महामेलापछिको उत्साह

- गोकर्ण गौतम

सुन्धारास्थित थिएटर मल बन्द भयो, जेठ ०७४ मा । फेरि कहाँ खोल्ने अन्योल थियो । रविभवनमा अस्थायी शिविर बनाएको लामो समयपछि बल्लतल्ल कीर्तिपुर छुगाउँमा जग्गा पाए । आउँदो वैशाखबाट थिएटर सञ्चालनको योजना दुई महिनाअगावै फत्ते भइदियो ।

थिएटर मलका कला निर्देशक केदार श्रेष्ठ किन पनि उत्साही छन् भने नयाँ नाटकघरको थालनी नै अन्तर्राष्ट्रिय नाटक महोत्सवबाट भयो । १३ फागुनदेखि आठ दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव-०७५, को चारमध्ये एक भेन्यु थिएटर मल थियो । केदार भन्छन्, "महोत्सवमा सहभागी नाटक देखाउन पाएपछि डेढ वर्ष नाटक गर्न नपाएको पीडा भुलेका छौँ । हाम्रो यस नाटकघरको प्रचार-प्रसारमा महोत्सव फलदायी बन्यो ।"

आफ्नै नाटकघर खोल्ने कान्छी रंगकर्मी हुन्, आकांक्षा कार्की । उनले टेकुमा कौशी नाटकघर खोलेको वर्ष दिन पनि बितेको छैन । सोही अन्तर्राष्ट्रिय महोत्सवको अर्को भेन्यु कौशी थियो । आकांक्षा भन्छिन्, "यति छोटै समयमा महोत्सव गर्न पाउनु ठूलो उपलब्धि हो । कौशीको ब्रान्डिङमा भूमिका खेल्यो, सँगै धेरै कुरा सिक्न पायौँ ।" महोत्सवकै लागि उनले दुई लाख खर्चेर आधुनिक लाइट जडान गरेकी थिइन् ।

थिएटर मल, कौशीका अलावा अनामनगरस्थित मण्डला थिएटर र बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा महोत्सवमा सहभागी नाटक मञ्चन भए । यी चार संस्थासँगै एक्टर्स स्टुडियो, थिएटर भिलेज र वन वल्र्ड थिएटर महोत्सवका आयोजक थिए । नेपालमा विदेशी नाटकको फेस्टिभल भएको पहिलो अवसर भने होइन । भिन्नाभिन्नै नाट्य संस्था मिलेर एउटै महोत्सव यसअघि आयोजना गरिएका थिए । "नेपाल मात्र होइन, दक्षिण एसियाकै लागि यो महोत्सव प्रेरणामूलक छ," एक्टर्स स्टुडियोका कला निर्देशक तथा महोत्सवका सल्लाहकार अनुप बराल भन्छन्, "भिन्न विचारधारा र शैली आत्मसात गर्ने नाट्य संस्था एक भएर असाध्यै कम महोत्सव हुन्छन् । नाटक समृद्ध बनाउने साझा उद्देश्यले हामीलाई एक ठाउँ ल्यायो ।"

यो महोत्सवले नाट्य संस्थाबीच टिमवर्कको पनि सन्देश दिएको छ । अन्यथा, आठ देशका २८ नाटक एकैपटक चार फरक नाटकघरमा मञ्चन गर्न कसरी सम्भव हुन्थ्यो ! अनुप थप्छन्, "कुनै देशको सभ्यता नाप्ने ब्यारोमिटर सांस्कृतिक गतिविधि हो । नाटक त्यसकै अभिन्न अंग हो । त्यस हिसाबले महोत्सव अत्यावश्यक थियो । सबै मिलेर सफल बनायौँ ।" देश-विदेशका धेरै रंग महोत्सवमा सहभागी बराल यो महोत्सवलाई 'मेगा-इभेन्ट' भन्न रुचाउँछन् ।

परिकल्पनाको कथा

राजधानीमा आधा दर्जन नाटकघरमा नियमित नाटक हुन्छन् । रंगकर्मी र दर्शक बढे पनि सोही अनुपातमा नाटकको स्तरोन्नति हुन सकेन । प्रायः एकै शैलीका नाटक हुन थाले । समाज र नाटकको दूरी बढ्दै छ भन्ने आभास हुन थाल्यो ।

वामे सर्दै गरेको नेपाली रंगमञ्चका लागि यो सुखद संकेत थिएन । त्यसैले केही रंगकर्मी घोत्लिन थाले । त्यसको नेतृत्व गर्यो, मण्डला नाटकघरले । निष्कर्ष निक्लियो, नयाँ पुस्ताका निर्देशकलाई प्रशिक्षण दिने हो भने नाटकको गुणात्मक अभिवृद्धिमा उल्लेख्य प्रगति हुनेछ ।

