सभ्यता सिकाउन मानविकी

- केदारभक्त माथेमा

विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदन, (०७२/०७३) अनुसार नेपालमा करिब २० प्रतिशत विद्यार्थीले मात्र उच्च शिक्षामा विज्ञान-प्रविधि विषय लिएर पढ्छन् । ८० प्रतिशत विद्यार्थी हाम्रा विश्वविद्यालयमा साधारण विषय (मानविकी र समाजशास्त्र, व्यवस्थापन र शिक्षा) पढ्छन् । उता विकसित देश वा विकासतिर लम्किरहेका देशमा यो अवस्था फरक छ । उच्च शिक्षा लिने ३३ प्रतिशत अमेरिकी विज्ञान-प्रविधि विषय पढ्छन् भने फिनल्यान्डमा त ५० प्रतिशत यो विषय पढ्छन् । विकासोन्मुख देशहरूको कुरा गर्ने हो भने भारतमा ३५ प्रतिशतले विज्ञान-प्रविधि विषय पढ्छन् भने म्यानमारमा झन्डै ५० प्रतिशतले यो विषयमा उच्च शिक्षा हासिल गर्छन् ।

यो तथ्यांक देखेर कति शिक्षाविद्हरू अब नेपालमा पनि विज्ञान-प्रविधिमा जोड दिनुपर्यो भन्न थालेका छन् । यो बेठीक कुरा होइन । हामीकहाँ चाहिनेभन्दा बढी विद्यार्थी उच्च शिक्षामा साधारण शिक्षा पढ्छन् । नेपालको विकासले अलिकति पनि गति लियो भने हामीले हाम्रा विश्वविद्यालयबाट निकाल्ने जनशक्ति अपुग हुन जान्छ ।

यता साधारणतर्फ पनि हाम्रा विश्वविद्यालयमा भर्नाको चाप असन्तुलित ढंगले बाँडिएको छ । उच्च शिक्षा लिइरहेका विद्यार्थीमध्ये ४० प्रतिशत व्यवस्थापन पढ्छन् भने शिक्षामा २४ प्रतिशत छन् । तर मानविकी र समाजशास्त्रमा उच्च शिक्षाको कुल विद्यार्थी संख्यामध्ये ११ प्रतिशत मात्र हुनुले हाम्रा जान्ने-सुन्ने शिक्षाविद्लाई चिन्तित बनाएको देखिन्छ । कतिले यस तथ्यलाई हेरेर विज्ञान-प्रविधिको यो युगमा मानविकी र समाजशास्त्र कम सान्दर्भिक हुँदै गएको तर्क अघि सार्छन् भने कतिले भविष्यमा हाम्रो समाजलाई मार्गदर्शन दिने दार्शनिक, कवि, लेखक, साहित्यकार, इतिहासकार, संस्कृतिविद् तथा आर्थिक, सामाजिक र राजनीतिक विश्लेषकको खडेरी पर्नेसम्मको भय प्रकट गरेका छन् ।

मानविकी तथा समाजशास्त्र (लिबरल आर्ट्स) को पढाइ नेपालमा पहिलेदेखि नै अपहेलित भएकै मान्नुपर्छ । सबभन्दा ठूलो भूल यो भयो, नेपालमा हामीले ११ र १२ कक्षादेखि नै विद्यार्थीलाई पछि पढ्ने विषयका रूपमा विज्ञान, व्यवस्थापन, मानविकी तथा समाजशास्त्रका धार (स्ट्रिम) मा छुट्याइदिन्छौँ । यसले गर्दा विज्ञान तथा प्रविधि र व्यवस्थापन पढ्ने विद्यार्थी ११ र १२ कक्षादेखि नै मानविकी र समाजशास्त्रको पढाइबाट वञ्चित हुन्छन् । पछि विज्ञान-प्रविधि तथा व्यवस्थापन पढ्ने विद्यार्थीले ११/१२ कक्षामा मानविकी र समाजशास्त्र पढेर किन समय खेर फाल्ने भन्ने धारणा राख्छन्, कतिपय शिक्षक, अभिभावक र विद्यार्थीको विचारमा पहिलेदेखि नै भविष्यमा आफूले पढ्ने विषय सुरु गरे राम्रो हुन्छ । यस्तै विचारबाट प्रेरित भएर वा भारतीय विश्वविद्यालयको पाठ्यक्रम नक्कल गरेर हो, नेपालमा सुरुदेखि नै ११ र १२ कक्षामा विषय विशिष्टीकरण गरेको पाउँछौँ ।

जबसम्म त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह सञ्चालन गर्यो, तबसम्म मानविकी, विज्ञान, शिक्षा र कानुन विषयमा छुट्टाछुट्टै पढाइ हुन्थ्यो, विषय विशिष्टीकरणका आधारमा । अहिले कक्षा ११ र १२ कक्षालाई स्कुल तहमा राखे पनि पढाइ पुरानै विषय विशिष्टीकरणको आधारमा गरिन्छ ।

