मूलधारमा माओत्से

- गोकर्ण गौतम

पुरानो डुंगाका कथाकार थिए, माओत्से गुरुङ । मुख्य भूमिका पनि उनकै । तर फिल्म प्रदर्शनपछि माओत्सेको मन दुख्यो । बिक्ने लोभमा मसला घोलघाल पारिएकाले कथाको मर्मै मर्यो ।

त्यसबेलासम्म माओत्से खस नेपालीभाषी फिल्म कलाकारमा सीमित थिए, पुरानो डुंगाको निर्माण र प्रदर्शन प्रक्रिया पनि नियाल्न पाए । कुन हदसम्म बजारु धङधङीबाट प्रताडित हुनुपर्दो रहेछ भन्ने भेउ पाए ।

सर्जकका रुपमा हतोत्साहित हुनु स्वाभाविक भइहाल्यो । त्यही बेला गुरुङ सिनेमाका यी 'स्टार' निर्देशकले नेपालसँग दुःख बिसाएका थिए, "ठूलो पोखरीमा पौडी खेल्न मन थियो तर नसकिने रहेछ । अब भाषिक सिनेमामै रमाउँछु । कम्तीमा यहाँ आफूले चाहेजस्तै काम गर्न त पाइन्छ ।"

दुई वर्ष बित्यो । पोखराबाटै सिर्जनाकर्ममा तल्लीन माओत्से यतिबेला काठमाडौँमा छन्, आफू निर्देशित फिल्म दयारानीको पोस्ट प्रोडक्सनको कामका लागि । लेखक र निर्माता पनि उनै । कसरी आँट आयो ? माओत्से भन्छन्, "मुख्य डर लगानी उठाउन सकिन्न भन्ने थियो तर दयारानीको ओभरसिज राइटबाटै हामी सुरक्षित भइसकेका छौँ ।" छायाँकन सुरु हुँदानहुँदै बेलायत, हङकङ, अस्ट्रेलिया, जापानलगायत मुलुकमा फिल्म बिक्यो, माओत्सेको 'गुडबिल' ले । नेपालबाट जति आउँछ, त्यो सबै नाफा हो । त्यसो भए दयारानी बजारको दबदबाबाट मुक्त छ त ? उनी ढाँट्दैनन्, "जति उम्कन खोजे पनि सकिँदो रहेनछ । चलनचल्तीका केही सूत्र मैले पनि पछ्याएको छु । तर यत्ति हो, त्यसले मेरो फिल्मको मुटुमा असर पारेको छैन ।" निःसन्तान दम्पतीको व्यथा बोकेको दयारानीमा दयाहाङ राई र दिया पुन मुख्य भूमिकामा छन् ।

दयारानीको चटारो छँदैछ, साइँलीको डबिङ र प्रमोसनमा पनि खटिनु छ उनलाई । २८ फागुनबाट नयाँ फिल्म चचहुईको सुटिङ सुरु हुँदैछ । त्यसपछि कबड्डी । भ्याईनभ्याई छ माओत्सेलाई । कबड्डी कबड्डीमा इमानदार नेताका रुपमा देखिएसँगै होचो कद र चिम्सा आँखाधारी यी अभिनेतालाई मूलधारको नेपाली फिल्मले स्वीकार्न थालेको हो । नत्र गुरुङ फिल्ममै साधनारत थिए । भाषिक र क्षेत्रीय फिल्ममा उनको साख साँच्चै लोभलाग्दो छ । अचम्मै भो, भ्रे (पाहुना), सुराग, जुनीजुनी, नरे आदि गुरुङ फिल्ममा आफ्नै समुदाय र संस्कृतिका कथा भने । भ्रे त सदाबहार हिटमा पर्छ ।

निर्देशनका अलावा लगभग दुई दर्जन भाषिक सिनेमामा अभिनय गरिसकेका छन् । भन्छन्, "नेपाली फिल्ममा व्यस्त हुन थालेपछि भनेजति गुरुङ फिल्म बनाउन पाएको छैन तर मेरो जरा कहिल्यै भुल्दिनँ । भाषिक फिल्म पनि गरिरहन्छु ।"

माओत्से मूलतः आफूलाई कलाकार मान्छन्, त्यसपछि मात्र निर्देशक । उनकै शब्दमा, अभिनयबाट बचेको फुर्सद समयमा मात्र हो, निर्देशन गर्ने । यसबाटै थाहा हुन्छ, उनको अभिनय प्रेम । अभिनय गर्दागर्दै तीन दशक बितिसकेको जो छ ।