उद्देश्य उही थियो, स्थानीय सरोकारका मुद्दासँग रंगमञ्च र रंगकर्मीलाई नजिक बनाउने । 'डिरेक्टर वर्कसप' को प्रायोजक पनि भेटियो, गैरसरकारी संस्था जीआईजेड । मुख्य प्रशिक्षक छानिए, विमल सुवेदी । पहिलो वर्ष १४ नयाँ तन्नेरीलाई निर्देशन प्रशिक्षण दिइयो ।

दोस्रो वर्ष कथा खोज्न पोखरा र आसपास क्षेत्र पुगे उनीहरू । सबै मिलेर खबर हराएको चिठी नाटक तयार पारे । तर उनीहरूको काम देखाउन एउटै नाटक पर्याप्त थिएन । त्यसैले उनीहरूलाई 'प्लेटर्फम' प्रदान गर्ने उद्देश्यले राष्ट्रिय नाटक महोत्सवको गृहकार्य थालियो । महोत्सव संयोजक सोमनाथ खनाल भन्छन्, "गर्नै परेपछि किन राष्ट्रिय मात्र गर्ने, विदेशी नाटक पनि ल्यायौँ । थप विचारविमर्श र सम्पर्क हुन्छ भन्ने लोभ पलायो ।"

अन्ततः सात संस्थाको दस महिनादेखिको मिहिनेतले मूर्त रूप पायो ।  काठमाडौँ मात्र होइन, जनकपुर, पोखरा र विराटनगरमा पनि महोत्सवको 'स्याटेलाइट इभेन्ट' गरियो ।

महोत्सवको देन

केदार श्रेष्ठ, विमल सुवेदी, घिमिरे युवराज, अनुप बराल, आकांक्षा कार्की, राजकुमार पुडासैनी र विजय बराल (बायाँबाट क्रमशः) | तस्बिरहरु : भास्वर ओझा


महोत्सव भव्य हुनु मात्र सबथोक होइन । महोत्सवपछि नेपाली रंगमञ्चमा देखिने बदलावले त्यसको खास अर्थ राख्नेछ । महोत्सवका सल्लाहकार तथा थिएटर भिलेजका कलात्मक निर्देशक विमल भन्छन्, "सिर्जनामा तत्काल परिवर्तन देखिन्न, भोलि गर्दै जाँदा देखिने हो ।"

महोत्सवमा मञ्चित विदेशी नाटकका प्रकृति केलाउँदा यसको स्रोत भेटिन्छ । अफगानी नाटक ता रेहाले तालिवानी लडाकू र एक युवतीमार्फत युद्धमा पनि प्रेम र मानवीय संवेदना हुन्छ भन्ने झल्को दिन्थ्यो । भारतको हेट टू हेटका सबै कलाकार मोटा थिए । नाटकमार्फत सुन्दरताको मापदण्डमाथि प्रश्न गरियो ।

इन्साइड, आउटसाइडमा नेपालकै सशस्त्र द्वन्द्वमा नागरिक कसरी पिल्सिएका थिए भन्ने अनुभव गराइयो । "यस्ता भिन्न विषय, प्रस्तुति र प्रवृत्तिका नाटकले हामीलाई पनि नवीन प्रयोग गर्न ऊर्जा दिएको छ," बराल भन्छन्, "बाहिरी मुलुकका नाटकमा मान्छेको संवेदना, सूक्ष्मता, मनोदशा, आन्तरिक द्वन्द्वलाई महत्त्व दिइँदो रहेछ ।" महोत्सवमा यौनिकता, राजनीति, द्वन्द्व, बेपत्ता नागरिक, पहिचान अनेक विषयका नाटक सहभागी थिए ।

हामीकहाँ एउटा विडम्बना छ, मनोरञ्जनात्मक हास्यप्रधान नाटकको बाहुल्य । कलात्मक प्रस्तुतिको चर्को अभाव हुने यस्तै नाटकमा दर्शकको भीड हुन्छ । जानीनजानी रंगकर्मी यतातिर लहसिएका छन् । गम्भीर प्रकृतिका एकाध त हुन्छन्, तर दर्शक अभाव झेल्नुपर्छ । सोही कारण नेपाली नाटकले लय समात्न सकेको छैन । बराल भन्छन्, "अब रंगकर्मीले पनि बजारको लालसाभन्दा माथि उठेर नाटक बनाउने आँट गर्नेछन् ।"

