कोई त भने जेटबोटमा...

- भास्वर ओझा

प्रधानमन्त्री केपी ओलीले पानीजहाजको सपना बाँडेको वर्ष दिन नाघिसक्यो । नेपाली पानीजहाज कार्यालयसमेत उद्घाटन गरिसके । पानीजहाज समुद्रमा चल्ने हो वा हाम्रै खोलानालामा, स्पष्ट छैन ।

जहाजै आए त सकिइहाल्यो, नआए पनि केही छैन ।  सुनसरी र उदयपुरको सिमानामा कोसी पुलबाट सप्तकोसी नदीमा हेर्दा यात्रु बोकेर जेट बोट कुदिरहेको देखिन्छ । कतिले यसैलाई पानीजहाज भनेर उडाइसके !

पुलभन्दा थोरै तल जेटबोट स्टेसन पनि बनाइएको छ । त्यस स्टेसनमा ४ सय रुपैयाँको टिकट काटेपछि बराहक्षेत्र मन्दिर दर्शन गरेर पुनः त्यहीँ फर्किन सकिन्छ । जेटबोट यहाँबाट भोजपुरको सिम्लेसम्म पुग्छ । सिम्लेको एकतर्फी भाडा ४ सय रुपैयाँ ।

बराहक्षेत्र हिन्दुहरुको चर्चित धार्मिक स्थल हो । त्यहाँ दर्शनार्थीको दैनिक आउजाउ भइरहन्छ । हाल सप्तकोसीमा चार जेट बोट सञ्चालनमा छन् । आन्तरिक पर्यटकका लागि सप्तकोसीमा सञ्चालित यी बोटले आकर्षण थप्दै आएका छन् ।

साउन ०७० मा दर्जनौँ बेपत्ता हुने गरी भएको डुंगा दुर्घटनापछि परम्परागत डुंगाको साटो आधुनिक जेट बोट प्रयोग गरिएको हो । एउटा मात्रै बोट सञ्चालन ल्याइरहेको अवस्थामा केही वर्ष पहिले बराहक्षेत्र जल यातायात प्रालिले अर्को बोट पनि थपेको छ । दुवै बोटले यात्रु ओसारिरहेका छन् । बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालिले समेत दुइटा सुविधासम्पन्न बोट सप्तकोसीमा सञ्चालन गरेको छ ।

हालको बराहक्षेत्र-चतरा मात्रै नभएर कोसी ब्यारेजदेखि काभ्रेको दोलालघाटसम्म यस्तो जहाज चलाउने सरकारी महफ्वाकांक्षा छ । हाल कायम भाडाका विषयमा भने स्थानीयको गुनासो छ । भन्छन्, "जेटबोट आएको राम्रो, तर भाडा अचाक्ली महँगो ।" 

शब्द/तस्बिर : भास्वर ओझा

 

प्रकाशित: फाल्गुन २९, २०७५