क्रिकेटोन्मुख राजनीति

- सुरेश किरण

भारत-पाकिस्तान अहिले युद्ध लडिरहेको हुन् वा क्रिकेट खेलिरहेका हुन्, भन्न नसकिने अवस्था छ । यस्तो किन पनि भएको भने जबजब क्रिकेटमा भारत र पाकिस्तान खेल्ने समय आउँछ, तबतब त्यसलाई समीक्षकहरु क्रिकेट खेलिरहेको होइन, यो त युद्ध लडिरहेको हो भन्ने गर्थे । अब क्रिकेट खेलिरहेको अवस्थालाई युद्ध लडिरहेको भन्न मिल्छ भने युद्ध लडिरहेको अवस्थालाई पनि क्रिकेट खेलिरहेको भन्न मिल्यो । त्यसमाथि अहिले पाकिस्तानमा एक जना क्रिकेट खेलाडीले नै शासन चलाइरहेका छन् । यस्तो अवस्थामा क्रिकेट र युद्धमा भ्रम सिर्जना हुनु स्वाभाविकै भयो ।

जस्तो, हाल चालू (वा स्थगित) भारत-पाक युद्धमा जस्तो दृश्य देखियो, त्यसले पनि यसलाई क्रिकेटभन्दा भिन्न पारेको देखिएन । सबैभन्दा पहिले भारतीय कप्तान नरेन्द्र मोदीले ब्याटिङ गरे । आएको बललाई उनले छक्का हाने । बल जब छक्काका लागि दौडिन्छ, तब त्यो आकाशमार्ग भएर जानुपर्ने हुन्छ । नरेन्द्र मोदीले छक्का हानेको बल हवाई पाइलट अभिनन्दन वर्थमानको रुप लिएर आकाशमा उड्न थाल्यो । आफूले छक्का मार्दै हानेको पाइलट वर्थमान आकाशमा उडेको देखेर कप्तान मोदी खुसीले गद्गद् भए । उनले जनतालाई भन्न पनि सुरु गरे, 'भाइयों और बहनों, हेर आकाशमा हाम्रो छक्का ।'

तर आकाशमा उडेर गएको वर्थमानरुपी छक्का बल जसै धर्तीमा झर्न लाग्यो, पाकिस्तानी कप्तान इमरान खानले च्याप्पै 'क्याच' गरिदिए । हवाई पाइलट वर्थमान त इमरान खानको हातमा । अब हावामा उडेर आएको बल क्याच गरेपछि के हुन्छ ? ब्याटिङ गर्ने ब्याट्सम्यान आउट हुन्छ ।

प्रकाशित: फाल्गुन ३०, २०७५

ट्याग: परिहास