरक्षण गर्न सकिए पर्यटन केन्द्रको रूपमा विकास हुन सक्ने स्थानीयको भनाइ छ ।

भोपुरको भग्नावशेष

भोपुर दरबार


हाल अस्तित्वमा रहे पनि संरक्षण नगरिए केही वर्षभित्रै भग्नावशेषमा परिणत हुने अर्को पुरातात्विक महत्त्वको सम्पदा स्थल हो, भोपुर दरबार । केही वर्षअघिसम्म प्रयोग गरे पनि उक्त स्थान छाडेर नेपाली सेनाको टुकडी नयाँ भवनमा सरेपछि दरबार अलपत्र परेको हो ।

दरबारभित्रका कोठा, खोपी र बैठक कक्षको सिलिङका काठ खसिसकेका छन् । ग्यालरी र बरन्डामा प्वाल परेका छन् भने भित्ता खुइलिएर दरबारको स्वरूपै बिग्रने अवस्थामा पुगेको छ ।

तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहले विसं १९९० मा निर्माण थालेर १९९५ मा पूरा भएको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा थियो । ईश्वरजंगका सन्तान नहुँदा उनका आफन्तले ०४० तिर यो दरबार नेपाल सरकारलाई बिक्री गरेका हुन् ।

१९९० को भूकम्पबाट त्रसित राजा देवीजंगले भारतको कोलकाताबाट इन्जिनियर र मिस्त्री ल्याएर यो भवन निर्माण गराएको बझाङी राजाको इतिहासको लामो अध्ययन गरेका प्राध्यापक विष्णुभक्त शास्त्री बताउँछन् । "भूकम्पबाट डराएका राजाले यो भवन बलियो हुने गरी निर्माण गर्न लगाएको देखिन्छ," भन्छन्, "भवनको जग मात्र एउटा बाँस डुब्ने गरी खन्न लगाएको विभिन्न स्रोतबाट पुष्टि भएको छ ।"

भवन निर्माणका क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर जग बनाउँदा अष्टधातु प्रयोग गरिएको शास्त्री बताउँछन् । ०५८ मा सुरक्षा कारण देखाउँदै सेनाको ब्यारेक यो दरबारबाट हेमन्तवाडा सरेपछि बेवारिसेजस्तै थियो । ०६० मा माओवादीले दरबारमा आगजनी गरे पनि स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएकाले एउटा कोठाबाहेक अन्यत्र क्षति हुन भने पाएन ।

०६३ पछि सेनाको एउटा टुकडी पुनः भोपुर बस्न थालेको थियो । तर दरबार जीर्ण हुँदा बस्न नमिल्ने भएपछि सेना नयाँ भवनमा सरेको हो ।

विसं १९९० मै राजा देवीजंगबहादुर सिंहले निर्माण गरेको अर्को प्राचीन स्थल हो- हात्तीसार दरबार । भोपुरसँगै निर्माण भएको यो दरबारमा १९९७ मा तत्कालीन राजा देवीजंगबहादुरले तराईबाट हात्तीका छावा ल्याएकाले पछि नाम नै हात्तीसार दरबार रहन गएको थियो ।

भोपुर दरबारभित्र


बझाङ राज्यको अन्त्यसँगै यस दरबारमा सरकारी अड्डा बस्दै आएका थिए । ०६९ मा जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि यो दरबार अलपत्र छ । तल्कालीन प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीको

पहलमा दुई वर्ष पहिले दरबारको बाहिरी भागमा रंगरोगन गरिए पनि यसको भित्री भाग जीर्ण बन्दै गएको  छ ।

"यो दरबार बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि भित्रभित्रै खोक्रो छ," जिल्ला प्रशासन कार्यालयमा करिब ३० वर्ष बिताएका सेवानिवृत्त नायब सुब्बा गोरख धामी भन्छन्, "जीर्णोद्धार गरिएन भने केही वर्षमै भत्किन सक्छ ।" 

भोपुर दरबार


हराउँदै मेल्लेक दरबार

हात्तीसार दरबार


राजा जयपृथ्वीबहादुर सिंहले बनाएको मेल्लेक दरबार भग्नावशेषमा परिणत भइसकेको छ । सत्यवादी माध्यमिक विद्यालय परिसरमा रहेको यो दरबारको भग्नावशेषसमेत असुरक्षित बन्दै गएको  पुरातत्वविद् बताउँछन् । विसं १९४७ तिर निर्माण भएको अनुमान गरिएको उक्त दरबारको भग्नावशेष संरक्षण हुन नसकेका कारण दिनप्रतिदिन नासिन थालेको हो । त्यहाँका इँटा र काठ विद्यार्थी र स्थानीयले जथाभावी फालिदिँदा अहिले जमिनमुनि रहेको तला मात्र बाँकी छ । राजा जयपृथ्वीबहादुर सिंहले यसै नौतले दरबारबाट ६ वर्ष शासन चलाएको छविस पाथीभेरा गाउँपालिकाका २ नम्बर वडाध्यक्ष विकास ऐडी बताउँछन् ।

बझाङका दरबारको अध्ययन गरिरहेकी पुरातत्व विभागकी आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारी दरबारको भूमिगत रूपमा रहेको एक तलाको भग्नावशेष अहिलेसम्म सुरक्षित भए पनि बाँकी भग्नावशेषको तल्काल सुरक्षा गर्नुपर्ने धारणा राख्छिन् । यस दरबारको उत्खनन गर्न सके जयपृथ्वीबहादुर सिंहका पालाका थुप्रै रहस्य पत्ता लाग्ने उनको अनुमान छ ।

बझाङमा हाल अस्तित्वमा रहेका र भग्नावशेषमा परिणत भइसकेका सबै दरबार पुरातात्विक महत्त्वका छन् । बझाङका सबै दरबारको अध्ययन गरेका पुरातत्व अधिकृत प्रकाश खड्काको दाबीमा व्यासीकोट दरबारमा अहिले पनि पुरातात्विक महत्त्वका शिलालेख, प्राचीन मूर्ति र वास्तुकला छन् । भन्छन्, "सबै दरबार ऐतिहासिकताका हिसाबले महत्त्वपूर्ण छन् । यिनीहरूको संरक्षणमा कुनै पनि निकायको ध्यान गएन ।"

बझाङका दरबारको संरक्षण गरेर पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् । बझाङ घुम्न आएका कैलालीका पर्यटनकर्मी रमणचन्द्र श्रेष्ठ भन्छन्, "बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन हुन सकेन भने भोलिका पुस्ताले पछुताउनुको विकल्प हुने छैन ।"

हाल अस्तित्वमा भएका दरबारको जीर्णोद्धार र भग्नावशेषको पुनर्निर्माण गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृति झल्काउने संग्रहालय बनाउनुपर्ने स्थानीयको माग छ । "बझाङको परम्परागत भेषभूषा, कला-संस्कृतिसमेत लोप हुँदै जान थालेको छ," पर्यटन सूचना समूह बझाङका अध्यक्ष नीलगगन रोशन सिंह भन्छन्, "दरबारको समेत संरक्षण हुने र कला-संस्कृति पनि बचाउने हिसाबले संग्रहालयको रूपमा विकास गर्न सके राम्रो हुने थियो ।"

प्रकाशित: चैत्र ३, २०७५