सिंहदरबारमा नागा बाबा

- सुरेश किरण

अस्तिकै मात्र कुरा हो, कामविशेषले म सिंहदरबार गएको थिएँ । हुन त सिंहदरबार हाम्रै घरमा आइपुग्यो भन्छन् । तर काम पर्दा त्यहाँ नपुगी सुख छैन । गेटपास बनाएर भित्र छिरेँ । बाटो हिँड्दै गर्दा देखेँ, दुई नागा बाबाजी पनि उतै आइरहेका । शिवरात्रि भर्खर सम्पन्न भयो । अस्ति पशुपतिमा मात्रै यिनीहरुलाई देखेको थिएँ । आज सिंहदरबारमा पनि देख्दै छु । सिंहदरबारभित्र कतै पनि महादेवको मन्दिर भएजस्तो त लाग्दैन । तैपनि यिनीहरु यहाँ किन ? कौतूहलकै विषय भयो ।

अगाडि पुगेपछि मैले आफ्नो कौतूहल मेट्न सकिनँ । सोधिहालेँ, "जय शम्भो बाबाजी ! आज त अचम्मै भो । पशुपतिमा देखिनुपर्ने बाबाहरुलाई आज सिंहदरबारमा देख्दै छु । गाँजा बेच्न आउनुभएको हो कि क्या हो ?"

"जय शम्भो !" बाबाद्वयले पनि अभिनन्दन फर्काए । "अरे कहाँ गाँजा बेच्नु । अब त नेपालमा हामीलाई आउन पनि मुस्किल भइसक्यो । त्यही कुरा गर्न आएको," अग्लोचाहिँ बाबाले भने ।

"किन मुस्किल बाबा ? यहाँ त सबै तपाईंहरुप्रति नतमस्तक नै छन् ।" बाबालाई माथिदेखि तलसम्मै दर्शन गर्दै मैले भनेँ ।

"अरे को नतमस्तक होला र ? अहिले पशुपतिका लोकलहरु हामीलाई त्यहाँ बस्न पाइँदैन भनिरहेका छन् । बाटोमा खुला हिँड्न पनि दिनुहुन्न भनिरहेका छन् । मिडियामा पनि त्यस्तै प्रचार छ । अब यस्तो अवस्थामा हामी जाने कहाँ ? त्यहीबारेमा सरकारसँग वार्ता गर्न यता आएको ।"

"अनि वार्ता के भयो त ? फलदायी भयो ?" मेरो पनि जिज्ञासामा वृद्धि भयो ।

"अरे, भगवान् शिवजीको कृपाले वार्ता राम्रो भयो," उनै बाबाले भने ।

"के भयो त ?"

"सरकारले भन्यो कि केही डराउनु पर्दैन । यदि कहीँ पनि बस्ने ठाउँ मिलेन भने हामी सबै नागा बाबालाई यही सिंहदरबारमा राख्ने व्यवस्था गर्नेछौँ । यहाँ पनि सबै नागा नै छन्, केही डराउनु पर्दैन भन्नुभएको छ ।"

"ओहो ! साँच्चै हो र ?" मेरो पनि आँखा ठूलो भएछ ।

"एकदम । नेपालमा हामी नागा बाबाहरुलाई सम्मान गर्ने सबैभन्दा राम्रो ठाउँ त यही सिंहदरबार मात्रै रहेछ । काठमाडौँमा हामी बस्न लायक स्थान पनि यही सिंहदरबार मात्रै रहेछ ।  

प्रकाशित: फाल्गुन २८, २०७५

ट्याग: परिहास