नाटक कथा भन्ने माध्यम मात्र होइन, कला-संस्कृति जोगाउने र प्रचार गर्ने अस्त्र पनि हो । रंगकर्मी विमल सुवेदीका अनुसार पहिले व्यापारका माध्यमबाट संस्कृति प्रचार हुन्थ्यो । अहिले संस्कृतिमार्फत व्यापार विस्तार हुन्छ । विमल भन्छन्, "सांस्कृतिक प्रवर्द्धन र त्यसकै माध्यमबाट व्यापार विस्तारमा नाटक प्रभावी हुन थालेका छन् ।"

बाहिरी मुलुकमा रंगमञ्चको विकास र विस्तारका लागि सरकारी तबरबाटै यस्तो महोत्सव आयोजना गरिन्छ । तर हामीकहाँ न राष्ट्रिय नाचघरको भूमिका सराहनीय छ, न त संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकै । "नेपालमा रंगमञ्चको प्रगतिको पहिलो जस निजी स्तरलाई जान्छ । सरकारको योगदान शून्य समान छ," विमल भन्छन्, "यो महोत्सवले सरकारी सरोकारवाला निकायको अस्तित्वमाथि प्रश्न उठाएको छ ।"

निरन्तरतामा प्रश्न

नेपाली रंगमञ्चको विकासमा यो महोत्सव कोशेढुंगा सावित भएकामा सन्देह रहेन । रंगकर्मी र नाटकप्रेमी प्रफुल्लित छन् । तर यही महोत्सव अहिलेसम्म घाटामा छ । डेढ करोड रुपैयाँ खर्च भयो । एक करोड जीआईजेडले अनुदान दियो । अरू पाँच लाख विभिन्न संस्थाले प्रायोजन र सहयोग गरे । ४५ लाख कसरी पुर्ताल गर्ने आयोजक संस्था सुर्तामा छन् ।

महोत्सव उद्घाटनमा प्रधानमन्त्री केपी ओली आफैँ उपस्थित भएर सरकार कलाकारको भएको भाषण दिए । सक्दो सहयोगको वचन पनि दिए । अहिलेसम्म हात लागेको छैन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले रकम उपलब्ध गराउने वाचा गरेका थिए, तर महोत्सव नसकिँदै हवाई दुर्घटनामा परेर उनको ज्यान गयो । त्यसैले महोत्सव सफल भए पनि आयोजक बेचैन छन् ।

आगामी दिनमा यो महोत्सवले निरन्तरता पाउला त ? महोत्सव निर्देशक तथा मण्डलाका कलात्मक निर्देशक राजन खतिवडा भन्छन्, "हामी प्रत्येक दुई वर्षमा महोत्सव गर्न प्रतिबद्ध छौँ । चिन्ता बजेटकै हो ।"


नाट्यमय मिथिला

–श्यामसुन्दर शशि/जनकपुरधाम

जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक उत्सव-०७५ मा विषयविज्ञको सहभागितामा मैथिली भाषा, साहित्य, कला-संस्कृति, पत्रकारितालगायतका विषयमा बहस, छलफल चले । देश-विदेशका नाटक प्रदर्शन भए ।

स्थानीय रंगारंग सांस्कृतिक कार्यक्रममा रमाए । एउटै थलोमा मिथिला चित्रकला, सिकीको डालो, मौनी, कनसुपती, मिथिला पोसाक, मिथिला भोजनको आनन्द पनि लिए । १८ देखि २३ फागुनसम्म मैथिली विकास कोषको अगुवाइमा ६ दिवसीय चलेको महोत्सवको मुख्य आकर्षण भने नाटक रह्यो । महोत्सवमा मैथिली, नेपाली, हिन्दी तथा फारसी भाषाका सात नाटक मञ्चन भए ।

हीरा बिजुली निर्देशित गर्भछिटा, अफगानिस्तानका शैयद इद्रीश फकिरीको ता रेहा तथा आसामका एकेएम युसुफ हशन निर्देशित हेलेन नाटक प्रदर्शन गरियो । सुनिम मिश्र निर्देशित मैथिली भाषाको पुस जाड कि माघ जाड, ओमप्रकाश कर्ण निर्देशित जानकी, प्रियंका झा र सविन कट्टेल निर्देशित किशोरी तथा पटनाको भंगिमा नाट्य समूहको काठक लोक नाटक प्रदर्शन गरिए ।

प्रकाशित: फाल्गुन २६, २०७५

ट्याग: रंगमञ्च