भविष्यमा विशिष्टीकरण गर्ने विषयमै ११ र १२ कक्षादेखि नै केन्द्रित गराउँदा अरू फाइदा दिए पनि विद्यार्थीलाई मानव ज्ञानको ठूलो र महत्त्वपूर्ण विषय/हिस्साबाट टाढा राख्छ वा वञ्चित बनाउँछ । यदि विश्वविद्यालयको उद्देश्य व्यवसायी मात्रै पैदा गर्ने हो भने त हालको व्यवस्था ठीकै होला तर विश्वविद्यालयले 'शिक्षित', जानकार र चेतनशील नागरिक तयार पार्ने हो भने हालको शिक्षामा गम्भीर त्रुटि देखिन्छ ।

कुनै युवा पछि गएर डाक्टर बनोस् कि इन्जिनियर वा अर्थशास्त्री बनोस् कि म्यानेजर, पेसागत सफलता प्राप्त गर्न उसलाई आफ् नो व्यवसायसम्बन्धी ज्ञानबाहेक बाहिरी ज्ञानको खाँचो पर्छ, जुन मानविकी र समाजशास्त्रबाट प्राप्त हुन्छ ।

कुनै पनि व्यक्ति विज्ञान र प्रविधि क्षेत्रमा काम गरिरहेको भए पनि उसलाई मानविकी र समाजशास्त्र (लिबरल आर्ट्स) को ज्ञानले आफ्नो सोचाइमा व्यापकता ल्याउँछ र समस्या केलाउने क्षमतामा विभिन्न दृष्टिकोण राख्न मद्दत गर्छ ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका पालामा अर्थमन्त्री भएका रबर्ट रुविन, जसले २६ वर्ष गोल्डम्यान स्याक्सजस्ता विश्वप्रख्यात इन्भेस्टमेन्ट बैंकलाई नेतृत्व गरेका थिए, ले लेखेका छन्, 'वाल स्ट्रिट (बैंकिङ क्षेत्र) र वासिंटन (राजनीति/राज्य सञ्चालन) मा कार्यरत हुँदा मैले हार्वर्डको स्नातकमा पढेका युनानी दर्शन र कफीहाउसबाट प्राप्त गरेका अस्तित्ववादी सिकाइबाट धेरै फाइदा लिएँ । यस्ता अध्ययनले निर्णय लिने र लागू गराउने विषयमा कसरी सापेक्षिक दूरी निर्माण गर्ने भन्ने चिन्तन बनाउन मद्दत गरे ।' रुविनले विश्वका उत्कृष्ट विश्वविद्यालय हार्वर्ड, येल र लन्डन स्कुल अफ इकोनोमिक्समा उच्च शिक्षा हासिल गरेका थिए ।

फेसबुकका निर्माता मार्क जुकरबर्ग लिबरल आर्ट्सका खास विद्यार्थी थिए, जसको कम्प्युटरमा रुचि थियो । जुकरबर्ग अहिले भन्ने गर्छन्, ' फेसबुक जति प्रविधि हो, त्यत्तिकै मनोविज्ञान र समाजशास्त्र पनि ।'

स्टिभ वोजनियाकसँग मिलेर सन् १९७०/८० को दशकमा पर्सनल कम्प्युटरमा क्रान्ति ल्याएका कम्प्युटर प्रविधि अभियन्ता स्टिभ जब्सले आइप्याडको नयाँ संस्करणको उद्घाटनमा भनेका थिए, 'यो एप्पलकै डीएनएमा छ कि प्रविधि मात्रै पर्याप्त छैन । यसको प्रविधिलाई लिबरल आर्ट्ससँग सम्बन्ध जोडेपछि मात्र यसले प्रतिफल दिन्छ ।'

यो त हामीले सूचना-प्रविधिको अग्रपंक्तिमा काम गरेका आविष्कारकहरूको कथन सुन्यौँ । हाम्रा केटाकेटी, बाआमा र कतिपय शिक्षकसमेत हामीलाई सोध्छन्, 'साहित्य पढ्नुको तात्पर्य के छ ?' कतिले साहित्य पढ्नु भनेको मनोरञ्जन लिनु मात्रै ठान्छन् । नोबेल पुरस्कार विजेता डोरिस लेसिङले साहित्य-अध्ययनको महत्त्वमा प्रकाश पार्दै भनेकी छिन्, 'अरूले हामीलाई जसरी देख्छन्, साहित्यले हामीलाई त्यसरी नै देखाउँछ ।' साहित्यको अध्ययनले हामीमा मानवीय संवेदनशीलताको विकास गराउँछ । अंग्रेजी कवि टिएस इलियटको शब्द उधारो लिने हो भने यसले हामीमा संवेदनशील भावको सह-उपस्थिति (युनिफाइड सेन्सिबिलिटी) गराउँछ । उदाहरणका लागि एक शल्यचिकित्सकले आफ्नो चुस्त बुद्धि र कौशलका साथ शल्यक्रिया गरिरहेका बखत बिरामीप्रति सहानुभूति र सद्भाव पनि सँगसँगै उपस्थित भएमा त्यसलाई हामी 'युनिफाइड सेन्सिबिलिटी' को अवस्था भन्न सक्छौँ । यो ज्यादै वान्छनीय अवस्था हो ।

