अपरिपक्व प्रयास (फिल्म समीक्षा : द म्यान फ्रम काठमाडौँ)

फिल्म : द म्यान फ्रम काठमाडौँ | रेटिङ : १.५/५

- गोकर्ण गौतम

राजनीति र अपराध जोडिनु घातक हुन्छ । तर घरी-घरी हामी यही विडम्बनाबाट पिल्सिरहेका छौँ । अझ त्यसमा धर्म मिसियो भने स्थिति कति भयावह होला ? नेपाली समाजले अहिलेसम्म खास भोग्नुनपरेको तर त्यसका संकेत देखापरिसकेको यही विषय उठाइएको छ, फिल्म म्यान फ्रम काठमाडौँमा । फिल्ममा धर्मको आडमा आपराधिक हर्कतमार्फत आफ्नो निहित स्वार्थपूर्ति गरेर राजनीतिक आवरणले ढाकछोप गर्नेसँग रस्साकस्सी छ ।

निर्देशक पेमा धोन्डुपले यति फराकिलो र संवेदनशील कथा त रोजे तर प्रस्तुति अब्बल हुन सकेन । हरेक पात्र र घटना सतही लाग्छन् । फिल्ममा बलिउडका गुल्सन ग्रोबर, पाकिस्तानका हमिद शेख र अमेरिकी कलाकार जोसे म्यानुअल मुख्य भूमिकामा छन् ।

अमेरिकामा बस्छन्, फैजल (जोसे) । उनकी आमा हिन्दु, बुबा मुस्लिम । तर बुबा गायब छन् । परिवारका सबै सदस्य बुबालाई नराम्रो भन्छन् तर फैजलचाहिँ योद्धा मान्छन् । बुबासँग भेट्ने मिसनमा उनी केही दिनका लागि काठमाडौँ आउँछन् । यहाँ एकपछि अर्को लफडामा फस्छन् । आतंककारी संगठन आईएसआईका लडाकू बनेका भनिएका बुबालाई भेट्न फैजल सफल होलान् या उनको जीवनको उद्देश्य नै बदलिन्छ ? यिनै सवाल वरपर घुमेको छ, फिल्म ।

मुस्लिम भएकै कारण फैजलले पाइलैपिच्छे अमेरिकामा विभेद र अपमान बेहोर्नुपर्छ । त्यसैले अमेरिकाप्रति चरम घृणा छ उनमा । पटकथासमेत लेखेका निर्देशक पेमाले फैजल माथिका दुव्र्यवहारका दृश्यलाई मूर्त ढंगले देखाउन सकेका छैनन् । समुद्री किनाराको झगडामा पनि फैजलप्रति खास अनुराग पैदा हुन्न ।

उनको कुरा सुन्दा बाबु हराएको गहिरो चोटमा छन् जस्तो लाग्छ । तर त्यो पीडा दर्शकसम्म प्रवाह हुन्न । मुस्लिम धर्मावलम्बी नेता अबु मिया (गुल्सन ग्रोबर), हिन्दु धार्मिक नेता पण्डित (हमिद शेख), समाजसेवी सुरेश (नीर शाह) र नेताको इशारामा अपराध गर्न उद्यत शेर (कर्मा) को चरित्रचित्रण पनि सपाट छ । अबु र पण्डितलाई खुंखार गुन्डा जसरी उभ्याउन खोजिएको छ तर संवादबाट मात्र । अनि कसरी कथासँग 'इन्गेज' हुन सकिन्छ ?

फिल्ममा बिझाउने अर्को पक्ष हो, डबिङ । कलाकारको भावभंगिमा र संवादबीच कुनै तालमेल छैन । विदेशी होइन, नेपाली कलाकारकै डबिङ पनि अमिल्दो छ । एकातिर दृश्य आफैँमा सशक्त छैन, त्यसमाथि संवाद र बोल्ने शैली प्राकृतिक लाग्दैन । यो दोहोरो अवगुणले फिल्मप्रति वितृष्णा जगाउन भरमार भूमिका खेलेको छ ।

फैजल र उनकी आमा (मिथिला शर्मा) को झगडाको दृश्य निर्देशनमा गरिएको खेलाँचीको नमुना हो । एकै शैलीमा कोरियोग्राफ गरिएका लामा-लामा एक्सन दृश्यले उस्तै झिझ्याट पैदा गर्छ ।

यसबीच छुटाउन नहुने पक्षचाहिँ निर्देशकले हाम्रो सन्दर्भमा 'आउट अफ बक्स' कथामाथि फिल्म बनाउने दुस्साहस गरे, यसका लागि उनलाई धाप मार्नैपर्छ । अन्तर्राष्ट्रिय कलाकारलाई अभिनय गराउनु पनि आफैँमा सुखद हो । उनीहरुका कारण विदेशी बजारमा कहीँ न कहीँ नेपाली फिल्मको प्रचार हुन्छ । त्यस्तै, धर्म र अपराधलाई सनसनी बनाउने नियत पनि देखिँदैन । तर जे देखाउन खोजे, त्यही जीवन्त छैन । अर्थात्, लेखन र निर्देशनमा परिपक्वता भएन । खिचाइमा पनि उतिसारो कौशल देखिन्न । दृश्यभावलाई प्रभावकारी बनाउन पृष्ठमूभि संगीतले अपेक्षाकृत भूमिका खेल्न सकेको छैन । 'आकाशै घुमेर...' गीत सुमधुर छ । फिल्ममा यसको प्रयोग सान्दर्भिक नै लाग्छ । फैजल र नम्रता (आना शर्मा) को अन्तरंग दृश्य थोरबहुत कलात्मक लाग्छ ।

फिल्मको केन्द्रमा रहेका जोसे म्यानुअलकै अभिनयमा निखार देखिँदैन । आफूभित्रको आक्रोश र बेचैनी अभिव्यक्त गर्ने मामलामा निम्छरो लाग्छन् । गुल्सन ग्रोबर र हमिद शेखसँग पनि तृप्त हुन सकिनन् । डबिङ स्वाभाविक नहुँदा उनीहरुको उपस्थिति सानदान हुनसकेको छैन । कर्मा र मिथिला शर्मा 'लाउड' लाग्छन् । आना शर्मा, अमिर गौतम, नीर शाहलगायतका कलाकारले धेरैहदसम्म चरित्रलाई न्याय गरेका छन् । अन्य विदेशी कलाकारको अभिनय पनि स्वाभाविक लाग्दैन । कथालाई जीवन्त शैलीमा पस्किएर मौलिक दृश्यभाषा निर्माणमा निर्देशक पेमा चुकेका छन् । यसको सीधासीधा सन्देश हो, फिल्ममा स्टार र बजेटभन्दा सिर्जनशीलता जरुरी हुन्छ ।

म्यान फ्रम काठमाडौँको अन्त्यतिर जोसे म्यान्युल भन्छन्, 'यहाँको सबै सिस्टम गलत छ ।' यो तीर फिल्मतिरै सोझ्याउन सकिन्छ । किनभने, फिल्मको हालत पनि करिब-करिब यस्तै छ ।

प्रकाशित: चैत्र १, २०७५