तस्बिरहरु : भास्वर ओझा


कास्की तालबेसीमा हुर्किएका माओत्से स्कुल पढ्दै नाटक खेल्थे, हेर्थे । खुब रमाइलो लाग्यो । एसएलसी सकेपछि पोखरा झरे, ०५० तिर । कलेजभन्दा अभिनय प्रशिक्षण केन्द्र खोज्दै भौँतारिन थाले । संयोग कस्तो जुर्यो भने त्यही बेला दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयमा पढेर आएका अनुप बराल पोखरामा अभिनय सिकाउन पुगेका थिए । माओत्से फुरुंग हुन्छन्, "अनुप सरको सान्निध्यले ममा अभिनयप्रतिको लगाव अझ घनीभूत भयो ।"

त्यसपछि पोखरेली तन्नेरीसँग मिलेर दीर्घजीवी नाट्य समूह स्थापना गरे । लगालग दुई दर्जन नाटक खेले । नाटक खेलेर के पाइन्छ, पत्तो थिएन । तैपनि माओत्सेको तनमन अभिनयमै थियो । अनुप निर्देशित मलामी नाटकबाट ०५६ मा उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जिते । त्यतिबेला धेरै साथीभाइ, शुभचिन्तकको सुझाव थियो, काठमाडौँमै बस, तिम्रो भविष्य यहीँ उज्यालो छ । मानेनन्, पोखरामै फर्किर्ए । भन्छन्, "बरु दालभात खान नपाइयोस् तर पोखरा छाड्दिनँ । केही नहुँदा पनि मलाई पोखरै प्यारो छ ।" क्षमता र लगनशीलतासामु कसको के लाग्छ, मोफसलमा बसे पनि माओत्सेको अभिनय यात्रा कहिल्यै रोकिएन, बरु दिनानुदिन फराकिलो हुँदै गयो ।

कर्ण दासको कालजयी गीत 'पुरानो डुंगा पानीको छाल...' मा माझी बनेर जीवन्त अभिनय गर्ने माओत्से नै हुन् । नवीन सुब्बा निर्देशित चर्चित टेलिफिल्म दलनको सद्मान चरित्रमा उस्तै रुचाइए । यही छेकोमा गुरुङ फिल्म बन्न थाले । निर्देशन होस् वा अभिनय, माओत्से पहिलो रोजाइमा परे । पोखरामा सीमित गुरुङ फिल्मलाई छिमेकी जिल्ला र हङकङ, ब्रुनाई, बेलायत, जापानलगायत गुरुङ समुदाय बसोबास गर्ने मुलुकमा पुर्याउन माओत्सेको अहं भूमिका छ । त्यसैले उनले बनाएका फिल्म हत्तपत्त फ्लप हुँदैनन् । आदिवासी फिल्म महोत्सवमा उनका फिल्मले अवार्ड जित्नु सामान्य मानिन्छ । भन्छन्, "आफ्नो भाषा र संस्कृतिमा कथा भन्नुको मज्जै बेग्लै हुन्छ । अहिले त गुरुङ फिल्मबाटै जीविका चलाउन सकिने वातावरण बनिसक्यो ।"

सुखद पक्षचाहिँ अब माओत्से गुरुङ फिल्ममा मात्र खुम्चनु पर्दैन, मूलधारका नेपाली फिल्ममै दर्बिलो हस्तक्षेप गर्ने ल्याकत राख्छन् उनी । निर्माणको आधा शताब्दीसम्म नेपाली फिल्म पहाडे मानसिकताबाट ग्रसित भयो । आदिवासी, जनजाति, मधेसीजस्ता फरक वर्ण, हुलिया, समुदायलाई मूल पात्र र विषयका रुपमा स्वीकारेन । उही, राजा महेन्द्रको 'एउटै भाषा, एउटै भेष' नीतिलाई शिरोधार्य गरियो । दोस्रो जनआन्दोलनपछि समाज र नीति निर्माण तहमा छाएको समावेशिताको लहर सिनेमामा पनि फाट्टफुट्ट देखिन थाल्यो । दयाहाङ राई, बुद्धि तामाङ, रामबाबु गुरुङ प्रतिनिधि हुन् । यही सुखद अभियानका सारथि हुन्, माओत्से । भन्छन्, "सिनेमामार्फत सीमान्तकृत र पिछडिएको वर्गको संस्कृति, सभ्यता र वर्तमान कथाव्यथा ठूलो समुदायसम्म पुर्याउनु आवश्यक छ । तब मात्र नेपाली सिनेमाले खास अर्थको समृद्धि हासिल गर्छ ।"

माओत्से अहिले यही 'मिसन' मा छन् ।

प्रकाशित: फाल्गुन २८, २०७५

ट्याग: रङ