साहित्य-अध्ययनले मात्रै हामीलाई यो अवस्थामा पुर्याउँछ भन्न खोजेको होइन । तर कुनै व्यक्ति/व्यवसायी आफ्नो पेसागत निष्ठामा एकाग्र भएर लाग्दा कहिलेकाहीँ मानवीय संवेदनशीलताप्रति ध्यान नजान सक्छ । उदाहरणका लागि काठमाडौँमा भर्खरै पुनर्निर्मित चक्रपथलाई लिन सक्छौँ । इन्जिनियरले पुनर्निर्माणको योजना बनाउँदा प्राविधिक पक्षलाई राम्ररी विचार गरे होलान्, तर मानवीय पक्षमा ठूलो कमजोरी भएको पाउँछौँ । योजनाकारले सडकमा मोटर कुदेका कल्पना गरे । तर त्यही सडकले बस्तीलाई विभाजित गरेपछि ठाउँठाउँमा मानिस बाटो काट्नुपर्ने बाध्यतामा परेको पाटोलाई ख्याल गरेनन् । त्यसैले होला, २५ सय वर्षअघि गौतम बुद्धले भनेका थिए- 'कुनै पनि करुणा नभएको ज्ञान पूर्ण हुँदैन ।'

'करुणा' समकालीन साहित्यका साथसाथै हाम्रो सभ्यताका पुराना काव्य-महाकाव्य र पौराणिक ग्रन्थबाट पाउन सक्छौँ । अमेरिकी विश्वविद्यालयमा कतिपय लिबरल आर्ट्स कलेजहरूको स्नातक तहमा पश्चिमी सभ्यतालाई आकार दिन मद्दत पुर्‍याएका पुस्तकको अध्यापन गराइन्छ । उनीहरू त्यस्ता पाठ्यक्रम (कोर्स) लाई 'ग्रेट बुक्स ट्रेडिसन' भन्छन् । यस पाठ्यक्रमअन्र्तगत ग्रीक-रोम सभ्यताका साहित्य र दर्शनलगायत शेक्सपियर, टोल्सटोय, भोल्टेयर, वेकन, कामु, माक्र्स, फ्रायड, सार्त्र आदिका सयौँ कृति अध्ययन-अध्यापन हुन्छ । स्नातकका विद्यार्थी एक सेमेस्टरमा कम्तीमा १०-१५ वटा पुस्तक पढ्छन् । यो सकारात्मक पक्ष हो । आखिरमा पुस्तक पढाइ नै ज्ञान प्राप्त गर्ने एउटा महत्त्वपूर्ण बाटो हो ।

हुन त 'ग्रेट बुक्स ट्रेडिसन' को पढाइ अचेल अमेरिकाका धेरै ठूल्ठूला विश्वविद्यालयले त्यागिसकेका छन् । यसबारे विवाद नआएको होइन तापनि यसको उद्देश्यबाट हाम्रै परिवेशमा धेरै सिक्न सक्छौँ । हाम्रा विश्वविद्यालयसँग पूर्वीय संस्कृतिकै विराट रचनाको परिचय विद्यार्थीमाझ पुर्याउने सोचेकै छैनौँ । रामायण, महाभारत, भगवत् गीता, धम्मपदजस्ता कृतिको गर्भमा कैयौँ सांस्कृतिक प्रज्ञा लुकिबसेका छन्, जसलाई कहीँ पनि पढाउँदैनौँ । कुनै बेला यी पौराणिक कृतिका केही अंश मानविकी पाठ्यक्रममा राखिएको भए पनि देशमा राजनीतिक परिवर्तन आएसँगै एकाएक गायब भएका छन् । सायद धर्मको विवादमा तानिन नचाहेर पो हो कि ! या संस्कृतलाई ब्राह्मणवादसँग जोडेर हेर्ने गरिएकाले पो हो कि !

