भानुभक्तलाई हेलमेट

- राजकुमार बानियाँ

कविलेखकका असली प्रतिमा त उनीहरूकै कृति हुन् । सम्मानको आदिम भोकले तड्पिएकाले पनि हुन सक्छ, सबैभन्दा धेरै सालिक ठड्याइएका छन् तिनकै । नेपाल प्रज्ञाप्रतिष्ठानको हाताभित्र पस्ने हो भने सालिक संग्रहालयजस्तो लाग्छ । मूल भवनको चारै दिशामा कविलेखकका सालिकै सालिक छन् ।

प्रज्ञाप्रतिष्ठानको बाहिर मात्र होइन, भित्रसमेत सालिक नै ठड्याइएको छ, कविराजा मवीवि शाहको । गणतन्त्रकालका कुलपति गंगाप्रसाद उप्रेतीले उनको सालिक निर्माण गरी किन भित्र राखे ? प्रश्न अनुत्तरित छ । तर बाहिरफेर चराले विष्टाउने अनि तोडफोडबाट बचाउने रणनीतिचाहिँ पक्कै हो ।

यहाँ चर्चा गर्न लागिएको सन्दर्भ भने आदिकवि भानुभक्त आचार्यको हो । २ सय ५ वर्ष पहिलेका भानुभक्तको सालिक चाइना एड्ले बनाइरहेको दरबार हाइस्कुलको पर्खालमा च्यापिएको छ । विस्मय के छ भने उनको बिर्खेटोपीमाथि कसैले साइकलको हेलमेट भिराइदिएछ, आँखामा चस्मा सिउरिदिएछ । यसलाई सनक भन्ने कि सम्मान ! सालिक ठड्याउन मरिहत्ते गर्नेहरुले एकपटक ठन्डा दिमागमा मनन गरे हुने हो ।

किड्नी चाहिएमा...

फुटपाथमा हिँड्दै जाँदा कतै न कतै विस्मय लागिहाल्छ । फागुन दोस्रो साता खाद्य संस्थानको डिपोनेरको बिजुली पोलमा त्यस्तै सूचना देखियो । ए-फोर पेपरमा कम्प्युटर प्रिन्ट सूचनामा सेलफोन नम्बरसहित लेखिएको रहेछ, 'तपाईंहरुलाई किड्नी चाहिएमा सम्पर्क गर्नुहोला ।'

नेपालकर्मी रवि मानन्धरले त्यो सूचना मलाई मात्र देखाएनन्, मोबाइलले फोटो पनि खिचे । फागुनको घामपानीमा घाइते भएजस्तो त्यो सूचनाले एकछिन हतप्रभ बनायो । कार्यालय आउजाउका क्रममा धेरै दिनसम्म मथिंगलमा खेलिरह्यो । मिर्गौला बिक्री कसैको रहर हुन सक्दैन । त्यो विवश मानिस को होला ? कस्तो अभिशप्त सूचना !

नेपालको कानुनले मिर्गौला बिक्रीमा छूट दिएको छैन । परिवारभित्रका आमाबाबु, छोराबुहारी, छोरी, नातिनातिना, धर्मपुत्र, धर्मपुत्री, भतिजा, भतिजी, दाजुभाइ, दिदीबहिनीबाहेक अरुले मिर्गौला दान गर्न नपाइने व्यवस्था छ । मिर्गौला दाता बिरामीका आफन्तको दायरा त्यति फराकिलो नभएको अनुभव पनि गरेका छन् कतिपयले । कानुनले तोकेबाहेकका व्यक्तिको मिर्गौला दान किनबेच हुने भएकाले नक्कली कागजात बनाएको पनि सुनिएकै हो ।

खुलेआम मिर्गौला बिक्रीको सूचना व्यक्तिगत बाध्यता हो या तस्करी समूहको व्यवसाय ? खुल्दुली बढेपछि सम्बन्धित नम्बरमा पटक-पटक फोन गर्ने प्रयास गरियो । सूचनाको हदम्याद र प्रयोजन सकिएर पनि हुन सक्छ, धेरै दिनसम्म फोन उठेन । अलि पछिचाहिँ टेलिफोनप्रदायक कम्पनीकी कन्याको आवाज मात्रै आइरह्यो, 'माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नुभएको नम्बरको आगमन कल निषेध गरिएको छ ।' खोइ प्रसन्न हुने कि खिन्न ! 

औतारी रामेश

रामेश | तस्बिर : श्रुति श्रेष्ठ


गायक तथा संगीतकार रामेश श्रेष्ठको औतारी छवि चिन्नलाई केही दृष्टान्त नै काफी छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीको कुलपति खाएनन्, सरकारले दिने माथिल्लो तहको विभूषण लिएनन् । यति मात्र नभएर हालै उनले प्रधानमन्त्रीको हातबाट पुरस्कार पनि लिएनन् ।

गंकी धुँस्वा-बसुन्धरा प्रतिष्ठानले रामेशलाई 'धुस्वाँ सायमि सिर्जना सम्मान' दिने भएछ, ५० हजार राशिको । प्रतिष्ठान अध्यक्ष डा अरुण सायमीको मनसुवा रहेछ, प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार दिने अनि आत्मकथा विमोचन गराउने ।

त्यही प्रस्ताव रामेशलाई राखेछन् । तर उनले आफ्नै नेताको हातबाट पुरस्कार नलिने विचार गरेछन् । फसाद पर्यो अरुणलाई । एक त पुरस्कृत प्रतिभालाई चिढ्याउनु भएन, दोस्रो आफ्नै किताब विमोचन मुल्तबीमा राख्नुपर्यो । एउटै खर्चमा कार्यक्रम सक्ने उनको उद्देश्य एम्बुसमा पर्यो ।

अन्ततः रामेशलाई १ माघमा शंकर होटलमा आयोजित कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे । दुर्गालालको हातबाट पुरस्कार लिँदा निकै प्रफुल्ल देखिए । नेपाल भाषाका उपन्यासकार मल्ल के सुन्दरलाई 'गंकी धुँस्वा-बसुन्धरा पुरस्कार' दिइएको समारोहमा रामेशले करिब दुई घन्टा लामो कन्सर्ट पनि दिए, आफ्ना विचार पनि फलाके । प्रधानमन्त्रीलाई पुरस्कार दिन रोक्न सक्ने दुस्साहस अरु कलाकारमा पनि होला त ?

प्रकाशित: फाल्गुन २८, २०७५

ट्याग: नोटबुक