तेह्रौँ हरिप्रसाद

पुस्तक : होस्टेज | उपन्यासकार : ग्रेटा राणा | प्रकाशक : स्पीकिङ टाइगर | पृष्ठ : २२३ | मूल्य :५६० रुपैयाँ

- नीरज लवजू

विदेश काम गर्न गएका नेपाली कामदारमध्ये दैनिक औसत तीन वटा लास देश भित्रिरहेको अवस्थामा ४ भदौ ०६१ मा नेपाली युवा मारिएको इराक घटना विस्मृतिमा हराउँदै जानु कुनै असामान्य विषय होइन । अवैध रुपमा इराक पुगेका ती युवाको निर्मम हत्या नेपालीले लगभग भुलिसकेका छन् । त्यही यथार्थ घटनामा आधारित आख्यान हो, ग्रेटा राणाको उपन्यास होस्टेज

नेटो सेनाले सन् २००१ मा इराकमाथि कब्जा जमाएपछि विदेशी सेनाको प्रतिकारमा त्यहाँ धेरै सशस्त्र विद्रोही समूह जन्मिए र विदेशी कम्पनीविरुद्ध ‘जेहाद’ छेडे । तिनै कम्पनीमा काम गर्दा पाइने मोटो तलबसामु नेपाल सरकारले इराकमा जान लगाएको रोक निरर्थक बन्यो । कति नेपाली युवामा त इराकमा काम गर्दै छु वा त्यहाँ लगिँदै छ भन्ने जानकारीसमेत थिएन ।

त्यसैगरी इराक पुगेका १२ नेपाली युवालाई त्यहाँको सशस्त्र विद्रोही समूहले अपहरण गरी हत्या गरेको प्रचार भयो । तर अपहरणमा परी मारिनेको खास संख्या भने १३ थियो । भिडियोमा सार्वजनिक नगरिएका र औपचारिक कागजातमा उल्लेख नभएका अर्का एक नेपालीलाई पनि गोली हानी हत्या गरिएको थियो । उनको नाम हो- हरिप्रसाद चौधरी । उनै हरिप्रसादलाई केन्द्रमा राखी लेखिएको उपन्यास हो- होस्टेज ।

हरिप्रसाद चितवनको एउटा रिसोर्टमा काम गर्ने साधारण मजदुर थिए । राप्ती नदीमा पर्यटकलाई डुंगामा तार्नु नै उनको काम थियो । तर आफ्नी बहिनीलाई दाइजो दिन बन्धकी राखिएको पुख्र्यौली खेत निखन्न रिसोर्टको तलबले पुग्दैनथ्यो । राजनीतिक आवरणमा विदेशमा मजदुर पठाउने काम गर्ने ज्वाइँको सल्लाहमा उनी खाडी मुलुक दुबई पुगे । पाँच वर्षको कमाइले आफ्नो पुख्र्यौली सम्पत्ति निखन्न सक्षम भए । तर त्यतिन्जेल हुर्किसकेकी छोरी र दुई जुम्ल्याहा छोरालाई उच्च शिक्षा दिलाउने सपनाले उनलाई दोस्रो पटक जोर्डन पुर्यायो । लगभग आफ्नो राहदानीमा तोकिएको अवधि सकिने अवस्थामा उनी परिबन्दले इराकमा जाने १२ नेपाली युवा टोलीमा समाहित हुन पुगे । त्यही टोली अपहरणमा परेपछि उनको पनि हत्या गरियो । तर कुनै कागजातमा अभिलेख नहुँदा उनको कतै गणना गरिएन ।

हरिप्रसादलाई गोली हानी हत्या गरेका अली नामका एक धनी बुबाका किशोर छोरालाई जोगाउने सिलसिलामा जोर्डनका वकिल हसन त्यो दिन मारिनेमा अर्का नेपाली पनि भएको पत्ता लगाउँछन् । हसनका साथी फायदका गाडी चालक नेपाली युवक अर्जुनको सहयोगमा हरिप्रसादको परिवारलाई न्याय दिलाउन कानुनी संघर्ष चल्छ । उपन्यासकारले खाडी देशमा काम गर्ने नेपाली कामदारको अवस्थाबारे चित्रण गर्दै गर्दा नेपालमा चल्दै गरेको त्यो माओवादी द्वन्द्वलाई पनि सँगसँगै जोडेकी छिन् । शिवबहादुर इन्जिनियरिङका विद्यार्थी थिए । उनी नेपाली कांग्रेसका एक मन्त्रीको घरमा डेरा लिएर बसेका थिए । डेरामै विस्फोटक पदार्थ बनाउने गरेको पोल खुलेर पक्राउ परे । जेलबाट मुक्त भएर उनी पनि खाडी मुलुक हानिए । तर उपन्यासमा माओवादीको तत्कालीन सिद्धान्त प्रचण्डपथलाई बाबुराम भट्टराईको सिद्धान्त र प्रचण्डपथलाई ‘प्रचन्द्रपथ’ को रुपमा उल्लेख गरिनु भने सही होइन । उपन्यासमा भट्टराईले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा माग प्रस्तुत गरेको लेखिएको छ । तर त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।

नेपाली युवा विदेसिनु पर्नाको मूल कारण नेपालको भ्रष्ट र कमिसनमुखी राजनीति अनि  राजनीतिक नेतृत्व भएकामा उपन्यासकार प्रस्ट छिन् । उनले नेपाल मात्र नभई दक्षिण एसियाली देशको गरिबी नै यहाँका जनताको अभिशाप भएको लेखेकी छिन् । गरिबीकै कारण नेपाली युवा सरकारले निषेध गर्दागर्दै पनि इराकजस्तो युद्धग्रस्त देशमा ज्यानको पर्वाह नगरी जान बाध्य छन् । अमेरिकी कम्पनीलाई विफल बनाउने त्यहाँका विद्रोहीको पहिलो निशाना नेपालबाबाट जाने कामदार हुने गरेको प्रसंगको उपन्यासमा चर्चा छ ।

उपन्यासमा नेपाली समाजको मिहीन व्याख्या छ । उपन्यासकारको समृद्ध सिर्जनशीलताले मात्र त्यस्तो व्याख्या सम्भव हुन सक्छ । कथाकारिता निकै मार्मिक र प्रभावशाली छ । निर्दोष पात्र हरिप्रसादको अज्ञात मृत्यु दुःखद र विषादपूर्ण हुँदाहुँदै पनि उपन्यासकारको संयोगान्तले पाठकलाई हतास बनाउने छैन । मुख्य पात्रकी छोरी सुभद्रा र उनलाई न्याय दिन हसनलाई सहयोग गर्ने अर्जुनबीचको मिलनलाई हरिप्रसादको साकार सपनाको रुपमा उपन्यास टुंग्याइएको छ । 

यो उपन्यासले आजको नेपाली समाजलाई अंग्रेजीभाषी पाठकसम्म पुर्याएको छ । धेरै नेपाली खाडी मुलुकमा आप्रवासी मजदुरका रुपमा गए पनि उनीहरुबारे लेखिएका राम्रा साहित्यको अभाव छ । यो अभावलाई होस्टेजले केही मात्रामा पूरा गरेको छ । 

प्रकाशित: फाल्गुन २९, २०७५

ट्याग: पुस्तक