जुनसुकै कारण भए पनि हाम्रा पौराणिक ग्रन्थसँग विद्यार्थीलाई परिचय नगराउनु ठूलो भूल हो । ती ग्रन्थ पढाउँदा धार्मिक हिसाबले भन्दा दर्शन, साहित्य र सांस्कृतिक पक्षमा जोड दिएर आधुनिक जीवनमा तिनको सान्दर्भिकतालाई खोतल्न सक्छौँ । पौराणिक ग्रन्थमा निहित सर्वव्यापी मान्यता वा अवधारणालाई केलाउन पनि सक्छौँ । उदाहरणका लागि महाभारतका विभिन्न पात्र र तिनका संवादलाई लिएर पक्ष-विपक्षमा धेरै चाखलाग्दा बहस चलाउन सक्छौँ कक्षामा, जसले विद्यार्थीलाई सदाचार, आध्यात्मिक जीवन, नैतिकता, कर्तव्य, राजनीति, कूटनीति, व्यक्तिको दायित्व आदिको गहिरो ज्ञान दिन सक्छौँ । जस्तो, अमेरिकी पूर्वअर्थमन्त्री रबर्ट रुविनले धेरै समयअघि स्नातक तहमा पढेको युनानी दर्शन आफ्नो व्यावसायिक जीवनमा पछिसम्म उपयोगमा आएको पुष्टि गरे । त्यसरी नै हाम्रा विद्यार्थीले पनि संस्कृतमा लेखिएका वा अन्य भाषामा लिखित/अनुवादित सर्वोत्कृष्ट प्राचीन रचनाबाट अवश्यै फाइदा लिन्छन् ।

मानविकीको अर्को महत्त्वपूर्ण विषय इतिहासका समकालीन सान्दर्भिकता र महत्त्वबारे बारम्बार प्रश्न उठ्छन् । भनिन्छ, विगतलाई नबुझी वर्तमान समयमाथिको बुझाइ अपूरो हुन्छ । विद्यार्थीमा समयचेतलाई बलियो बनाउने हो भने इतिहासको अध्ययन गराउनैपर्छ । हामी अहिले जे छौँ, आफू र विश्वलाई जसरी हेर्छौं या छिमेकीसँग हाम्रो परस्पर व्यवहार जस्तो छ, यी सबैमा इतिहासले ठूलो प्रभाव पारेको हुन्छ । त्यसैले भनिन्छ, 'विगत मरिसकेको छैन, यो त अहिले पनि जीवित छ ।'

फ्रान्सिस बेकन भन्छन्, 'इतिहासको अध्ययनले मानिसलाई विद्वान् बनाउँछ ।' ऐतिहासिक चेतना भएको व्यक्ति वा समुदाय विवेकशील हुन्छ किनभने उसले विगतको अध्ययनले आफूलाई बुझेकै हुन्छ । उसले अरूलाई त्यस्तै अध्ययनले बुझेका हुनाले उनीहरूले कसरी व्यवहार गर्नुपर्छ भन्ने राम्ररी बुझेका हुन्छन् । आधुनिक शिक्षाले नछोएको समुदायमा बुढापाकालाई ज्यादै सम्मान गरिन्छ । यसको प्रमुख कारण हो- अग्रजको अनुभव र ऐतिहासिक चेतना ।

लिबरल आर्ट्सको क्षेत्र विशाल छ । यहाँ मानविकीका विविध पाटामध्ये साहित्य र इतिहासबारे मात्रै चर्चा गर्यौँ । उसो त लिबरल आर्ट्समा प्राकृतिक विज्ञानलाई पनि समावेश गरिन्छ । विश्वविद्यालयको स्नातक तहको पढाइ यस्तो हो, जुन विद्यालयीय शिक्षा सिध्याएर आएका विद्यार्थीलाई कामको संसार प्रवेश गर्नुअघि वा रुचाएको विषयमा स्नातकोत्तर गर्नुपूर्व दिइने चार वर्षे शिक्षा हो । यही स्तरमा विद्यार्थीले रुचिको विषयमा अध्ययन सुरु गर्नुका साथै मानव इतिहास, सभ्यता, संस्कृति, साहित्य, इतिहास आदिबारे जानकारी लिने समय हो । शिकागो विश्वविद्यालयका पुरातनपन्थी प्राध्यापक एलेन ब्लुमले आफ्नो पुस्तकमा लेखेका छन्- 'स्नातक तहको चार वर्ष अमेरिकी विद्यार्थीलाई सभ्यता सिकाउने अन्तिम अवसर हो ।' यो अभिव्यक्ति हाम्रो परिप्रेक्ष्यमा अतिरन्जित सुनिन सक्छ तर धेरै होइन । 

संवाद : गुरुङ सुशान्त

पढ्नुहोस् अघिल्ला कक्षाका पाठ :

कठै, हाम्रो बिब्ल्याँटो सोच !

दुई खाले शिक्षाले खनेका बडेबडे खाडल

मिलनसार समाजको खोजी

रोबोटजस्ता केटाकेटी

विश्वविद्यालय स्वशासित प्राज्ञहरूको समुदाय

प्रकाशित: फाल्गुन २८, २०७५