लुम्बिनीमा नयाँ भिक्षु

- मनोज पौडेल

साँझपख ध्यानमग्न छन्, सयौँ भिक्षु । आधा घन्टासम्म सियो खसेको पनि सुनिँदैन । सबैका छेउमा मैनबत्ति क्यान्डिल झलमल्ल छन् । सबैको अनुहारमा बुद्धमय ऊर्जा छ । करुणा, मैत्री र सद्भावसहितको उज्यालो । जोकोही नवआगन्तुक बुद्ध अनुयायी बन्ने भाव आउने परिवेश ।

माहोल हो, २३ फागुन ०७५ को । ४ सय ९० श्रामनेरले सामूहिक रुपमा प्रवज्या लिने महफ्वपूर्ण कार्यक्रम । श्रामनेर भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो । बिहान उनीहरुलाई चिवर (भिक्षुले लगाउने पहेँलो कपडा), शील र बुद्ध शिक्षा थाइल्यान्डका ठूला भिक्षु फ्रा महावाधीवंशाचानले प्रदान गरे भने अर्का थाई भिक्षु लम्पीमेन थावतले ध्यानविधि सिकाए । चिबर, शील लिएसँगै उनीहरुको भिक्षु जीवन सुरु भयो ।

साँझ ६ बज्न थाल्दा बुद्धलाई स्मरण गर्दै उनीहरुले 'आजबाट तपाईंका अनुयायी भयौँ' भन्दै सबैले हातहातमा बत्ती बाले । बत्ती छेउमा राखेर प्रार्थना गरे । साँझ छिप्पिँदै जाँदा बत्तीको प्रकाशले पवित्र उद्यानको वातावरण निकै मनमोहक बन्यो । श्रामनेरले मायादेवी मन्दिर र पुष्करणी पोखरी हातमा बत्ती लिएर तीन पटक परिक्रमा गरे । कार्यक्रमका लागि २ दिनअगावै मन्दिर परिसर सिंगारिएर चिरिच्याट्ट बनाइएको थियो ।

धार्मिक महत्त्वका रंगीचंगी ध्वजापताका, हरियाली वातावरण अनि दीपावलीका बीच लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी धपक्क बलेको थियो । पोखरीको डिलमा बत्ती बाल्दै शान्तिप्रति समर्पित हुँदै बुद्धम् शरणम् गच्छामिको नारा गुञ्जायमान थियो । ध्यानमग्न भिक्षु/भिक्षुणी र उपासक/उपासिकाले माहोललाई थप रोमाञ्चित बनाएका थिए ।

थाई भिक्षु थाह वरोका अनुसार नवप्रवेशी भिक्षुलाई बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महफ्व, बुद्धले पाएको कष्ट, भिक्षु जीवन, विश्व बन्धुत्व, भाइचारालगायतका विषयमा ज्ञान दिने चलन छ । शान्तिका अग्रदूत गौतम बुद्धको अनुयायी बन्न कठिन परिश्रम र संघर्षबाट मात्र हुन सकिन्छ भन्ने अनुभूति दिलाउन उनीहरुलाई पारिवारिक मायामोहबाट अलग बनाएर केही दिनदेखि दीक्षा दिइँदै आइएको थियो ।

"नेपालका प्रथम महासंघनायक भिक्षु भदन्त प्रज्ञानन्द महास्थविरको १ सय २९ औँ जन्म जयन्ती अवसर पारेर नेपाली कुलपुत्रलाई प्रवज्या गर्ने कार्यक्रम राखिएको हो," स्थानीय आयोजक प्रवीण शाक्य भन्छन्, "२३ दिने कार्यक्रम लुम्बिनीमा प्रवज्या लिएसँगै सकिएको छ ।" 

तस्बिरहरू : मनोज पौडेल

प्रकाशित: फाल्गुन २७, २०७५

ट्याग: अध्यात्म