कोसेली साटासाट

- डम्बर चेम्जोङ

समाज र इतिहासको निर्माणकर्ता मानिस स्वयं हो भन्ने व्याख्या छ, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको जर्मन आइडियोलोजीमा । मानवशास्त्रीहरुले व्याख्या गर्नु पहिल्यै मान्छे सामाजिक प्राणी हुनुको कारण र प्रक्रियामाथि विश्लेषण गरिएको छ त्यसमा । मानवशास्त्रलाई हामी संस्कृति अध्ययन गर्ने विज्ञान भन्छौँ । मानव समुदायले केही निर्माण गर्नुअघि मनमस्तिष्कमा ढाँचा बुन्छ । आफ्नो कल्पनालाई वास्तविकता वा वस्तुगततामा परिणत गर्न श्रमको खर्च गर्छ, जसरी घर बनाउनुअघि नक्सा उतारिन्छ । कल्पना, प्रतीक र संकेतमा जीवन-यथार्थका अर्थबोध गर्न सक्ने भएकाले पनि मान्छेलाई सांस्कृतिक प्राणी मानिन्छ । इतिहासबारे हाम्रा बुझाइमा समस्या हुन सक्छन् । नेपाली राजनीति र समाजविज्ञानको क्षेत्रमा दृष्टि पुर्याउने हो भने इतिहासलाई हेर्ने पुरातनपन्थ र अपत्यारिला सोच भेटिन्छन् । आधुनिक नेपाल-निर्माणमा राजामहाराजा र राजनीतिक दलहरुको भूमिकालाई ऐतिहासिक घटनाक्रम र मानकहरुमा अपव्याख्या गरिएको पाइन्छ । समाजलाई बुझ्न, इतिहासलाई परिभाषित गर्न, सामाजिक निर्माण/पुनर्निर्माणको प्रक्रियालाई बोध गर्न यो किताबले सघाउँछ ।

आन्दोलन र क्रान्तिबाट समाज रुपान्तरण हुँदै जाँदा मन पर्ने पुस्तक पनि फेरिँदै जाँदो रहेछ । विचारमा गतिशीलता भएको मान्छेले आफू र समाज अनि सम्बन्धलाई हेर्ने/बुझ्ने वैचारिक खाकालाई पनि परिवर्तन गर्दै लान्छ । मानवशास्त्री डेविड हार्भे भन्छन्- '४० वर्षदेखि माक्र्सको पुँजी भाग पढाउँदै आएको छु  र हरेक वर्ष यो किताब दोहोर्याएर पढ्छु । विशिष्ट ऐतिहासिक, सामाजिक, राजनीतिक परिस्थितिसँगै प्रत्येक पढाइमा नयाँ-नयाँ अर्थ भेट्छु ।' स्वयं पुँजीवाद र प्रश्नसहितका नयाँ विद्यार्थीहरु फरक हुँदै गएकाले हार्भेले एउटै पुस्तकका अनेकानेक अर्थ भेट्टाए । समाजलाई हेर्ने मानवशास्त्रको विशिष्ट ढंगबारे डेविड ग्रेवरको टुवार्ड एन एन्थ्रोपोलोजिकल थेअरी अफ भ्यालुले खोलुवा गर्छ । समाजविज्ञानहरु विकसित हुँदै जाँदा मानवशास्त्र कसरी फरक कोणबाट अध्ययन गर्ने विज्ञानका रुपमा जन्मियो भन्ने सिकाउनु यस किताबको मुख्य सबलता हो । मानवशास्त्रलाई संस्कृतिको अध्ययनमा मात्रै नखुम्च्याएर औद्योगिक पुँजीवादी समाजको मूल्य-सिद्धान्तलाई समेत मानवशास्त्रीय अध्ययनविधिमा ढालेर अध्ययन गरेका छन् ग्रेवरले । कलकारखानामा मजदुर र पुँजीपतिबीचको असमानता र श्रम शोषणजस्ता पक्षलाई विशद् व्याख्या गरिएकाले अध्येताका लागि यो गतिलो खुराक हुन सक्छ । मनोविज्ञान, अर्थशास्त्र र मानवशास्त्रमा रहेको मूल्य-सिद्धान्तको परम्परा र अर्थलाई गहिरो अध्ययन गर्न चाहने जोकसैका लागि उपयुक्त पुस्तक हो यो ।

विद्यावारिधिका क्रममा मैले डेविड ग्रेवरका गुरु टेरेन्स टर्नरसँग भेटेको थिएँ । कतिपय भन्छन्, टर्नरको क्लास नोटलाई जोडजाड र संशोधन गरी ग्रेवरले एन एन्थ्रोपोलोजिक थेअरी अफ भ्यालु लेखेका हुन् । प्रश्न थपिन्छ- टर्नरले किन आफ्नै जीवनमा एउटा पनि किताब लेखेनन् ? तर केही विद्वानले लेख्नैपर्ने जरुरी देख्दैनन् ।

नेपाली साहित्यको भूतपूर्व औपचारिक विद्यार्थीका नाताले साहित्यका विधागत इतिहास र सिद्धान्तबारे धेरथोर जानकारी राख्छु । तर पछिल्लो समय गैरआख्यान नै रोजाइमा बढी परिरहेको छ । नेपालको सामाजिक इतिहास, बहुसांस्कृतिक सौन्दर्य र नेपाली राजनीतिलाई केन्द्रमा राखेर म पुस्तक अध्ययन गर्छु । विद्यमान सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियाले हामीलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । गएको १२/१३ वर्षको दृश्य सम्झने हो भने समावेशी लोकतन्त्र, संघीयता, सांस्कृतिक विविधताको संविधानमा हुने सम्बोधन नै सबैभन्दा पेचिलो बहसका रुपमा रह्यो । यही बहसका बीच पपुवा न्युगिनीतिरको बरुया समुदायमाथि लेखिएको एनिग्मा अफ गिफ्ट पढेँ । मौरिस गोदलियरलिखित उक्त किताबमा जनसंख्याका हिसाबले सानो समाजमा नुनका चक्कासित अन्य सामान साट्ने चलनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

हाम्रो समाजमा पनि कोसेलीपातको प्रचलन पुरानै हो । खासगरी जनजातीय सांस्कृतिक समूहमा कुलकुटम्ब भेटघाटमा कोसेली साटासाट गरिन्छ । यस्ता चालचलनका पृष्ठभूमि र आयाम खोतल्नका लागि यो किताबले सघाउँछ । सांस्कृतिक कोसेली साटासाटमा जति नै उदार भए पनि केही त्यस्ता चीज हुन्छन्, जसलाई आफैँसँग फर्काएर ल्याउनुपर्छ किनकि ती पुज्य भएकाले अरुकहाँ सधैँलाई छोड्न मिल्दैन । यिनै सन्दर्भमा गोदलियरले अहिलेको समाजमा सबै नागरिकले पूजा गर्ने पवित्र चीजका रुपमा संविधानलाई राखेका छन् ।

लोकतान्त्रिक समाजको अंगको रुपमा नागरिकलाई राख्ने हो भने व्यक्तिको सामाजिक-सांस्कृतिक 'देउता' लाई एकातिर राखिन्छ भने अर्कातिर राजनीतिक मूल्य-मान्यताभित्र बालिग मताधिकारसम्पन्न नागरिकका रुपमा संविधानलाई सम्मान/पूजा गरिन्छ । भिन्न-भिन्न समुदायको अपनत्वबोध हुने गरी हाम्रो संविधानलाई कसरी सर्वस्वीकार्य बनाउन सकिन्छ भन्ने प्रश्नका उत्तर खोतल्न यो किताबले घच्घच्याउँछ । सबै जाति र समुदायका सांस्कृतिक संकेतले संविधानमा स्थान पाएमा  संविधानको सम्मानजनक पालना र रक्षामा सामूहिक पहल कदमी रहन्छ । संविधानलाई कसरी सर्वस्वीकार्य बनाउन सकिन्छ भनी कसैले मलाई प्रश्न गरेमा एनिग्मा अफ गिफ्ट सिफारिस गर्छु ।

प्रस्तुति :  गुरुङ सुशान्त

प्रकाशित: फाल्गुन २९, २०७५

ट्याग: तीन किताब